नेपालले बिम्स्टेक शिखर सम्मेलनबाट धेरै कुराको पाठ सिक्नुपर्ने आवश्यकता देखिएको छ । मुलुकले यो शिखर सम्मेलनमार्फत सबैभन्दा छिटो र प्रभावकारी रूपमा लाभ लिन सक्ने क्षेत्र भनेको पर्यटन हो । पर्यटनको आगमनले नै देशको प्रगतिमा टेवा पुर्याउँछ ।
बिम्स्टेक शिखर सम्मेलन काठमाडौंमा सुरु भएको छ । संसारको ध्यान यतिवेला नेपालतिर केन्द्रित छ । नेपालमा भइरहेको बिम्स्टेक शिखर सम्मेलनको आफ्नै किसिमको महत्व र गौरव छ । यो बिम्स्टेको चौथो शिखर सम्मेलन हो । नेपालमा भने यो सम्मेलन पहिलोपटक हुँदै छ । वास्तवमा बिम्स्टेक भनेको के हो ? यो बुझ्न सबैले जरुरी छ ।
बिम्स्टेक युरोपेली संघ, सार्क वा आसियनजस्तै एकै क्षेत्रका देशको एउटा क्षेत्रीय संगठन हो । बिम्स्टेकमा भुटान, भारत, म्यानमार, बंगलादेश, श्रीलंका, थाइल्यान्ड र नेपाल आबद्ध रहेका छन् । यो शिखर सम्मेलनमा भाग लिन सम्बन्धित देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख काठमाडाैं आएका छन् । बिम्स्टेक शिखर सम्मेलनबाट सम्बन्धित मुलुकका जनताले धेरै अपेक्षा गरेका छन् ।
यो शिखर सम्मेलनले के उपलब्धि प्राप्त गर्छ भन्ने कुरामा पनि धेरैको चासो छ । अवसर पनि छन् र चुनौती पनि उत्तिकै छन् । बिम्स्टेक सात देशको साझा संस्था हो । अहिलेसम्म यो संस्था आफैँमा बलियो हुन सकिरहेको छैन । अहिले बिम्स्टेक परीक्षणकालमा छ । बिम्स्टेक पनि खासमा नाममा मात्र सीमित छ । जुन उद्देश्यले संस्था स्थापना गरिन्छ, त्यसअनुसार काम नभएपछि त्यसको खास अर्थ नहुँदो रहेछ ।
बिम्स्टेकले १४ वटा क्षेत्रमा सदस्य मुलुकबीच सहयोग आदनप्रदान गर्नेगरी प्राथमिकता निर्धारण गरेको छ । व्यापार तथा लगानी, प्रविधि, ऊर्जा यातायात तथा सञ्चार, पर्यटन, मत्स्यपालन, कृषि सांस्कृतिक सहयोग, वातावरण तथा विपत् व्यवस्थापन, जनस्वास्थ्य जनस्तरको सम्बन्ध, गरिबी निवारण, आतंकवाद तथा संक्रमणकालीन अपराध र जलवायु परिवर्तन आदि यसका प्रमुख एजेन्डा रहेका हुन् ।
आबद्ध मुलुकबीच माथि उल्लिखित क्षेत्रको सहकार्य आजसम्म फितलो अवस्थामा छ । सदस्य मुलुकबीच समस्या समाधान गर्ने कामभन्दा समस्या बल्झाउने काम भएको देखिन्छ । २१ वर्षमा यसअघि तीनवटा मात्र शिखर सम्मेलन भएका छन् । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकको सचिवालय सन् २०१४ मा आएर बंगलादेशको ढाकामा स्थापना गरियो ।
