मुद्दा फर्स्याेटमा सहयोग गर्दै जनावरको डिएनए

ललितपुर । नेपालमा जङ्गली जनावरका डिएनए परीक्षण सुरु भएसँगै नयाँँ खालका मुद्दासँग सम्बन्धित डिएनए परीक्षणका लागि आउन थालेका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुई वर्ष पहिलेदेखि जनारको डिएनए परीक्षण सुरु गरेको हो ।

जंगली जनावरको स्वरूप बदलेर निर्यात हुने, जंगली भनेर घरपालुवा वा घरपालुवा भनेर जंगली जनावर बिक्री हुने, छिमेकी मुलुक वा तेस्रो मुलुकबाट समेत जनावरको अंग चोरी हुनेजस्ता मुद्दाका डिएनए परीक्षणका लागि आइरहेको प्रयोगशालाका निर्देशक जीवनप्रसाद रिजालले बताए ।

डिएनए परीक्षण सुरु नहुँदा कतिपय मुद्दाको कार्यान्वयन भए कतिपयको हुन सकेको थिएन । पहिले पुराना भइसकेका र स्वरुप बदलिएका जनावरका अंगका बारेमा राय दिन नसकिएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालामा जनावरको डिएनए परीक्षण सुरु भएको सबैलाई जानकारी भएसँगै यहाँ विभिन्न मुद्दासँग सम्बन्धित जनावरका डिएनए परीक्षणका लागि आउने क्रम बढिरहेको छ । ‘वर्षौंदेखि थन्किएका मुद्दामा समेत हामीले डिएनए परीक्षण गरेर राय दिएका छौँ ।’ उनले भने ।

प्रयोगशालामा सबैभन्दा बढी वन कार्यालयबाट डिएनए परीक्षणका लागि आइरहेको निर्देशक रिजालले बताए । धेरै मुद्दामा जनावरका अंगको स्वरूप बदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको छ ।

खुल्ला आँखाले हेर्दा ती जंगली जनावरकै मासु हो÷होइन छुट्टाउन सकिँदैन । मासुलाई सुकुटी वा अरू परिकारका रूपमा आयात–निर्यात हुने गरेको छ ।

उनले भने, ‘कहिलेकाहीँ जंगली जनावर भनेर घरपालुवा जनावरको अंगसमेत बिक्री–वितरण भएको पाइएको छ ।’ प्रयोगशालाले मानवसँगै जनावरको डिएनए परीक्षण सुरु गरेकाले धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात हुन लागेका घटना परीक्षणका लागि आएका छन् । निर्देशक रिजालले भने, ‘वन कार्यालयको आँखा छल्नका लागि अपराधीले नयाँ–नयाँ प्रयोग गरिरहेको पाइएको छ ।’

प्रयोगशालाले पहिले अन्य विधिबाट जनावरको डिएनए परीक्षण गर्दै आएको थियो । डिएनए परीक्षण सुरु नहुँदा कतिपय मुद्दाको कार्यान्वयन भए कतिपयको हुन नसकेको थिएन । पहिले पुराना भइसकेका र स्वरूप बदलिएका जनावरका अंगका बारेमा राय दिन नसकिएको प्रयोगशालाले जनाएको छ ।

निर्देशक रिजालले भने, ‘हामीले अन्य प्रविधिबाट परीक्षण गर्दा र नहुने विषयमा फिर्ता पठाउने गरेका थियौँ तर डिएनए परीक्षण सुरु भएपछि कुनै पनि मुद्दा फर्काउन परेको छैन ।’ जनावरको अंगको स्वरूप बदलेर आउँदा डिएनए परीक्षणबाट कुन जनावरको कुन अंग भन्ने पत्ता लगाउन सम्भव भएको छ ।

बाघको मासु सुकुटी बनाउन, अरू भाग औषधि बनाउन प्रयोग गरिन्छ भने कस्तुरीको बिना र भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको छ । उनले भने, ‘कुन देशमा कुन जनावरको माग छ भन्ने बुझेर चोरले जनावर मारेर बिक्री गर्ने गरेका छन् ।’

प्रयोगशालाले यहाँ आएका जनावरका अंगमा कुन जनावर नेपालकै हो र कुन होइन भन्नेसमेत छुट्याउँदै आएको जनाएको छ । रिजालले भने, ‘अधिकांश घटनामा हामी जनावर हाम्रो हो कि होइन भनेर छुट्याउँन सक्छौँ ।’ नेपाल, भारत, चीनलगायत छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर हो वा यहीँको भन्ने पनि सजिलै छुिट्टने उनले बताए ।

प्रयोगशाला मानव र जनावरका डिएनए परीक्षण एउटै प्रयोगशालाबाट हुने दक्षिण एसियाको एक मात्रै प्रयोगशाला हो । वर्षौं पुराना हाड भेटिँदा मानवको हो वा जनावरको भन्ने पत्ता लगाउन यसले सहयोग गर्छ । उनले भने, ‘एउटै प्रयोगशालाबाटै जनावरको भए पनि कुन जनावर हो र कुन ठाउँको भन्ने छुट्याउन सकिन्छ ।’

परीक्षणका लागि आउनेमा गैंडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ, चितुवाको छाला बढी रहेको निर्देशक रिजालले बताए । यी जनावरको छाला, खप्पर, हाड, नंग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अंग चोरी शिकारी बढी हुने गरेको दुई वर्षमा आएका मुद्दाले देखाएको छ ।

जीवित कछुवा तथा कछुवाका खपटा, हाब्रेको छाला र बँदेल, मृगको सुकुटी पनि परीक्षणका लागि आइरहेको छ । उनले भने, ‘विभिन्न अदालतबाट आएका मुद्दामा हामीले उहाँहरूलाई नतिजा दिइसकेका छौँ ।’ गत वर्षबाट उड्ने लोखर्के, डाफेँको प्वाख, मयुरको प्वाँखलगायतका आखेटोपहार पहिचान गर्न थालिएको प्रयोगशालाका निर्देशक रिजालले बताए । प्रयोगशालामा अहिले कतिपय नौला खालका आखेटोपहार आउन थालेका छन् ।

प्रयोगशालामा आर्थिक वर्ष ०७३\७४ बाट वन्यजन्तुको डिएनए परीक्षण सुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३ सय २ नमुना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा ०६२÷६३ सालमा मानव डिएनए परीक्षण सुरु भएको थियो ।

प्रतिक्रिया