भरतमोहनको तेस्रो भैरव नाच

तपाईंले साउँ र व्याज मात्रै होइन व्याजको स्याज र स्याजको स्याज पनि उठाइसक्नु भएको छ । राज्यलक्ष्मी गोल्छा प्रकरणमा त तपाईं पनि मुछिनु भयो नि केही भन्नु छ ? तपाईंले आफ्ना आफन्त जति सबैलाई तीन पुस्तासम्मलाई जायजेथाकोे बन्दोवस्त गरिदिएको विराटनगरमा आमरूपमा चर्चा छ । जिन्दगीभरि सत्ता र सरकारमा रहेर तीन पुस्तासम्मलाई बन्दोवस्त गर्ने अहिले कुनै नेता वा मन्त्री छन् ?

पूर्वएमाले पार्टी तथा वर्तमान कम्युनिस्ट पार्टीका ज्येष्ठ र अनुभवी मानिएका भरतमोहन अधिकारीले ओली सरकारका बारेमा तेस्रो भैरव नृत्य प्रदर्शन गरेका छन् । ११ भाद्रको एक दैनिक अखबारमा ‘करको कहर : समृद्धिको दिशाहीन यात्रा’ शीर्षक दिएर लेखिएको लेखले मलाई नलेखी बस्न मन लागेन ।

आफूचाहिँ निकै ठूलो नैतिकवान् जस्तो ठानेर यो सरकारलाई अनेक अर्ती सुझाएको आलेख पढियो । तर, अधिकारीज्यू, भूकम्प पीडितको अझै समस्या समाधान नभएको भनेर ओली सरकारलाई तीर हान्न खोज्दा भने अधिकारी शेरबहादुर नेतृत्वको सरकार भएको भ्रममा परेजस्तो लाग्यो ।

उनले मितव्ययीतामा जोड दिइएन भनेर शेरबहादुर प्रधानमन्त्री हुँदा र ओली सरकार हुँदाका खर्च तुलना नहेरी मनगढन्ते लेख लेखेको देखियो । अधिकारीले यसरी बारम्बार सरकारका सत्य यथार्थ ढाकछोप गरेर लेख्नुका पछाडिको रहस्य खोतल्नुपर्ने देखियो । उनी प्रायोजित लेख लेख्तै छन् । प्रधानमन्त्री ओली र प्रदेश सरकारका आधिकारिक व्यक्ति नै करका विषयमा अनावश्यक भ्रम प्रचार गरिएको बताई रहेका छन् ।

अधिकारी तिनै विपक्षीका अनेक अडचनको आगोमा हर्पेका हर्पे घिउ थपिरहेका छन् । विराटनगरे राधेश्याम दली नामका पुराना पूर्व माक्र्सवादी नेताको दलन गरेर र धरानका पूर्व माक्र्सवादी नेता रामप्रसाद खनाललाई खसालेर आफैँ मात्र तमाम अवसर छोप्ने अधिकारीको यो अपाच्य लेख देखेर र पढेर सुनसरी जिल्लाको यो लेखक तीन छक परेको छ ।

अधिकारीले खसीबाख्रा र साइकलमा कर लगाएको कुरा ‘कान नछामी कागका पछि दौडिएको देख्दा’ उनको अर्थशास्त्रीय छवि छाम्न मन लाग्यो । धरानको सडकपेटीमा दोकान गर्ने मोचीसित दैनिक २० रुपैयाँ उठाउने गरेकामा अहिले धरान उपमहानगरपालिकाले यसवर्ष वर्षको एक हजार मात्र उठाउने निर्णय गरेको स्पष्टोक्ति कार्यवाहक मन्त्रीले एक मिडियामा बताउँदै थिइन् ।

अधिकारीलाई थाहा हुनुपर्ने हो, अहिले कृषि पनि व्यावसायिक हुन थालेको छ । बाख्रा पालन र गाईपालन पनि व्यावसायिक हुन थालेको छ । साइकल व्यवसायीसित लिएको स्थानीय सरकारको करलाई किसानले घरमा राखेको एक साइकलको पनि कर तिर्नुपर्छ भन्ने खालको हावादारी लेख होस्मा त लेख्नुभएको हो, भरतमोहनज्यू । हुँदाहुँदा भरतमोहनज्यूले ओली सरकारलाई तलबभत्ता कटौती गर्ने सल्लाह पनि दिन भ्याएछन् ।

