मंगल ग्रहमा भेटियो पानीको ताल

एजेन्सी । अनुसन्धानकर्ताहरूले मंगल ग्रहमा तरल अवस्थामा पानी रहेको प्रमाण फेला पारेका छन् । उनीहरूले फेला पारेर प्रस्ताव गरेको ‘जलाशय’ सो ग्रहको दक्षिणी ध्रुवमा अवस्थित हिमवत् क्षेत्रमुनि रहेको र त्यो झन्डै २० किलोमिटर चौडा रहेको उल्लेख गरिएको छ ।

यसअघि गरिएका खोज अनुसन्धानहरूले मंगल ग्रहको सतहमा कहिलेकाहीँ मात्र अस्थायी रूपमा पानी बगेको हुनसक्ने देखाएका थिए । तर, स्थायी रूपमा नै तरल अवस्थामा पानी फेला परेको देखाउने यो पहिलो प्रमाण हो ।

यसअघि नासाको क्युरिओसिटी रोभर भनिने अन्तरिक्ष वाहनले पुराना र सुख्खा तालहरूका पिँधको अन्वेषण गर्दा त्यहाँ पहिला पानी रहेको पत्ता लागेको थियो । तर पातलो वायुमण्डल भएकाले सो ग्रह चिस्सिएकोले पानी हिउँ भएर जमेको छ ।

फेला परेको ताल मंगल ग्रहको दक्षिणी ध्रुवमा हिउँमुनि रहेको छ । मंगल ग्रहको परिक्रमा गरिरहेको ‘मार्स एक्स्प्रेस’ नामक भूउपग्रहमा जडित मार्सिस नाम गरेको रेडार उपकरणको प्रयोग गरेर यो पछिल्लो तथ्य पत्ता लगाइएको हो ।

उक्त अनुसन्धानको नेतृत्व गरेका इटालियन न्याश्नल इन्स्टिट्युट फर एस्ट्रोफिजिक्सका प्रा. रोबर्टो ओरोसेई भन्छन, ‘सम्भवतः यो त्यति विशाल ताल होइन ।’

मार्सिसले त्यस्तो पानी तालको तहको गहिराइ निक्र्याेल गर्न नसके पनि अनुसन्धान टोलीले त्यो कम्तीमा पनि एक मिटर जति हुनसक्ने अनुमान गरेको छ ।

‘यसबाट त्यसले जलाशयको योग्यता प्राप्त गर्छ । यो ताल नै हो, पृथ्वीमा जस्तो हिमतालको हिउँ पग्लिएर बगेको पानी चट्टान र बरफको बीचको भाग भरिएर रहे जस्तो होइन्’ उनले भने ।

मार्सिसजस्ता रेडार उपकरणले ग्रहको सतह र त्यसमुनि रहेको अर्को तहमा संकेत पठाएर फर्केको प्रतिसंकेतको परीक्षण गर्छन् । यही विधि प्रयोग गरेर मंगल ग्रहमा पानी रहेको प्रमाण फेला पारिएको प्रा. ओरोसेई बताउँछन् । तर यो खोजले मंगल जीवनको सम्भाव्यताका सम्बन्धमा कुनै विशेष अर्थ राख्दैन ।

ओपन युनिभर्सिटीका डा. मनीष पटेल भन्छन, ‘हामीलाई धेरै पहिलादेखि नै मंगलको बाहिरी सतह जीवनका लागि अनुपयुक्त छ भन्ने थाहा छ । त्यसैले अहिले मंगलमा जीवनको खोजी त्यसमुनिको तहमा हुँदैछ ।’

‘त्यस्तो स्थानमा नै हामी हानिकारक विकिरणबाट पर्याप्त सुरक्षा पाउनसक्छौँ । र, त्यहाँ नै चाप एवं तापक्रम बढ्न गई अन्य स्थानको दाँजोमा उपयुक्त स्तरमा पुग्ने गर्छन्’ उनी भन्छन, ‘तर सबैभन्दा महत्त्वपूर्ण कुरा के भने यसले जीवनका लागि अत्यावश्यक हुने पानीलाई तरल अवस्थामा रहन दिन्छ ।’ बीबीसीकाे सहयाेगमा तयार पारिएकाे ।

प्रतिक्रिया