जेनेरिक अाैषधि मात्र दिनुपर्ने

‘कतिपय चिकित्सकको अझै पनि लेखाइ नै शुद्ध छैन, पढेलेखेका डाक्टरको हातबाट यस्तो लेख्नुपर्ने अवस्था आउनु गतल नै हो । यो व्यवस्था अमेरिका र युरोपियनजस्ता मुलुकहरूमा मात्रै ठीक हुन्छ

काठमाडौं । चिकित्सक र स्वास्थ्यकर्मीले बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम मात्रै लेखेर दिनुपर्ने भएको छ ।

संसद्मा दर्ता भएको जनस्वास्थ्य सेवा विधेयक–२०७५ मा अनिवार्य रूपमा जेनेरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधान रहेको हो ।

यसअघि चिकित्सकले विभिन्न कम्पनीको नाम नै उल्लेख गरेर औषधिको सिफारिस गर्ने गरेका थिए । जसबाट कुनै अमुक कम्पनीलाई मात्र फाइदा पुग्ने गरेको थियो ।

तर, अब जेनेरिक नाम मात्रै उल्लेख गर्नुपर्ने भएपछि कम्पनीलाई नभई बिरामीलाई राहत मिल्ने बताइएको छ । तर, यसमा गुणस्तरको कमी आउन सक्ने भन्दै सम्बन्धित विज्ञहरूले आशंका व्यक्त गरेका छन् ।

कानुन नै बनेपछि अन्य कुरा गर्न नमिल्ने औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जानकारी दिए । ‘सरकारको प्रतिनिधि भएकाले सरकारले पास गरेको कानुनी कुरालाई गलत भन्न नमिल्ने’ उनको भनाइ छ ।

व्यवसायीहरूले भने कानुनअनुसार गुणस्तरमा ध्यान दिने हो भने सबै कम्पनीका औषधि बेच्न सक्ने बताएका छन् । बिरामीले औषधि किन्दा बिक्री गर्ने व्यवसायीले आफूलाई फाइदा हुने दिन्छन् भन्ने छ, यो हुनु स्वाभाविक भएको उनीहरूको भनाइ छ ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले भने बिरामीलाई चिकित्सकले ब्रान्डको नभएर औषधिको जेनेरिक नाम लेख्ने व्यवस्था हुनु सरासर गलत हुने बताए । उनले भने, ‘यो व्यवस्था गतल हो ।

जुन मुलुकमा सबै औषधि पनि बन्दैन, नेपालमा बनेको त त्यसको मूल्यांकन, अनुगमन गरी हेर्न सकिन्छ, अन्य देशबाट आएको हेर्न असहज हुन्छ,’ उनले थपे, ‘कतिपय चिकित्सकको अझै पनि लेखाइ नै शुद्ध छैन, पढेलेखेका डाक्टरको हातबाट यस्तो लेख्नुपर्ने अवस्था आउनु गतल नै हो । यो व्यवस्था अमेरिका र युरोपियनजस्ता मुलुकहरूमा मात्रै ठीक हुन्छ ।’ ‘सरकारले गुणस्तर हेर्नेे, मूल्य सही छ कि छैन वा मूल्यवृद्धि भयो भने त्यो छुट्याउने हो । यस्तो निर्णय गर्ने होइन,’ उनले बताए ।

यता, औषधि व्यवसायी महासंघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले यस्तो व्यवस्थाले औषधि क्षेत्रमा विकृति सिर्जना हुने बताए । मल्टिनेसनल औषधिहरू ब्रान्डमा मात्रै पाइने, जेनेरिकमा नपाइने भन्दै उनले भने, ‘यस्तो व्यवस्थालाई शंकाको दृष्टिले हेर्नुपर्छ ।

राज्यका ठूला अस्पतालका फार्मेसीमा मात्रै जेनेरिक गर्नुपर्छ, त्यसले राम्रो हुन्छ । तर, सबै ठाउँमा गर्दा यसले असहज परिस्थिति सिर्जना गर्छ ।’

वरिष्ठ फार्मेसीविज्ञ बाबुराम हुमागाईं भने यो व्यवस्थाको फाइदा र बेफाइदा दुवै भएको बताउँछन् । ‘सबै औषधि जेनेरिकमा लेख्न हुँदैन, त्यो व्यावहारिक हुँदैन,’ उनले भने, ‘अस्पतालका फार्मेसीमा जेनेरिक अनिवार्य गर्नुपर्छ, तर निजीमा जेनेरिक अनिवार्य गर्न सकिँदैन ।

