अनुसन्धान गरेर नीति बनाऊः मन्त्री यादव

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अनुसन्धान गरेर मात्र नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले देश संघीय संरचनामा गइसकेकाले अब कस्तो कार्यक्रम ल्याउने र कसरी अघि बढ्ने भन्ने नीति बनाउन अनुसन्धानबाट आएका तथ्यांकले सहयोग पुग्ने बताएका हुन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जीआइजेड नेपालको सहयोग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा मंगलबार राजधानीमा गरेको एकदिने गोष्ठीमा उनले राष्ट्रिय रूपमा उपलब्ध अनुसन्धानलाई राष्ट्रिय तहको दृष्टिकोण बनाउन प्रयोग गरेजस्तै हरेक प्रदेश र स्थानीय सरकारले समेत आ–आफ्ना परिवेश र आवश्यकता आधारमा वैज्ञानिक अनुसन्धान गर्ने र ती तथ्यमा टेकेर नै योजना तथा कार्यक्रम गराउनुपर्ने बताए ।

रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिने तर्फ स्वास्थ्यका सबै अनुसन्धानलाई केन्द्रित गर्न आग्रह गर्दै मन्त्री यादवले अनुसन्धानबाट प्राप्त नतिजाका आधारमा नीति बनाई कार्यान्वयनमा ल्याइने जानकारी दिए ।

मन्त्री यादवले परिषद्ले योजनाको प्रभावकारिता मूल्यांकनका लागि पनि, अनुसन्धानमा आधारित योजनाले मात्रै स्रोतको सदुपयोग र सही अर्थमा प्रतिफल दिने र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् पनि यहि बाटोमा भएको बताए ।

सरोकारवालाहरूले पनि स्वास्थ्यसम्बन्धी नीति, योजना तथा कार्यक्रम बनाउँदा अनुसन्धानको पक्षमा जोड दिँदै अनुसन्धान संस्कृतिलाई बढावा दिनुपर्ने बताए । स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले नेपालमा स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान विदेशीको हातमा जिम्मा लगाउनुभन्दा आफैँले गर्नुपर्नेमा जोड दिइन् । आफैँले गर्दा आवश्यकताअनुसार अनुसन्धान हुने र नीति निर्माणमा ठूलो सहयोग पुग्ने उनले जानकारी दिइन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी अध्यक्ष प्राडा. अञ्जनीकुमार झाले स्वास्थ्य नीति र कार्यक्रममा तथ्यको प्रयोग गर्नका लागि आवश्यक विधिको जानकारी हुनु आवश्यक रहेको बताए । परिषद्ले पश्चिम तराईका जिल्लाका थारु समुदायमा देखिने सिकलसेल रोगका बारेमा पनि अनुसन्धान जारी राखेकोे जनाएको छ ।

अहिलेसम्म करिब १० हजार नमुना संकलन गरी थप अनुसन्धानका लागि वीर अस्पतालमा परीक्षण भइरहेको जानकारी दिए । परिषद्ले हाल पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमलाई आवश्यक पर्ने अनुसन्धान गर्दै आएको छ ।

प्रतिक्रिया