तर, सचिवालयले हालसम्म पनि त्यति गतिका साथ काम गर्न सकिरहेको छैन । सचिवालयमा न पर्याप्त कर्मचारी छन् न पर्याप्त बजेट नै छ । यति ठूलो संगठनको यो नाजुक अवस्थाले आशा गर्ने ठाउँ के नै हुन्छ र ? थाइल्यान्ड र म्यानमारजस्ता आसियान मुलुक पनि बिम्स्टेकका सदस्य छन् । नेपालले अहिले सार्क र बिम्स्टेक दुवैको अध्यक्षता गर्ने मौका पाएको छ ।
संविधानसभाबाट नयाँ संविधान बनाएको र लामो संक्रमणबाट पार पाएको, नेपालले विश्व समुदायमा आफ्नो पहिचान र गौरव देखाउनुपर्ने यो एउटा राम्रो अवसर हो । यो अवसरलाई सही सदुपयोग गर्ने काममा नेपाल सरकार दत्तचित्त भई लाग्नुपर्छ । बिम्स्टेक शिखर सम्मेलनबाट नेपाल सरकारले धेरै कुराको लाभ लिने काम गर्नुपर्छ ।
बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्रपति र प्रधानमन्त्रीहरूको नेपाल आगमन आफैँमा महत्वपूर्ण छ । बिम्स्टेक शिखर सम्मेलन नेपालमा हुनुले आफूलाई विश्वभरि चिनाउने मौका पाएको छ । बिम्स्टेक शिखर सम्मेलनको आयोजक राष्ट्र नेपाल भएको हुनाले यसलाई अवसरका रूपमा लिनुपर्छ ।
नेपालको विशेषता र प्राकृतिक सुन्दरता विश्वसामु चिनाउने यो महत्वपूर्ण अवसर पनि हो । यो शिखर सम्मेलनमा आ–आफ्ना स्वार्थ लुकेका होलान् तर सामूहिक स्वार्थमा काम भएको छ कि छैन भन्ने विषय महत्वपूर्ण हो । बिम्स्टेकको लक्ष्य के हो ? लक्ष्यअनुसार संगठनले काम गर्न सकेको छ कि छैन ? यो बारेमा गम्भीर बहस हुनु जरुरी छ ।
भारत र थाइल्यान्डजस्ता देशले यो शिखर सम्मेलनबाट के रणनीति बनाउन खोजिरहेका छन् । यो बारेमा सचेत हुन जरुरी देखिन्छ । सबैका आ–आफ्ना स्वार्थ पनि हुन सक्छन् । बिम्स्टेकलाई प्रभावकारी बनाउन सके आर्थिक रूपमा सफलता मिल्नसक्ने अवस्था रहनसक्छ । भारत र थाइल्यान्डजस्ता आर्थिक रूपमा बलिया देशहरूबाट अन्य सदस्य राष्ट्रहरूले लाभ लिन सक्ने वातावरण बन्नुपर्छ ।
भारत र थाइल्यान्डजस्ता बलिया देशहरूको भूमिका र सोच सकारात्मक हुने हो भने बिम्स्टेकको महत्व बढेर जानेछ । भारत र थाइल्यान्डजस्ता बलिया देशहरूले बिम्स्टेकलाई आफ्नो देशको स्वार्थमा सीमित राखे भने यो शिखर सम्मेलनको कुनै अर्थ हुने छैन । बिम्स्टेकलाई रणनीतिक स्वार्थमा मात्र सीमित राख्नु हुँदैन ।
सबैको हित हुने खालको नीति तय गर्नुपर्छ । शान्ति सुरक्षाका विषयमा पनि बिम्स्टेक शिखर सम्मेलनले सार्थकता पाउनुपर्छ । भारत र पाकिस्तानबीचको द्वन्द्वले सार्क शिखर सम्मेलन अन्योलमा छ । पाकिस्तानमा हुनुपर्ने सम्मेलन कहिले हुने अझै टुंगो लाग्न सकेको छैन । भारत र पाकिस्तानबीचको द्वन्द्वले यो समस्या निम्त्याएको छ ।
