कञ्चनपुर घटनाले उब्जाएको प्रश्न

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर कञ्चनपुरमा दैनिकजसो आन्दोलन चर्कियो । हत्यारा पत्ता लगाउन दबाब स्वरूप भएको आन्दोनलकै क्रममा एक जनाले ज्यान गुमाए दर्जनौँले गोली खाए । प्रहरीको गोलीले घाइते भएका कैयौँको अहिले पनि उपचार जारी छ ।

घटना १० साउनको हो । सोही दिन दिउँसोबाट हराएकी निर्मला ११ गते मृत अवस्थामा भेटिइन् । उनी हराएदेखि नै परिवारले खोजीका लागि प्रहरीमा आग्रह गरे तर, प्रहरीलेले त्यति ध्यान दिएन । उल्टै वास्तविक अपराधीलाई बचाउन मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई अपराधी घोषित गर्न लागेको पीडित परिवार र स्थानीयको आरोप छ ।

प्रहरी राज्यको महत्वपूर्ण सुरक्षा निकाय हो । उसको दायित्व नागरिकको सुरक्षा गर्नु हो । तर, निर्मला हत्या प्रकरणमा पीडितका आफन्त र स्थानीयले लगाएको आरोपअनुसार प्रहरीको भूमिका र कामप्रति आममान्छेमा शंका उत्पन्न गराएको छ । बलात्कार र हत्या सामान्य अपराध होइन । कानुनका दृष्टि र मानवीय दुवै दृष्टिले त्यो जघन्य अपराध हो । यस्तो गम्भीर अपराधमा प्रहरीमाथि चुनौती पुग्ने गरी आरोप लाग्दा किन सम्बन्धित निकाय लामोसमय मौन बस्यो ?

हत्याका वास्तविक दोषी पत्ता लगाऊ भन्दै स्थानीय र प्रहरीबीच बुधबार पटकपटक भएको झडपमा दुवैतर्फ घाइते भए । बिहीबार शुक्रबार पनि त्यो क्रम अझ बढ्दै जिल्लाका अन्य स्थानसम्म पुग्यो । प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलीपसिंह विष्टलाई अपराधी घोषित गर्न परिवारलाई किटानी जाहेरी दिन दबाब दिएको विषय बाहिर आयो । दिलीपलाई अपराधी घोषित गर्न प्रहरी आतुर हुनका कारण के हो ? प्रहरी उक्त घटनाबाट शान्त हुन चाहान्छ वा दिलीपलाई बलात्कारी र हत्यारा सावित गराएर अपराधीको संरक्षण गर्न चाहान्छ ?

निर्मला हत्याको घटनामा प्रहरीले जिम्मेवारीपूर्वक अनुसन्धान गर्नुपर्ने थियो त्यो देखिएन । पीडित परिवारले माग गरेका कारण होइन, घटना सुरु भएको स्थलबाट अनुसन्धान गर्नु उसको दायित्व हो ।

प्रहरीको घटनामा के स्वार्थ छ र पीडित परिवारको भावना विपरीत जान खोज्नुको कारण के हो ? प्रहरी महेन्द्रनगर बजार र वरपर प्रदर्शनकारीलाई अश्रुग्यास र लाठी प्रहारमा व्यस्त भयो । यसले वास्तविक अपराधी उम्काउने सम्भावना रहन सक्छ । पीडितको आरोप र असन्तुष्टि सिद्ध भएर वास्तविक अपराधी अरू नै भए ऊ पक्राउ पर्दा प्रहरीलाई पर्ने क्षतिचाहिँ के हुन सक्छ ?

प्रहरीलाई कुनै पनि अपराधमा संलग्नलाई पक्राउ गर भनेर पक्राउ गर्ने होइन । ऊ आपैmँ अनुसन्धानमा लाग्नुपर्ने हो । तर, कञ्चनपुरको घटनामा त्यो देखिएन । घटना भएको झन्डै महिना दिन बित्दा निर्मला पढाइको सिलसिलामा भेट्न गएकी बबिता बम र आँचल भनिने रोशनी बमलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयले पटकपटक बम दिदीबहिनीलाई पक्राउ गर्न आग्रह गर्दा प्रहरीले वास्ता गरेको थिएन । कुनै पनि घटनामा मान्छे शंकाको घेरमा परेपछि उसलाई अनुसन्धानको घेरामा राखेर सोधपुछ गर्नु प्रहरीको दायित्व हो । तर, प्रहरीले त्यहाँसम्म पुग्ने आँट गरेन वा आवश्यकता ठानेन । बम बहिनी पक्राउ पर्दा वास्तविक घटना बाहिर आउने र अरू पनि दोषी देखिएलान् भन्ने कुरामा प्रहरी होसियारी भएको त होइन ?

पहिलो कुरो निर्मलाको हत्यारा जो कोही भए पनि उसलाई कानुनी कारबाही हुनुपर्छ । अपराधमा राजनीति, पेसा, व्यवसाय, वा नाताले प्रभाव पार्नु हुँदैन । दोस्रो कुरो प्रहरीको पहिलो दायित्व नागरिकको ज्यानधनको सुरक्षा गर्ने हो त्यसमा चुक्नु हुँदैन । उसका भूमिका र कमगर्ने शैलीले जनतामा आक्रोश बढ्यो भने त्यसले उसको छबी धमिलिन सक्छ ।

