दीर्घरोगीलाई गोदावरीको थप २५ हजार अनुदान

ललितपुर । गोदावरी नगरपालिकाले दीर्घरोगीलाई जनही २५ हजारका दरले ४६ जनालाई अनुदान वितरण गरेको छ । सरकारले जनही एक लाख दिने गरे पनि नगरपालिकाले त्यसमा २५ हजार थप गरेको हो ।

सरकारले दीर्घरोगीलाई जनही एक लाख रुपैयाँ दिने व्यवस्था गरे अनुरूप सो नगरपालिकामा रहेका ४६ जनालाई यसअघि नै वितरण गरेको थियो । तर, नगरपालिकाले त्यो अपुग हुने देखेपछि आफ्नै स्रोतमा थप २५ हजार वितरण गरेको हो ।

‘नगरपालिकामा रहेका उच्च रक्तचाप, मधुमेह, मिर्गाैलाको समस्या, मुटुरोग र क्यान्सरबाट बढी मात्रामा पीडित छन्, उनीहरूको स्वास्थ्यलाई मध्यनजर गरी नगरपालिकाले अनुदान रकम वितरण गरेको हो,’ गोदावरी नगरपालिकाका सूचना अधिकारी सन्तबहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतले भने, ‘नगरपालिकाले स्वास्थ्य उपचारका लागि दिएको अनुदान रकमबाट बिरामीले औषधि खरिद गरी दैनिक सेवन गरुन् भन्ने नगरपालिकालको धारणा छ ।’

समाजमा दैनिक बदलिँदै गएको जीवनशैली, अस्वस्थ्य खानपानको बढी प्रयोग र व्यायमका कमीका कारण मानिसलाई दीर्घरोगले सताउने गरेको चिकित्सकहरू बताउँछन् । नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भने, ‘मिर्गौला पीडितलाई डायलासिस र क्यान्सर पीडितलाई केमोथेरापी उपचार नेपाल सरकारले निःशुल्क रूपमा प्रदान गरेता पनि उपचारमा अझ सहज होस् भनी नगरपालिकाका तर्फबाट अनुदान रकम वितरण हौँ ।’

गोदावरी नगरपालिकामा हाल १२ स्वास्थ्यचौकी, दुई ब्रर्थिङ् सेन्टर र १ सय ८ स्वयंसेविका रहेका छन् । गोदावरीमा क्षेत्रमा रहका यी स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीले निरन्तर रूपमा दीर्घरोगीलाई निःशुल्क उपचार सेवा दिँदै आएका छन् ।
०००

प्रतिक्रिया