अस्पतालले सबै कुरा हेरेर टेन्डरमा मगाएको हुन्छ, जुन ब्रान्ड ठीक हुन्छ, त्यो ल्याएको हुन्छ । त्यसैले, अस्पतालमा जेनेरिक हुनुपर्छ ।’
कसैले यो ब्रान्ड एउटै हो भन्न सक्ने हो भने जेनेरिक ठीक हुने उनले बताए । तर, त्यो अवस्था अहिले नै नभएको हुँदा सबै जेनेरिक भन्न गाह्रो भएको उनले बताए ।

उनले थपे, ‘जेनेरिक गर्दा मूल्य घटाउने आधार हुन्छन्, अस्पतालमा खरिद गर्दा सयौँ कम्पनीले एउटै औषधि बनाउँछन्, जसले गर्दा जुनले सस्तो दिन्छ, त्यही लिनुपर्ने हुन्छ । तर, डाक्टरले पाँच वटै कम्पनीको लेख्यो भने त अस्पतालले दिन सक्दैन, सस्तो पनि हुँदैन । त्यसैले, अस्पतालको जेनेरिक हुनुपर्छ, अरू ब्रान्डमा हुन सक्दैन ।’

औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले हाम्रो जस्तो देशमा जेनेरिक नाममा लेखेर राम्रो काम नगर्ने, बरु उल्टै नराम्रो विकृति फैलाउने बताए । यसबाट उपभोक्ताहरू ठगिने भन्दै हाम्रो देशमा उत्पादन भएका अहिलेका सबै ‘प्रोडक्ट’ जेनेरिक भएको उनले बताए ।

‘मूल्यमा एक रुपैयाँ पनि तलमाथि हुँदैन । औषधि विभागका महानिर्देशकले जेनेरिकमा लेखे शतप्रतिशत छुट हुने भन्नुभएको छ, तर यो भनेको सय रुपैयाँ पर्ने औषधि निःशुल्क पाउनु हो, यो हुनै सक्तैन,’ उनले भने । औषधि उत्पादकले ब्रान्डमा लेख्दा डाक्टरलाई पैसा खुवाएर लेखिएको भन्नेछ, जेनेरिकमा लेखाउँदा पैसा दिनुपर्दैन र मूल्य स्वतः घट्छ भन्ने तर्क भएको उनले बताए ।

‘बजारको आफ्नो नियम हुने भन्दै उनले औषधि उद्योगको लागि कन्जुमर भनेको डाक्टर थिए, उनीहरूले लेखेको चल्थ्यो, अब जेनेरिकमा लेख्दा कन्ज्युमर डिस्पेन्सर (औषधि पसले) हुन्छन्,’ उनले बताए ।

कुनै वस्तुको उत्पादन गर्न ठूलो कुरा नभएको भन्दै उत्पादित वस्तु बजारमा लिएर गएर ग्राहकसमक्ष पु¥याउनु नै ठूलो भएको उनले बताए । कतिपय देशमा औषधिको विज्ञापनसमेत गर्न पाइने भन्दै उनले भने, ‘अमेरिकाजस्तो विकसित देशमा यो औषधिले यस्तो काम गर्छ, यो औषधि यस्तो भनेर गरिन्छ, तर हाम्रोमा कानुनले नै रोकेको छ । त्यसैले डाक्टरलाई त गएर हाम्रो यस्तो उत्पादन भएको छ, यसले यो रोगको काम गर्छ भनेर त भन्न परिहाल्यो नि ।’

डाक्टरलाई यति खुवाउँछन् भन्ने आरोप मात्रै भएको भन्दै कसैले खुवाउने नखुवाउने भन्ने नहुने उनले बताए । डाक्टरले पनि जे मन लाग्यो, त्यही नलेख्ने भन्दै उनले जुन औषधिले बिरामीको रोग निको हुन्छ, त्यसमा विश्वास गरेर लेख्ने बताए । यस्तो नियम ल्याउनुले पनि डाक्टरको एक अधिकार खोसिएको उनले बताए ।

‘यस्तो नीतिले सामाजिक उत्तरदायित्व आआफ्नै भए पनि व्यवसायीले आफूलाई जे कुरामा नाफा हुन्छ, त्यही औषधि दिन्छ । यसको उत्तर मागे पनि व्यवसायीले मसँग जे थियो त्यही दिएँ, गुणस्तर के छ भन्ने कुरा मैले हेर्ने होइन भन्ने हुन्छ,’ यस्तो नीतिले जनतालाई केही फाइदा नहुने र विकृति ल्याउने उनले बताए । नेपाली बजारमा आउने औषधिमध्ये अहिले करिब ५० प्रतिशत भारतबाट आउने गरेको छ ।

प्रतिक्रिया