यसमा पनि प्रहरीको सचेत हुन आवश्यक छ । प्रहरीमाथि नै यति ठूलो आरोप लागेपछि त्यससँग सम्बन्धित निकाय वेलैमा जवाफदेही बन्नुपर्ने थियो । कुनै पनि घटनामा नागरिकले प्रहरीमाथी औँला उठाउने अवस्था आउने सामान्य कुरा होइन ।
निर्मलाको हत्यारा उम्काएर मानसिक सन्तुलन गुमाएका विष्टलाई अपराधी बनाउन खोजिएकै हो भने, त्यसमा संलग्न को को हो र त्यसको पहुँच कहाँसम्म छ जरोसम्म खोतल्नुपर्छ । फेरी पनि त्यस्तो अपराध नदोहोरियोस् भन्नेमा प्रहरीको त्यसका लागि सबै प्रकारका आवश्यक संयन्त्र प्रयोग गरियोस् । यदि, भोलिका दिनमा प्रहरीलाई स्थानीयले लगाएको आरोप सिद्ध भएमा राष्ट्रसेवक प्रहरीको हैसियत उदांगो हुनेछ ।
प्रहरीलाई मात्र होइन स्थानीयले केन्द्रीय प्रहरी व्युरो सिआइबीको भूमिकामा समेत औँला उठाएका छन् । निर्मला हत्या घटनाको अनुसन्धान गर्न खटिएको सिआइबीलाई समेत स्थानीयले विश्वास गर्न नसक्नु सामान्य होइन ।

प्रहरी निर्मलाको परिवारलाई न्याय दिनभन्दा विष्ट परिवारलाई आरोपित प्रमाणित गर्न आतुर देखियो । यसका उदाहरण हो, दिलीपका बुबा कमलसिंह विष्ट र दाजु खडकसिंह विष्टलाई जिप्रकामा ल्याएर दिलीप मानसिक अवस्था ठीक भएको व्यक्ति हो भनी कागजमा सहीछाप गराउने चेष्टा गर्नु । प्रहरी किन विष्टको परिवारको पछि लागेको हो त्यो बुभ्mनुपर्छ ।

परिवारले प्रहरीको साथ नदिएका कारण दिलीपलाई मानसिक रूपमा स्वस्थ, तर उक्त घटनामा खराब घोषित गर्ने प्रहरीको योजना विफल भएको छ ।

मानसिक सन्तुलन ठीक नभएको मान्छेले प्रहरीलाई दिएको वयान सन्तुलित मान्छेकोजस्तै देखिन्छ । सिंहले प्रहरीलाई दिएको भनिएको वयान उनीहरूले नै सार्वजनिक गरेको हो । सिंहले प्रहरीलाई आफू मार्सल आर्टको खेलाडी भएको र मान्छे मार्न कसरी सजिलो हुन्छ भन्ने थाहा भएर मारेको भन्ने उनको साच्चै हो भने त्यो सन्तुलित मान्छेले सुझबुझका आधारमा गरेको प्रष्ट हुन्छ ।

अर्को कुरा बलात्कारको पोल खुल्ने डरले हत्या गरेको बताइएको छ । प्रहरीले आफ्नो अनुकूलता र प्रतिकूलतामा दिलीपलाई मानसिक अवस्था दर्शाएको छ ।

निर्मला किताब लिनका लागि जुन घरमा गइन् । त्यो घरदेखि नै उक्त घटना रहस्यमय छ । स्थानीयका अनुसार उक्त घरमा दुई जना युवा प्रायः आइरहन्थे । जानकारी भएअनुसार दुई युवामा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्का भीमदत्त नगरपालिकाका मेयरका भतिज । स्थानीयले दिएको जानकारीअनुसार दिदीबहिनी मात्रै भएको त्यो घरमा ती दुई युवकहरू निर्वाध रूपमा किन आवतजावत गर्थे ? निर्मला हत्या प्रकरणपछि यस बारेमा अझ बढी प्रश्न उठेको छ ।

निर्मलाको बलात्कार र हत्यापछि पीडित परिवार र स्थानीयले एसपीका छोरा र मेयरका भतिजलाई पनि प्रहरीले छानबिनको दायरामा ल्याओस् र उनीहरू दोषी भए÷ नभएको जनसमक्ष स्पष्ट पार्न पटकपटक माग गरे ।

निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गर्न उनीहरूले धेरै दबाब दिए । तर, प्रहरीले उनीहरूलाई सोधपुछसम्म नगर्नाका कारण के हाी ? घटनाको २४÷२५ दिनपछि मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयको आक्रोश बढेको हो । बमको घरमा गएदेखि निर्मला हराएपछि भेटिएका तथ्यहरूले घटना रहस्यमय बनाएको छ ।

घटनास्थलमा निर्मलाका किताबकापी भेटिए तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो । छोरी खोज्दै बमको घरमा गएकी निर्मलाको आमालाई बम दिदीबहिनीले दिएको जवाफले पनि उनीहरूको व्यवहारमा शंका गर्ने ठाउँ देखिन्छ ।

एउटा जघन्य अपराधमा एक किशोरीले जीवन गुमाएकी छन् । एक महिनासम्म अपराधीको छेउसम्म जान नचाहेको प्रहरीले शंकाको घेरमा रहेका दुई बहिनीलाई पक्राउ गरेको छ । राज्य र प्रहरी प्रशासन इमानदार भएर अपराधमा जो कोही संलग्न भए पनि उनीहरूलाई कानुनी कारबाहीको दायरमा ल्याउनुपर्छ ।

घटनाको भित्रसम्मको कारण जनताले थाहा पाउन् । भोलिका दिनमा यस्ता अपराको समाचार पढ्न, सुन्न र लेख्न नपरोस् । प्रहरीलाई अपराधी पक्राउ गरे भन्दै सडकमा उत्रेका कसैले ज्यान गुमाउन नपरोस् । निर्मलाको आत्माले शान्ति पाउन् ।

प्रतिक्रिया