नेपालमा बिम्स्टेक शिखर सम्मेलन भइरहँदा सार्कको औचित्यमाथि प्रश्न उठ्ने खतरा पनि छ । यसले नेपाललाई मात्र होइन, दक्षिण एसियाका लागि दःुखद् बनाउनेछ । दक्षिण एसियाका सदस्य राष्ट्रहरूबीच एक आपसमा सहयोग आदनप्रदानका लागि संगठित भई अघिबढ्ने हो भने मात्र यो क्षेत्रले विकास समृद्धिको गति लिन सक्छ ।
भारत र पाकिस्तानबीच जुन किसिमको द्वन्द्व छ, त्यसले फाइदा गर्दैन । आर्थिक विकासका लागि एक आपसमा मिलेर जानु नै सबैको हितमा हुनेछ । भारत र पाकिस्तान मिल्न सके राम्रो हुन्छ । भारतसँग दक्ष जनशक्ति, जनसंख्या र उत्पादन क्षमता छ भने पाकिस्तानसँग प्राकृतिक स्रोतहरू छन् । दुवै देश मिलेमा यो क्षेत्रकै भलो हुनेछ ।
भारत र पाकिस्तानबीचको द्वन्द्वले कतै न कतैबाट नेपाललाई पनि घाटा भएको छ । राजनीति सुधारिँदै गयो भने व्यापार व्यवसाय सुध्रिँदै जान्छ । राजनीति नै सुधारिन सकेन भने सबै क्षेत्र तहसनहस हुन्छ । अहिले नेपालमा पनि त्यही भइरहेको छ । सरकारले विकास समृद्धिको नारा दिइरहेको छ तर नेपालको अर्थतन्त्र भने तहसनहस छ । अर्थतन्त्र बलियो नहुँदासम्म विकास तथा समृद्धि भनेको पानीको फोका सरह हुनेछ ।
नेपालले बिम्स्टेक शिखर सम्मेलनबाट धेरै कुराको पाठ सिक्नुपर्ने आवश्यकता देखिएको छ । बिम्स्टेक मुलुकले यो शिखर सम्मेलनमार्फत सबैभन्दा छिटो र प्रभावकारी रूपमा लाभ लिन सक्ने क्षेत्र भनेको पर्यटन हो । पर्यटनको आगमनले नै देशको प्रगतिमा टेवा पुर्याउँछ । अधिकांश बिम्स्टेक मुलुकबीच धर्म तथा संस्कृति मिल्दोजुल्दो नै देखिन्छ ।
अधिकांश बिम्स्टेक मुलुकमा बुद्ध धर्मावलम्बीको बाहुल्य छ । बुद्धको जन्मभूमि नेपालले ती मुलुकबाट धेरै मात्रमा पर्यटक भित्र्याउन सक्छ । नेपाल सरकारले यो बारे गम्भीरताका साथ चिन्तन मनन् गर्नुपर्ने जरुरी देखिन्छ । पर्यटन विकास नै देश विकासको मेरुदण्ड हो । पर्यटन भित्र्याउने सवालमा सरकारले राम्रो योजना तर्जुमा गर्नुपर्ने देखिन्छ ।
बिम्स्टेक मुलुकले दिगो र उच्च गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसमा सडक, रेलमार्ग, विमानस्थल, समुद्री जलमार्ग र स्थलगत कुराहरू पर्छन् । यस्ता पूर्वाधारको विकासले यी मुलुकबीच आवतजावत सहज हुनेछ । यसले पर्यटन आवागमनमा सहज बनाउनेछ । यो शिखर सम्मेलनबाट महत्वपूर्ण विषयमा सम्झौता हुँदै छ ।
स्वतन्त्र व्यापार तथा लगानीलाई बिम्स्टेक शिखर सम्मेलनले सबैभन्दा बढी प्राथमिकता दिएको छ । बिम्स्टेक शिखर सम्मेलन वास्तवमा सार्थक निष्कर्ष निकाल्न सफल बनोस् । शिखर सम्मेलन सम्मेलनमा मात्र सीमित नबनोस् । शिखर सम्मेलनबाट पारित दस्तावेजको आगामी दिनमा कार्यान्वयन हँुदै बिम्स्टेक संगठन अघि बढोस् ।
प्रतिक्रिया