महिला अधिकार, हरियो साउन र पतिको आयु

मिना बुढाथोकी साउन महिना सुरु भएसँगै हिन्दू नारीहरूले हातभरि हरियो चुरा, मेहेन्दी र हरियो पहिरनमा देख्न सकिन्छ । कतिपय महिलाहरू पतिको दीर्घायु हुन्छ भन्ने विश्वासमा त कतिपयले सुन्दरताका लागि भन्दै हरियो चुरा र हरियो कपडा लगाउने गरेको बताउँछन् । साउन महिनामा हरियो चुरा र कपडा लगाउनाले भाग्य बलियो हुने जनविश्वास व्याप्त देखिन्छ । साउन महिनामा प्रकृतिको पूजा गर्ने गरिन्छ ।

हरियो चुरा र साडी लगाएर महिलाहरूले प्रकृतिलाई विशेष पूजा अर्चना गर्छन् जसका कारण आफ्नो र पतिको आयुसमेत बढ्छ भन्ने जनविश्वास समाजमा व्याप्त रहेको देखिन्छ । साउन महिनामा हरियो पहिरनमा सजिदा शिव भगवान् खुसी हुने धार्मिक विश्वास छ । हरियो लाउँदा जीवन हराभरा हुन्छ र जीवनसाथीको पनि आयु लामो हुन्छ भन्ने विश्वासले त जरा नै गाडेको छ।

तर, विडम्बना पीडित महिलाहरूले आफूले जीवनभर साथ दिने र साथको अपेक्षा गरेको जीवनसाथीले समेत अपेक्षा अनुसारको साथ नदिँदाको अवस्थामा जीवनमा हरियाली छाउनु त परको कुरा उनिहरूको जीवन नै उजाड भएको तमाम उदाहरण हाम्रैसामु छन् । साउन महिनाको सुरुमैै कामको सिलसिलामा पंक्तिकार शारदा नगरपालिकको एउटा गाउँमा पुग्दा घरेलु हिंसापिडित महिला सीता (नाम परिवर्तन) संग भेट भयो।

सीता एउटा यस्ती महिला हुन जसले साउन त के कुनै पर्वमेला रमाइलो आदि इत्यादि आएको गएको कुनै अत्तोपत्तो हुँदैन । पाँच जना छोरीकी आमा सीताको आर्थिक अवस्था एकदमै कमजोर छ । तर, सीतालाई छोरीहरूको पालनपोषणका लागि कसरी आर्थिक जोहो गर्ने र पतिको गाली बेइज्जतीबाट कसरी बच्ने भन्ने कुराको दिनभर तनाव हुन्छ ।

भारी अनुहार लिएर घरी गाइवस्तु चराउन त घरी बाख्रालाई घाँस काट्नमै आफ्नो दिनहरू बिताइरहेकी छन् ।अझ ती छोरीहरूको शिक्षा दीक्षा र मीठो मसिनो खाने त परको कुरा । सीता त प्रतिनिधि पात्र मात्रै हुन । सीताजस्ता तमाम महिलाहरूलाई कहिले छुने हरियो साउन र मेहेन्दीको रङले ? कुरा यत्तिमा मात्रै सीमित छैन ।

शारदा नगरपालिका भित्रकै कुनै गाउँमा बस्ने उनीलाई पतिले छोरा जन्माउन सक्दिनस् भनेर जहिले पनि कुट्ने, गाली गर्ने र अपहेलना गर्ने गरेको उनी बताउँछिन् । ‘मेरो पाँच छोरी छन्, जेठीको बिहे भइसक्यो, जेठी छोरीको कोखबाट पनि छोरी जन्मेकी छ’, उनले भनिन्–‘तर मेरो उहाँलाई भने अझ छोरा चाहिएको छ।’ दुई महिना भयो पछिल्लोपटक गर्भपतन भएको । यससँगै गर्भपतन भएको चारपटक भइसक्यो ।

कतिपटक त उहाँले जाँच्न लगेर पनि गर्भपतन गराउन लगाउनुभयो । कतिपटक आफैँ कोख रित्तियो । शरीर नै कमजोर भइसकेको छ । पहिलाजस्तो काम पनि गर्न सकिँदैन । घरगृहस्थी गर्न छाड्ने हो भने छोरीहरूको पिर लाग्छ । उहाँले भने चौबीस घण्टा नै रक्सी खाएर कराउने गर्नुहुन्छ । कुरा गर्दै जाँदा पंक्तिकारको ‘सबैको हातमा हरियो चुरा छ तपाईंले लाउनु भएन् ? साउनमा हरियो चुरा, हरियो कपडा लगाउने हो भने पतिको आयु लामो हुन्छ भन्छन् त ?’ भन्ने जिज्ञासामा उनको जवाफले मलाई भित्रैदेखि हल्लायो ।

