डाक्टर तह लगाउन कडा कानुन

साैर्य समाचार

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु हुँदा डाक्टरको लापरबाही भेटिए पाँच वर्ष जेल जानुपर्ने भएको छ । आगामी १ भदौदेखि लागू

हुने मुलुकी अपराध (संहिता) ऐन २०७४ ले चिकित्सकमाथि पनि कडाइ गर्दै जेल जानुपर्ने व्यवस्था गरेको हो ।

उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरूमाथि कुनै कारबाही भएको छैन । तर, अब भने चिकित्सकले यस्तो छुट नपाउने भएका हुन् । संहितामा डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ । उक्त ऐनको इलाजसम्बन्धी कसुरको दफा २३२ मा लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न नहुने उल्लेख छ ।

बदनियतपूर्वक उपचार गरी बिरामीको मृत्यु भए जन्मकैद, लापरबाहीले ज्यान गए ५ वर्ष जेल

‘कानुनबमोजिम इलाज (उपचार) गर्न पाउने व्यक्तिले कसैको इलाज गर्दा पर्याप्त होसियारी वा सावधानी नअपनाई लापरबाही वा हेलचेक्र्याइँ गरी इलाज गर्न, औषधि खान दिन वा खान सिफारिस गर्न वा चिरफार गर्न हुँदैन,’ सो बुँदामा भनिएको छ । यदि लापरबाहीपूर्ण कारणबाट ज्यान मर्न गएमा वा अंगभंग भएमा ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कडा व्यवस्था पनि संहितामा छ । डाक्टरको हेलचेक्र्याइँबाट मृत्यु वा अंगभंग भएमा भने ३ वर्ष कैद र ३० हजार जरिवाना हुनेछ ।

हालसम्म कायम रहेको मुलुकी ऐन २०२० मा डाक्टरले उपचारमा लापरबाही गरेमा २ वर्षसम्म कैद वा ५ सय जरिवानाको व्यवस्था थियो । उक्त ऐनको इलाज गर्ने महलको ८ नम्बरमा भनिएको छ, ‘औषधि, चिरफार गर्ने, औषधि मिलाई खुवाउन पाउनेहरूले रोगीको फाइदाका निमित्त सो काम गर्दा होस नपुर्याई, गफलत बेपर्बाही गरी, बेकाइदासँग काम गरेकोबाट रोगी मर्न गएको वा जिउमा जखम हानी पीडा भएको ठहरेमा त्यस्तालाई ५ सय रुपैयाँसम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुन्छ ।’

यदि डाक्टरको लापरबाहीले कसैको ज्यान गएमा वा अंगभंग भएमा वा कुनै क्षति पुगेमा लापरबाही गर्ने डाक्टरले पीडितलाई क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था नयाँ संहितामा गरिएको छ । हाल प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा उपचारमा लापरबाही गरेमा क्षतिपूर्तिको व्यवस्था थिएन । जसका कारण चिकित्सकले उपचारमा लापरबाही गरे पनि जोगिँदै आएका थिए । सोही अनुभवका आधारमा नयाँ संहितामा कडाइ गरिएको हो । मुलुकी ऐनमा भन्दा मुलुकी अपराध (संहिता) ऐनमा चिकित्सकको लापरबाहीको विषयमा स्पष्ट व्यवस्था र कारबाहीको स्वरूप कडा पारिएको हो । डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भएमा पीडितले जहिलेसुकै पनि उजुरी गर्न सक्ने व्यवस्था गरी हदम्याद हटाइएको छ ।

बदनियतपूर्वक उपचार गर्दा मृत्यु भए जन्मकैद

नयाँ संहिताले बदनियतपूर्वक उपचार गर्दा बिरामीको मुत्यु भएमा डाक्टरलाई जन्मकैद हुने व्यवस्थासमेत गरेको छ । नेपालका कतिपय अस्पतालमा बिरामीको व्यथा नै थाहा नपाई उपचार गरेका घटना पटक–पटक बाहिर आइरहेपछि यस्तो व्यवस्था गरिएको हो । एउटा खुट्टामा गर्नुपर्ने अपरेसन अर्कै खुट्टामा गरेको, गलत रोगको उपचार गरेको, बिरामीलाई प्रयोगशाला बनाएको जस्ता घटना थुप्रै छन् । अब भने डाक्टरको यस्तो क्रियाकलापले बिरामीको मृत्यु भएमा जन्मकैदसम्म हुन सक्ने व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ । यदि यस्तो क्रियाकलापले अंगभंग भएमा भने १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

ऐनको दफा २३१ मा बदनियत चिताई गरिने उपचारलाई बुँदागत रूपमा व्याख्या गरिएको छ । ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु, एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको गर्नु, ज्यान मर्छ भन्ने जानी–जानी औषधि खुवाउनु वा सिफारिस गर्नुलाई बदनियतपूर्ण उपचारभित्र राखिएको छ । यस्तै, एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु, त्यस्तो अंग बेकम्मा बनाउने वा शरीरबाट अलग गर्ने काम गरेमा पनि बदनियत चिताई उपचार गरेको ठहर हुने व्यवस्था गरिएको छ । संहितामा यस्तो कसुरबाट ज्यान मरेमा ज्यान मारेसरह अर्थात् जन्मकैदसम्म र अंगभंग भएमा अंगभंग गराएसरह अर्थात् १० वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

म्याद नाघेको औषधि बेचे १ वर्ष कैद

मुलुकी अपराध संहितामा म्याद नाघेको औषधि बिक्री वितरण गरेमा १ वर्ष कैद र १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । म्याद नाघेको औषधिले क्षति भएमा क्षतिपूर्तिसमेत दिनुपर्ने व्यवस्था गरिएको छ । इलाजसम्बन्धी धेरैजसो कसुरमा उजुरी गर्न पाउने हदम्याद पनि हटाइएको छ । डाक्टरको लापरबाहीले मृत्यु भएमा वा क्षति भएमा पीडित पक्षले जहिलेसुकै पनि उजुरी गर्न सक्ने व्यवस्था छ ।

प्रतिक्रिया