पोखरा । नेपाल संस्कृत विश्वविद्यालयले उत्तरमध्यमा तह विस्थापन गरेसँगै विद्यापीठमा विद्यार्थीको संख्या कम हुने देखिएको छ ।
विश्वविद्यालयले संस्कृत माध्यमिक विद्यालय, गुरुकूलजस्ता संस्थाबाट एसइई एवं पूर्वमध्यमा र भाषा प्रशिक्षण उत्तीर्ण विद्यार्थीलाई उत्तरमध्यममा अध्यापन गराउँदै आएकामा आगामी दिनदेखि उक्त कक्षा सञ्चालन नगर्ने नीति लिएको छ ।
उत्तरमध्यमा तहलाई विस्थापन गर्दै हाल सञ्चालित संस्कृत मावि, एवं गुरुकूलको पठनपाठन कक्षा १२ सम्म बढाउने सरकारको लक्ष्य छ । विन्ध्यवासिनी संस्कृत विद्यापीठ, पोखराका प्राचार्य नारायणप्रसाद सापकोटाका अनुसार उत्तरमध्यमा तह सञ्चालन हुँदासम्म संस्कृत मावि, गुरुकूल र भाषा प्रशिक्षणबाट आएका विद्यार्थीका कारण विद्यार्थी संख्या सन्तोषजनक थियो ।
उत्तरमध्यमा हटिसकेको र सञ्चालित अधिकांश संस्कृत मावि र गुरुकूलमा कक्षा ११\१२ को पठनपाठन शुरु नभएको अवस्थामा आगामी दिनमा विद्यापीठमा विद्यार्थी सख्या निकै कमी हुने देखिएको उनले बताए । नेपालको राष्ट्रभाषा नेपालीको जननीका रुपमा संस्कृत रहे पनि यस शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न नसकेको वास्तविकतामा उत्तरमध्यमा तहको विस्थापनले विश्वविद्यालयलाई अर्काे चुनौती थपेको छ ।
उत्तरमध्यमा हटेसँगै विश्वविद्यालयले संस्कृततर्फबाहेकका कक्षा ११\१२ उत्तीर्ण गरेका विद्यार्थीलाई शास्त्री तहको अध्ययनका लागि तीन सय पूर्णांकको छ महिने प्राक्र शास्त्री कक्षा शुरु गरेको छ । त्यसमा अनिवार्य एक\एक सय पूर्णांकका संस्कृत भाषा वाङ्मय र व्याकरणका अतिरिक्त एक सय पूर्णाङ्कको ज्योतिष, वेदजस्ता ऐच्छिक विषय पनि राखिएको छ ।
प्राक्र शास्त्री परीक्षामा अनिवार्य विषय मात्र उत्तीर्ण गरे पनि विद्यार्थीले शास्त्री तहमा संस्कृत साहित्य, नीतिशास्त्र, इतिहास पुराणजस्ता विषय पढ्न सक्ने व्यवस्था मिलाइएको प्राचार्य सापकोटाले जानकारी दिए । उत्तरमध्यमा तह हट्नुले आगामी दुई\तीन वर्ष विद्यार्थी सख्यामा कमी आउने र त्यसपछि भने उक्त संख्या विस्तारै बढ्दै जाने उनले बताए ।
पूर्वीय संस्कृतिका सम्पूर्ण धार्मिक ग्रन्थ संस्कृत भाषामा रचिए पनि पछिल्ला समयमा यस शिक्षाप्रति आकर्षणभन्दा पनि अनाकर्षण बढ्नु गम्भीर चुनौती बनेको छ । विगतका समयमा संस्कृत शिक्षाका लागि पोखरा र आसपासका क्षेत्र आकर्षक गन्तव्य रहेकामा पछिल्ला समयमा संस्कृत शिक्षाकै लागि खोलिएका शैक्षिक संस्थामा पनि विद्यार्थीको संख्या वृद्धि भएको पाइँदैन ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको पोखरास्थित विन्ध्यवासिनी संस्कृत विद्यापीठमा ०५० सालदेखि शास्त्री तहसम्म विभिन्न