सीताको के को हरियो चुरा लाउनु र किन लाउनु बरु पतिको आयु घटाउने चुराको कुनै रङ हुन्छ भने त्यस्तो लाउने थिएँ भन्ने जवाफले सोच्न वाध्य बनायो । म अच्चम्ममा परे अनि भने किन यस्तो दिदी ? उनको आँखाबाट बर्बती आँसु बग्न थाल्यो र एकछिनपछि उनले भनिन्, ‘पतिले माया गर्ने, छोराछोरी पाल्नलाई केही कमाएर ल्याउने भए पो पतिको लामो आयुको लागि धर्म, व्रत गर्नु।

जो पतिसँग सुत्दा भोलि बाँचिन्छ कि बाँचिदैन भन्ने डरका साथ ओच्छ्यानमा सुत्नुपर्छ, आँखा चिम्लिँदा घाँटी नै थिचेर मारदिन्छ कि भन्ने डरका साथ अबेर राती निदाएको पत्तो पाइँदैन यस्ता पतिको लामो आयुको होइन छोटो आयुको कामना गर्छु म । उनको मुखबाट शब्द नै रोकिएनन् उनी धाराप्रवाह भन्दै आफ्ना वेदनाहरू पोख्दै गइन् । तपार्इंहरूजस्तालाई पो साउन आउछ, तीज आउछ, दसैँ आउँछ, हाम्रा लागि त यो कुनै पनि चाड पर्व नआए पनि हुन्थ्योजस्तो लाग्छ ।

पोइले रक्सी खाएर माइत जान पनि दिँदैन र माइत आको छोरी बहिनीसँग पनि दुव्र्यवहार गर्छ । चाडपर्वमा माइत आएकी छोरी बहिनीलाई एक छाक मीठो खुवाउन त परै जाओस् चाहिने नचाहिने बोलेर छिट्टै फर्केर जाने बनाउँछ अनि केको चाडपर्व मनाउने ? आफूलाई माइती गएको वेला कोसँग सुतेर आइस् अब मेरो घरमा बस्न पाइँदैन भन्दै कुटपिट सुरु हुन्छ के गर्नु यो पिर त जुनीभरि रहिरहने भयो। तपार्इंलाई पतिले यस्तो दुःख दिन्छ भने किन सहेर बसिरहनुभएको छ त ?

मैले भने प्रहरीमा जाहेरी दिनु न । न्याय पाउनका लागि किन पहल गर्नुभएको छैन ? प्रहरीमा त गएकी छैन यहाँ गाउँमा ठूला बडामान्छेहरूसँग त कतिपटक छलफल गराइसके उनीहरूका अगाडि अबदेखि यस्तो गर्दिनँ भन्दै माफी माग्छ तर घर आएपछि फेरी उही कुटपिट अनि गालीगलौज सुरु हुन्छ । प्रहरीमा भने पनि केही दिनको सजाय भोगेर फेरी घर आउला अनि यो घरमा बस्न दिँदैन मेरा छोरीहरूको बिच्चल्ली हुन्छ भन्ने डरले जान सकेकी छैन ।

यस्तै शिद्धकुमाख गाउँपालिका–३ की एक महिला विगत तीन वर्षदेखि घरेलु हिंसाको चपेटामा छिन् । पक्तिकारसँगको भेटमा उनले पतिले आपूmलाई तीन वर्षदेखि बेवास्ता गरेको बताइन । काठमाडौंमा बस्दै आएका पति घरमा आउँदैनन् । घरमै बस्दै आएकी उनलाई परिवारका अन्य सदस्यहरूले घरमा बस्न दिएनन् । परिवारका सदस्यहरूले घरमा बस्न नदिएपछि उनी माइतीमा बस्दै आएकी छन् । एक छोराकी आमा उनलाई पतिले घरमा बसेमा ज्यान मार्ने धम्की दिने र घरमा बसेको वेला कुटपिट गरेको उनले बताइन ।

पतिले घरमा बस्नै नदिने जता जान्छेस जा म तँलाई अब मेरो घरमा बस्न दिन्नभन्दा कम्ती पीडा हुँदैन । उनले भनिन्, ‘कम्तीमा पनि आफूलाई के कारणले पतिले बेवास्ता गरेको भन्ने थाहा भए चित्त बुझाउन सजिलो हुन्थ्यो । हामी जस्तालाई त के हरियो चुरा, के मेहेन्दी अनि के चाडवाड । यी त केबल प्रतिनिधि घटना मात्र हुन । महिलाहरूको एउटा ठूलो तप्का जसकोे मनको कालो पखालिन नसक्दा साउनको हरियोले अहिले छुन सकेको छैन ।