अचम्म अधिकारीज्यू, ओली तपार्इंजस्ता विराटनगरे हुनेखाने सम्भ्रान्त परिवारमा जन्मिएका भए उनले भत्ता कटौती होइन भात खाने खेत नै जनतालाई दिने थिए । मलेसियाका महाथवीर आज जन्मिएका र उनले अहिले त्याग गरेको अधिकारीलाई थाहा भएछ । हुने खानेले त गर्ने नै हो तपाईंले कति दानपुण्य गर्नु भयो अधिकारीज्यू । राज्यलक्ष्मी गोल्छा प्रकरणमा त तपाईं पनि मुछिनु भयो नि, केही भन्नु छ ।

तपार्इंले आफ्ना आफन्त जति सबैलाई तीन पुस्तासम्म जेथा बन्दोवस्ती गरिदिएको विराटनगरमा आमरूपमा चर्चा छ, तपार्इंलाई यसबारे केही भन्नु छ ? इटहरीमा एउटा अत्यन्त सुविधा सम्पन्न घाट बनेको छ । तपाईं अर्थमन्त्री भएका वेला केही करोड दिने आश्वासन दिनु भएको थियो । त्यो कार्य किन पूरा भएन तपार्इंलाई थाहा होला ।

घाटका सन्दर्भमा सरकारले दिने रकममध्ये एकाध करोड मन्त्रालयमा फिर्ता गर्नुपर्ने सर्त तपाईंको मन्त्रालयले अनौपचारिक रूपमा राखेपछि घाट व्यवस्थापन समिति हच्कियो र सहयोग नै लिएन । यथार्थ साक्षी बकाउनपर्छ, अधिकारीज्यू, ? सरकाले केही गरेन भन्न कम्तीमा तपाईंले कसरी भन्न सक्नु भएको हो ।

चीन र भारतका बीचको सम्बन्ध सुधार्ने कामै होइन । सयौँ नियम कानुन बनाउनेजस्तो गरेको कामै होइन । प्रदेश सरकार र स्थानीयतहमा कर्मचारीको अभाव के कारणले हुन गएको हो किन अलमल हुन गएको हो भन्ने पनि बझ्न भ्याइएन अधिकारीज्यू । पकाएको भात खाएजस्तो सजिलो हुन्छ र काम ।

अनि देशको ढुकुटी रित्तो भएको पानीले पखालेको अवस्था प्रधामन्त्री ओली सरकारमा पुगेपछि थाहा भयो अनि के घर बन्धकी राखेर भए पनि ह्वारह्वार्ती अहिलेको अहिले र आजै सुखसुविधा वितरण गर्न एउटा जिम्मेवार सरकारलाई सुहाउँछ, अधिकारीज्यू ? कि, पहिलो आर्थिक अवस्था बलियो बनाउने हो । ओली सरकार मितव्ययी भएन भन्नुभयो तुलना गरेर हेर्नु भएको छ ?

शेरबहादुर सरकारले गरेजस्तै सरकारी धन फुक्का फाल गरेको देख्नु भएको छ ? मलेसियाका नेता, प्रधानमन्त्रीको व्यक्तिगत आम्दानी चित्त नबुझ्दो थियो होला । तपाईंहरूजस्ता पुस्तौनी धनाढ्य र जिन्दगीभरि सत्ता र सरकारमा रहेर तीन पुस्ता बन्दोवस्त गर्ने अहिले कुनै नेता र मन्त्री छन् ? सस्तो प्रचारवाजी धेरै दिन टिक्तैन ।

‘आफू नमरी स्वर्ग देखिन्न ।’ सरकारको शत्रुवत् आलोचना गर्न तपाईं जत्तिको एमाले भएर आजीवन सखसुविधामा डुबेर अहिले भावी सन्ततिलाई नै निराश र हतास पार्ने काम बन्द गर्नु होला । यति साह्रो बैगुनी नबन्नु होला कमरेड ! राम्रा काम पनि देख्ने गरौँ देखिँदैन भने चश्माको पावर फेरौँ ।