विषयमा निरन्तर पठनपाठन गर्दै आएको छ । स्थापनासँगै तीन वर्षपछि ०५३ सालदेखि विश्वविद्यालयको आंगिक विद्यापीठका रूपमा रहेको यस विद्यापीठमा अघिल्लो वर्ष एक सय दुई विद्यार्थी अध्ययनरत रहेकामा उत्तरमध्यमा तहको विस्थापनले यस वर्ष उक्त सख्या घटेर ६०\७० मा झर्ने देखिएको विद्यापीठका प्राध्यापकहरू बताउँछन् ।
विद्यापीठमा हाल शास्त्री तहसम्म आधुनिक विषय नेपाली, अंग्रेजीसहित प्राचीन विषय ज्योतिष, साहित्य, व्याकरण विषयको अध्यापन हुँदै आएको छ । उत्तरमध्यमा हटिसकेको र विद्यापीठ परिसरसँगै रहेको संस्कृत माविले कक्षा ११\१२ को पठन पाठन सुरु गर्न सकेको छैन । पोखराको शिक्षा क्षेत्रमा लामो इतिहास बोकेको संस्कृत मावि १९५८ सालमा भाषा पाठशालाका रूपमा स्थापित यस विद्यालयमा कक्षा ११\१२ को पठनपाठन सुरु गर्ने चर्चा भए पनि यस शैक्षिक वर्षमा सम्भव नभएको विद्यालयका प्रधानाध्यापक कृष्ण देवकोटाले बताए ।
अर्को शैक्षिक वर्षदेखि कक्षा ११ को पठनपाठन सुरु गर्ने सोच राखिएको उनले जानकारी दिए । सरकारले विद्यालयका पाठ्यपुस्तक सर्वसुलभ गर्ने भने पनि संस्कृत शिक्षाका पुस्तक सर्वसुलभ नहुँदा पुराना पुस्तक फोटोकपी गरेर पढाउनुपरेको दुःखेसो उनले व्यक्त गरे । संस्कृत विद्यालय भन्ने वित्तिकै सबै विषय संस्कृत पढ्नुपर्छ की भन्ने भावनाले पनि संस्कृत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्न नसकेको यस क्षेत्रका जानकार बताउँछन् ।
संस्कृत माविको पाठ्यक्रमअनुसार कक्षा ६ बाटमाथि कुल आठ सय पूर्णांकमध्ये दुई सय अंकको मात्र संस्कृत पढ्नुपर्छ अन्य साधारण माविमा जस्तै विषयको पठनपाठन हुन्छ । पूर्वीय संस्कृतिको मुख्य भाषाका रूपमा संस्कृत भाषा रहे पनि यसको अध्ययन तथा अनुसन्धानको दायरालाई फराकिलो पार्न नसक्नु र यस शिक्षाका व्यावहारिक पक्षलाई उजागर गर्न नसक्नुले यस शिक्षाप्रति आकर्षण बढाउन नसकिएको विन्ध्यवासिनी संस्कृत विद्यापीठमा प्राध्यापनरत डा. जगन्नाथ रेग्मी बताउँछन् ।
संस्कृतमा रहेका प्राकृतिक चिकित्सा, योग, आयुर्वेद, कर्मकाण्ड, व्यावहारिक ज्योतिषजस्ता विषयको पठनपाठन एवं जनस्तरमा त्यसबारे जानकारी गराउनु अपरिहार्य देखिएको उनले बताए । उत्तरमध्यमा तह विस्थापन भएका अवस्थामा संस्कृत मावि एवं गुरुकूलमा कक्षा ११\१२ को पठनपाठन तत्काल सुरु गर्नुपर्ने र प्राकशास्त्री कक्षाको व्यापक प्रचारप्रसार गरिनुपर्ने देखिएको छ ।
प्रतिक्रिया