ग्रामीण भेगका अधिकांश महिलाहरूको उस्तै पीडा लुकेको छ। कतिपयले पतिबाट त कतिपय महिलाले घरपरिवारका अन्य सदस्यबाट कुनै न कुनै तरिकाबाट हिंसा भोग्नु परिरहेको छ। ज्योतिषहरूका अनुसार पनि हरियो रंग सौभाग्यको रंग मानिन्छ । साथै साउन महिनामा प्राकृतिक रूपमा पनि जताततै हरियाली छाएको हुन्छ जसका कारण जताततैको हरियालीले सबैको मनलाई मोहित पार्ने गर्दछ ।

यो महिनामा मानिस प्रकृतिसँग आफूलाई जोड्न चाहन्छ । यस महिनाले प्राकृतिक रूपले हरियालीका साथै मनलाई छुट्टै आनन्दको अनुभूति दिलाउँछ । साउन महिनामा शिवजीको पूजाआजा र भक्ति गर्नाले मनले सोचेको मनोकामना पूर्ण हुन्छ भन्ने मान्यता पनि रहँदै आएको छ । तमाम रूपमा एउटा वर्गमा साउने उमंगका कारण यस्तो देखिएता पनि ग्रामीण भेगमा रहेका महिलाहरूको अवस्था भने अलि फरक छ। ग्रामीण क्षेत्रमा महिलाहरूको एउटा ठूलो तप्का महिला हिंसाको चपेटामा छन् ।

पीडित महिलाहरूले जति पूजा गरे पनि, जति हरियो लगाए पनि र जति कोसिस गरे पनि हिंसाको घेराबाट माथि उठ्न नसकेको यथार्थ हाम्रै अगाडि छर्लंग छ । साउनको हरियो प्रकृतिजस्तै आफूलाई पनि हरियो हराभरा बनाउने र जिन्दगीको मज्जा लिने रहर कसलाई पो नहुँदो हो र तर साउन महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिक हुन अनि प्रकृतिको मनोरम लाभ लिन खोजे पनि प्रकृतिले समेत आफूलाई जिस्काइरहेको भान उनीहरूलाई हुन्छ ।

तर, पारिवारिक काम र पारिवारिक हिंसाले थिलथिलो परेका पीडितका मनमा साउनमा हरियो लगाउँदा प्रकृतिको साथ रहने र भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने कुरामा रतिभर विश्वास छैन । परिवारलाई रिझाउनु र कामधन्दा गर्नु नै उनीहरूको दैनिकी हुन्छ जसमा उनीहरूमाथि हुने पारिवारिक र घरेलु हिंसा त छँदै छ ।  यो या त्यो कारण देखाएर महिलाहरूलाई हिंसामा पारिँदै आएको छ। अथवा कतिपय घटनामा त विनाकारण पनि महिलाहरूले हिंसा भोग्नु परिरहेको छ ।

हिंसामा परेका महिलाहरूका लागि आउने चाडवाडहरू उनीहरूको उमंग र हाँसोका लागि होइन नुनचुक छर्केर जाने उत्सव बनिरहेका छन् । अर्कातर्फ सहरीया महिलाहरू तडकभडकपूर्ण जीवनशैलीमा रमाइरहेका छन् । जसले ग्रामीण महिला र सहरीया महिलाबीच ठूलो खाडल सिर्जना गरेको छ । अर्कोतर्फ ग्रामीण महिला जो घरबाटै हिंसापीडित भएर बाँचिरहेका छन् । उनीहरूले भोलिको सम्बन्ध हेरेर आफ्नै घरपरिवारविरुद्ध कानुनी प्रक्रियामा आउन सकेका छैनन् भने हिंसालाई भित्रभित्रै दबाएर बाँचिरहेका छन् ।

यसका लागि राज्यले उपयुक्त नीति बनाउनु आवश्यक छ। राज्यले सबै महिलालाई एउटै नीति बनाएर हेरेकै कारण हिंसापीडित महिलाहरू हिंसा सहेरै बाँचिरहेका छन् । अर्कोतर्फ संघसंस्थाका सामाजिक अभियान पनि परियोजनामुखि छन् जसले दिगो रूपमा लिन सकेका छैनन् । राज्यले यस्ता पीडित महिलाहरूका लागि ठोस कदम नचाल्दासम्ममा यस्ता अदृश्य तथा भयानक महिला हिंसाबाट ग्रामीण भेगमा महिलाहरू युगौँयुगसम्म पीडित भइराख्नुपर्नेछ ।

प्रतिक्रिया