दाेलखाका ३४ वडामा अझै छैनन् बर्थिङ सेन्टर


दोलखा । जिल्लाको अधिकांश स्थानमा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । दोलखाको ९ वटा स्थानीय तह तथा ७४ वडामध्ये ३४ वटा वडामा मात्र बर्थिङ सेन्टर सञ्चालन हुन बाँकी रहेको छ ।

दोलखाको वैत्यश्वर गाउँपालिकाको कुल ८ वडामध्ये हाल ३ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको छ । हाल गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६ र ८ वडामा स्वास्थ चौकी सञ्चालनमा रहेको छ भने वडा नम्बर ४, ६ र ८ मा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ ।

बाँकी रहेको वडा नम्बर २, ५ र ७ मा अझै स्वास्थ्य चौकी समेत सञ्चालन हुन नसकेके वैत्यश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए । वडा नम्बर १ र ३ मा चालु आर्थिक वर्षबाट बर्थिङ सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको उपाध्यक्ष आचार्यले बताए ।

त्यसैगरी, तामाकोसी गाउँपालिकाको सम्पूर्ण वडामा बर्थिङ सेन्टर सञ्चालन हुने भएको छ । गाउँपालिकाको कुल सात वडामध्ये हाल ६ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको जनाएको छ ।

बाँकी रहेको वडा नम्बर ३ मा बर्थिङ सेन्टर सञ्चालन गर्ने अन्तिम तयारीमा पुगेको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए । यसैगरी, मेलुङ गाउँपालिकाको ७ वडामा ५ वटा स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन् । कुल पाँच स्वास्थ्य चौकीमा दुई वटा स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा रहेको मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठले जानकारी दिए ।

यता गौरीशंकर गाउपालिकाका सात वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको गाउँपालिकाको कार्यालयले जनाएको छ । बाँकी २ वडा नम्बर ८ र ९ मा आगामी आर्थिक वर्षबाट सञ्चालन गरिने गौरिशंकर गाउँपालिकाका अध्यक्ष स्वयंबहादुर खड्काले जानकारी दिए ।

शैलुङ गाउँपालिकामा पनि ७ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको जनाएको छ । गाउँपालिकाको कुल नौ वडामध्ये हाल सात वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा रहेको छ । गाउँपालिकाको वडा नम्बर १ र ६ मा चालु आर्थिक वर्षको अन्त्यसम्म बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष भरत दुलाले बताए ।

त्यसैगरी, कालिञ्चोक गाउँपालिकाको ६ वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा रहेको जनाएको छ । गाउँपालिकाको कुल ९ वडा मध्य वडा नम्बर ४, ५ र ७ मा बर्थिङ सेन्टर सञ्चालन हुन बाँकी छ । बाँकी रहेको वडाका स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालन गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष विन कुमार थामीले बताए ।

त्यसैगरी, विगु गाउँपालिकामा पाँच वटा स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा रहेको जनाएको छ । गाउँपालिकाको ८ वटै वडामा स्वास्थ्य चौकीको व्यवस्था भए पनि ५ वटा स्वास्थ्य चौकीमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा आएको छ ।

वडा नम्बर २, ३ र ५ मा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले जानकारी दिए । त्यसैगरी, दोलखाको जिरी नगरपालिकामा जिल्ला अस्पतालसहित २ स्थानमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा रहेको जनाएको छ ।

जिल्ला अस्पताल जिरी र नगरपालिकाको वडा नम्बर १ श्यामामा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा रहेको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलले जानकारी दिए भने, भौतिक संरचना र जनशक्तिको अभाव भए पछि दोलखाको भिमेश्वर नगरपालिका–७ वडामा अझै बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन । दोलखाको सदरमुकाम चरिकोटसमेत रहेको भिमेश्वर नगरपालिकामा नौ वटा वडा छन् । ९ वडामध्ये ३ वडामा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा छ ।

स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्न उक्त स्वास्थ्य चौकीमा एक वर्षको अवधिमा २० जना सुत्केरी हुनुपर्छ । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गर्ने भनिए पनि भौतिक संरचनाको अभाव, तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मीको अभाव साथै सुत्केरी हुन स्वास्थ्य चौकी जाने गर्भवतीको संख्यामा कमि र स्थानीयवासीको माग नआएका कारण सफल हुन नसकेको स्थानीय तहहरूको भनाइ छ ।

दोलखा जिल्लाको ९ स्थानीय तहमा ७४ वटा वडाहरू रहेका छन् । जसमा ४० वटा वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ भने ३४ वटा वडामा बर्थिङ सेन्टर सञ्चालन हुन बाँकी छ ।

प्रतिक्रिया