फेसबुकले हटायो ३२ वटा शंकास्पद खाता

 

एजेन्सी । अमेरिकाकी आन्तरिक सुरक्षासम्बन्धी मन्त्रीले मध्यावधि चुनावलाई प्रभावित गर्ने उद्देश्यले खोलिएको देखिएका ३० वटा खाता बन्द गर्न फेसबुकले गरेको निर्णयको स्वागत गरेकी छन् ।

कियर्सटिन निल्सनले चुनावमा हस्तक्षेप गर्ने कुनै पनि प्रयास प्रजातन्त्रमाथि प्रत्यक्ष हमला भन्दै अमेरिकाले त्यस्तो कुनै दखल नसहने बताइन् । फेसबुकले झण्डै १० हजार पोष्ट र १ सय ५० वटा विज्ञापन हटाएको हो ।

सामाजिक सञ्जालको उक्त कम्पनीले अभियानको स्रोतबारे आफू पक्का हुन नसके पनि कतिपय झूटा पोष्ट क्रेम्लिनले प्रयोग गरेका खाताहरूसँग सम्बन्धित भएको जनाएको छ ।

उसले आफूहरू अनुसन्धानको निकै प्रारम्भिक चरणमा रहेको र ती पेजहरू कसले बनाएको भन्ने थाहा नभएको फेसबुकले जनाएको छ ।
सन् २०१६ को राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपको तुलनामा यी खाता बनाउनेले आफ्नो परिचय लुकाउन निकै प्रयास गरेको बताइएको छ ।

कम्पनीले आफ्नो ब्लगमा भनेको छ, ‘हामीले फेसबुकमा १७ वटा शंकास्पद प्रोफाइल र सातवटा इन्स्टाग्राम खाताहरू पहिचान गरका छौं ।’
उसले फेसबुकका ती खाताहरूले ९ हजार पाँच सय पोष्ट र इन्स्टाग्रामले एउटा पोष्ट गरेको जनाएको छ । २ लाख ९० हजार खाताले कम्तीमा एउटा त्यस्तो पेजलाई पच्छाएको उसले जनाएको छ ।

फेसबुकले शंकास्पद खाताहरूले ११ हजार डलर बराबरका १ सय ५० वटा विज्ञापन फेसबुक र इन्स्टाग्राममा चलाइरहेको पनि जनाएको छ । सबैभन्दा चर्चित त्यस्ता नक्कली खाताहरूमा ब्ल्याक इलिभेसन, माइन्डफुल बिङ्ग, रेसिस्टर्स लगायत छन् । तर फेसबुकले आफू अनुसन्धानको शुरूवाती चरणमै रहेकोले त्यसमा को जिम्मेवार छ भन्ने चाहिँ पक्का गर्न नसकिएको जनएको छ । र, आफूहरूले रुसी इन्टरनेट प्रोटोकलको ठेगानाबारे पनि कुनै प्रमाण फेला नपारेको जनाएको छ । बीबीसीकाे सहयाेगमा ।

प्रतिक्रिया