नेपाललाई रणमैदान बनाएर तिब्बत र चीनतिर कर्के नजर लागाउनेहरू अहिलेको सरकारदेखि तर्सेका छन् ।  राम्रो गर्दै छ । बाधा व्यवधान अनेक छन् । तपाईंजस्ता अुनभवी भनेका नेताको यो हालत छ, भने अरू नेताहरू के कस्ता हालतका होलान् ।  दुनियाँ नहसाउनुहोस् सक्नुहुन्छ, फिल्डमा निस्कनुहोस् ।

हौसला बन्द गर्नुहोस् सक्नु हुन्छ ? गनगने र गनथने बेतुकी तथा मनगढन्ते लेख लेखेर दुनियाँ नहसाउनुहोस् । असार २७ गते एक दैनिक अखबारमा कार्यभारको बोझ नामको लेखमा पार्टीमा गुटगत राजनीति हावी भएको प्राप्त सुविधाहरू गुटगत आधारमा वितरण गरेको, सामूहिक निर्णय र नेतृत्वको कमी रहेको आदि भनेर आफैँ गुटगत निम्नस्तरमा ओर्लिएर लेख लेख्नुभयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्री वापतको तलब र पारिश्रमिक लिँदैनन् र उनी आफ्नै पेन्सनमा जिवीका चलाउँछन् भन्ने बुझेर पनि उनलाई कटाक्ष गर्नुभयो । यस लेखमा शक्तिशाली सरकारले देशलाई सफल ड्राइब गर्ने बजेट ल्याउन नसकेको, बजेट राजनीतिक दस्तावेज हुनुपर्नेमा त्यसो नभएको, यथास्थितिवादी बजेट, टेक्नोक्र्याटले बनाएको जस्तो, भावी राजनीतिक दिशाहीन बजेट, आदि अनेक फतुर आरोप तपाईंले लगाउनुभयो ।

यी लेख पढ्दा अधिकारीको समृद्ध अनुभव आधारितभन्दा सामान्य र सरदर आर्थिक पाठकको जस्तो देखियो । यत्तिको अनुभवी नेताले जे मनलाग्दी लेख्न र बोल्न मिल्दैन । भारतमोहनज्यू, तपाईंलाई वर्तमान अवस्थाका एक बौद्धिक अर्थमन्त्रीदेखि बढ्तै रिस उठेको लेख पढ्दा थाहा भयो । यो तपाईंहरू केही कथित नेताको मनोरोग हो ?

यस्ता नेताहरू र बुद्धिजीवीका बीच तेलपानीको सम्बन्ध रहेको विरक्त स्थिति वरिष्ठ वकिल विश्वकान्त मैनालीले उहिल्यै बताउनु भएको थियो  यत्रो पार्टीमा आएका स–साना समस्यालाई उरालधुराल गरेर आकाशै खस्यो भनेर रोइलो लेख लेख्नुको खासै काम छैन । भरतमोहनज्यू, यसरी बल्लबल्ल उठी जुटेको कम्युनिस्ट आन्दोलनलाई वेलावेला कोखाबाट छिर्के लगाएर हान्ने बानी त्याग्नुहोस् ।

तपार्इंले यसरी मार्जिन नराखी बोल्दा तपाईंप्रति जानेर र नजानेर सकारात्मक प्रभावमा परेका कमरेडहरू अरू भ्रमित हुन्छन् । उमेरको यो आखिरी अवस्थामा यस्तो पटक्कै नगर्नुहोस् । तपाईंहरूले आन्दोलनमा जे जति गरे पनि नगरे पनि तपाईंहरूले साउँ र व्याज मात्रै होइन व्याजको स्याज र स्याजको स्याज पनि उठाइसक्नु भएको छ ।

हिजोका तुलनामा आजको पार्टी र परिणाम हेर्दा तपाईं आफैँ पनि छक्क पर्दै जानु भएको होला तर गुटगत संकीर्णता, आग्रह र आदतका कारण तपाईंलाई ओली नेतृत्वको पार्टीका र सरकारका धेरै सकारलाई लेखेर र बोलेर सकार्न अप्ठ्यारो परेको यो लेखक बुझ्छ तर यो आशा, विश्वास र भरोसामा पानी खन्याएर भावी पुस्तालाई निराश नपार्नुहोस् ।इटहरी निवासी लेखक अधिकारीका बारेमा नजिकबाट जानकारी राख्छन् ।

प्रतिक्रिया