हिमालमा लामखुट्टे !

‘जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउ आफ्नो ठाउँ छोडेर बिस्तारै उपल्लो भागतिर सर्दै गएको छ,’

पोखरा । उच्च हिमाली क्षेत्रका बासिन्दा यतिखेर झुल हालेर सुत्छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । यहाँ समय नहुँदै हिउँ पग्लने र बेमौसममै फल लाग्ने स्थितिसमेत पैदा भएको छ ।

तराई र मधेसका फाँटमा पाइने लामखुट्टे पहाड चढेको झन्डै तीन दशक पुगिसकेको छ । हिमाली क्षेत्रमा देखिन थालेकोचाहिँ करिब एक दशक पुग्न लाग्यो ।

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोेङ गाउँपालिका–५ ठिनीका ६५ वर्षीय पल्डिसी थकाली विगतमा लामखुट्टेको नामसमेत नसुनेका यहाँका स्थानीय यतिखेर झुल प्रयोग गर्न बाध्य बनेको बताउँछन् । पृथ्वीमा बर्र्सेेनि तापमान बढेर हिमाली क्षेत्रको जनजीवन र बालीनालीमा ठूलो प्रभाव पारिरहेको उनी बताउँछन् ।

एक दशकअघिसम्म हिउँ मात्र पर्ने ठिनीमा जलवायु परिवर्तनको असरसँगै पानी पर्न थालेपछि परम्परागत तबरले निर्माण गरिएका माटाका संरचनाहरू जोखिममा पर्दै गएका छन् । माटाले छाएका घरहरू पानी पर्न थालेपछि पग्लने र भत्कने क्रम बढ्दा जस्ताले छाउन बाध्य हुनुपरेको स्थानीय बताउँछन् ।

पानी पर्ने क्रमले हिमाली क्षेत्रमा बाढीपहिरोको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रभावित भएको छ । गर्मी क्षेत्रमा मात्र फल्ने बन्दा, काउली यतिखेर ठिनीमै फल्ने गरेको थकालीले जानकारी दिए । तापक्रम वृद्धिले चाँदीजस्तै टलक्क टल्कने हिमालहरू बर्सेनि कालापत्थरमा परिणत भइरहेका छन् ।

उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि त्यहाँका बस्तीमा खानेपानीको अभाव चर्किएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई चार वर्षअघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिनु यसको ज्वलन्त उदाहरण हो ।

हिउँ पर्न कम हुनाका साथै हिउँ पर्ने ठाउँमा पानी पर्न थालेपछि मुस्ताङका बस्तीहरू जोखिममा पर्दै गएका थसाङ गाउँपालिका–३ लेतेका ६५ वर्षीय नरसिंह शेरचन बताउँछन् ।

‘जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रमा फल्ने स्याउ आफ्नो ठाउँ छोडेर बिस्तारै उपल्लो भागतिर सर्दै गएको छ,’ उनले भने । स्याउको राम्रो उत्पादन हुने लेतेमा १० वर्षयता स्याउ फल्नै छोडेपछि उत्पादन तथा बिक्री गरी आयआर्जन गर्दै आएका लेतेवासीले स्याउको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।

हिमाल पग्लने क्रमसँगै नयाँ–नयाँ हिमताल बन्ने क्रम बढिरहेको छ । बेमौसममा आउने बाढीका कारण धेरै बस्ती जोखिममा पर्ने गरेका छन् । पछिल्ला वर्षमा विश्वव्यापी रूपमा बढेको जलवायु परिवर्तनको असर नेपालमा पनि देखिने गरेको मौसमविद् विभूति पोखरेल बताउँछिन् । पानी पर्दा एकसाथ ठूलो पर्ने, लामो समयसम्म नपर्नेजस्ता कारणले पानीका मुहान सुक्दै जाने, खेतहरू बाँझिने क्रम बढेको छ ।

पछिल्ला वर्षमा पहाडी भेगमा शून्य दशमलव शून्य ६ प्रतिशत र हिमाली भेगमा शून्य दशमलव शून्य ४ प्रतिशतका दरले तापक्रममा वृद्धि भइरहेको छ ।

प्राकृतिक एवं मानवीय दुवै कारणबाट विश्वव्यापी तापमान बढिरहेको विज्ञहरू बताउँछन् । यसले पार्ने दीर्घकालीन प्रभावलाई न्यून गर्न सचेतता अपनाउन हतार भइसकेको सरोकारवाला बताउँछन् । जलवायु परिवर्तनसँगै हिउँ पग्लने तथा हिमताल फुट्ने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको छ ।

केही वर्षअघि पोखरा भएर बग्ने सेती नदीमा अपत्यारिलो तबरले हिउँदमा बाढी आएर करिब दुई दर्जन सर्वसाधारणको ज्यान गयो । बाढीको कारण यकिन नभए पनि हिमताल फुटेकै कारण हुन सक्ने अनुमान अनुसन्धानका क्रममा गरिएको थियो ।

पछिल्ला वर्षमा अन्नपूर्ण हिमालको हिउँ पग्लेर कास्कीको सिक्लेस गाउँमाथि नयाँ हिमताल अस्तित्वमा आयो । यो जलवायु परिवर्तनको अर्को उदाहरण हो ।

अन्नपूर्ण हिमालबाट खसेको हिउँको थुप्रो पग्लिएर कास्कीको पार्चेमा हिमताल बनेको छ र उक्त ताललाई स्थानीय बासिन्दाले ‘कफुचे’ नामकरण गरिदिएका छन् । नेपालमा ४ हजार ५ सय मिटरमाथि मात्रै हिमताल भेटिएका भए पनि यो ताल भने २ हजार ४ सय ३७ मिटरको उचाइमा विकसित भएको छ ।

पछिल्ला अध्ययनहरूसँगै जलवायु परिवर्तनको असरका कारण हिमताल फुट्दै, सुक्दै र हिमनदीका सीमामाथि सर्दै नदीहरू हिमालमाथि उक्लिरहेको तथ्य बाहिर आएका छन् । नेपालमा मात्र २ हजार ३ सय २३ वटा हिमताल रहेका छन् ।

यसमध्ये महत्वपूर्ण मानिने हिमनदी र हिमाली क्षेत्रहरूबाट हिउँ पग्लँदै जानु यतिखेर गम्भीर चुनौतीका रूपमा देखिएको छ । अहिले विश्वभर मानिसले पिउने ७० प्रतिशत पानी हिमखण्डबाटै प्राप्त हुने गरेको सन्दर्भमा हिउँ पग्लेर हिमाल कालापत्थरमा परिणत हुनु सबैको चासो र चिन्ताको विषय बन्न पुगेको छ ।

जलवायु परिवर्तनले कृषिजन्य उत्पादनमा पनि असर गरेको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि प्रसार अधिकृत प्रकाश बस्ताकोटीले बताए । कास्की र आसपासका जिल्लामा धानखेतीमा यसले प्रत्यक्ष असर पारेको देखिएको छ ।

बस्ताकोटीका अनुसार मौसम फेरबदलका कारण कृषकले उचित समयमा धान रोप्न नसक्दा त्यसले उत्पादनमा ह्रास ल्याइदिएको हो । तापक्रमको फेरबदलसँगै बालीनालीमा फौजी किराको प्रकोप पनि बर्र्सेेनि बढ्दै गएको छ ।

अघिल्ला वर्षमा खडेरीका कारण मकै तथा कोदोको उत्पादन कम भएको थियो ।

 

प्रतिक्रिया