डा. केसीको अनशनभित्र घुसेको षड्यन्त्र

नेपालमा भारतीय पक्षबाट नाकाबन्दी लगाउँदा नाकाबन्दी गर्नु जायज हो । त्यो भारतीय सरकारको अधिकार हो भनेर लेख लेख्नेहरू, नाकाबन्दी लगाउँदा भारतलाई उक्साउनेहरू, संविधान सभाबाट संविधान घोषणा गर्न अवरोध गर्नेहरू, विदेशीको सहयोगमा गैरसरकारी संस्थामार्फत मानवअधिकारको खेती गर्नेहरू, आन्तरिक राजनीतिमा खलल दिई नेपालको राजनीतिमा आफ्नो पकड बनाई राख्न चाहनेहरूको उद्देश्य पूरा गर्न र नेपाललाई अर्काे कुचक्रमा फसाउन चाहनेहरू नै डा. केसीको अनशन प्रकरणका योजनाकार हुन भन्ने प्रमाण जुट्दै छ ।

 

आनन्दप्रसाद पोखरेल

आनन्दप्रसाद पोखरेल  ‘नेकपा’को सरकार सञ्चालन भएको पाँच महिना बित्दै छ । सरकारको बारेमा तीव्र प्रतिक्रिया र आलोचना सुरु भएको छ । सरकारले जनअपेक्षाको सम्बोधन गरेन । डा. गोविन्द केसीको माग सम्बोधन भएन । त्यसैको नाममा १५आैँ संस्करणको रूपमा फेरि अनशन बसेका छन् । माथेमा आयोगको प्रतिवेदन हुबहु कार्यान्वयन गर्नुपर्छ ।

अहिले डा. केसीको मागलाई स्वास्थ्य शिक्षा जनताको आधारभूत मौलिक हक र संवैधानिक अधिकारको रूपमा व्याख्या गर्दै प्रचारबाजी गरिएको छ । सरकारले अनशनरत डा. केसीको माग हुबहु पूरा गर्नुपर्छ। काठमाडौंमा मेडिकल कलेज खोल्न पाइँदैन । सरकार र विश्वविद्यालयले थप मेडिकल कलेज खोल्न सहमति दिन पाइँदैन भन्दै सडक र सदनमा वितण्डा मच्चाइएको छ ।

आज यो मागका प्रवक्ता विवेकशील साझा पार्टी, नेपाली कांग्रेस, जन्मजात कम्युनिस्ट सिद्धान्तलाई अस्वीकार गर्ने शक्ति, अर्काका लागि काम गर्ने मानसिक दासहरू, पुराना मेडिकल कलेजका सिन्डिकेट धारीहरू, १० वर्षसम्म मेडिकल कलेज काठमाडौंमा खोल्न पाइँदैन भन्दै तातो घाममा सडकमा नारा लगाउँदै छन् । जागिरे डाक्टरहरू गलामा स्टेस्थेस्कोप भिरेर विरामीको उपचार गर्नुपर्नेमा प्लेकार्ड बोकेर नारा लगाउँदै हिडेका छन् ।

डा. केसीको जीवन रक्षाको नारा लगाउँछन् तर उपचार गर्दैनन् । डा. केसी आफ्नो मर्यादा र कर्तव्य बिर्सेर गैरसंवैधानिक र गैरकानुनी काम गर्दै छन् । कथित मागको नाममा संविधान, कानुन र सदनको अधिकार अनशनको कब्जाभित्र लिएर, यही हतियारको प्रयोग गर्दै सबै चिजलाई बन्धक बनाउन चाहने तत्व केसीको शिर र वरिपरि छन् ।

यही चाहनालाई साथ दिएर प्रतिपक्षका उपद्रोकारी तत्वहरू शान्तिपूर्ण प्रदर्शनको नाममा सडकमा उपद्रो मच्चाउँदै तोडफोडमा उत्रेका छन् । डा.केसीको अनशनको मूल चुरो, कम्युनिस्ट सरकारको विरोध, कम्युनिस्ट विरोधीहरूको माग पूरा गर्न, दुईतिहाइ बहुमतलाई त्यही अनशनको बलमा विस्थापित गर्ने र जनआन्दोलनबाट प्राप्त संवैधानिक अधिकार छिन्न चाहनेहरूको गोटी बनेका छन् ।

संघीयता, धर्म निरपेक्ष तथा, गणतन्त्र र जनताको समृद्धि धरापमा पार्ने वा खारेज गर्ने योजनका साथ प्रतिपक्षले गरेको दीर्घकालीन षड्यन्त्र हो । कथित केसी समर्थकहरूको चेहरा र वैचारिक अडान हेर्दा विगतमा स्वदेशी तथा विदेशी प्रतिक्रयावादीहरूको गोटी बनेर राष्ट्र, जनता र लोकतन्त्रलाई सौदावाजी गर्ने व्यक्ति र शक्तिहरू नै सडकमा छन् । डा. सुन्दरमणी दीक्षित भन्छन्, ‘दुईतिहाइ बहुमतको सरकारलाई सडकको बलमा झुकाउन मिल्छ ?

मेडिकल कलेजको माफियागिरी र अपराधलाई रोक्नु भनेका नयाँ कलेज खोल्न नदिनु हो, अनशनकै बलमा स्वास्थ्यसम्बन्धि विधेयक निरूपण हुनसक्छ ? यो सदनको आफ्नो अधिकार क्षेत्रभित्रको विषय हो । सडक तथा अनशनबाटै पुरानो अध्यादेश हुबहु हुनुपर्छ भन्नेहरूलाई विदेशीहरूका भरिया हुन् भनेर किन नभन्ने ? मानवअधिकारको नाममा युरोपियन युनियनको पैसा लिई मुलुकलाई जातिय, भाषिक, लैंगिक विभेदको भूमरीमा धकेली नेपालमा अस्थिरता खडा गरेर नेपालीलाई ध्रुवीकृत गर्न खोज्ने तत्व हुन् ।

विगतमा संविधान बनाउन नदिने तत्व हुन् । अन्यथा किन सडकमा यो तमासा ? एउटा डाक्टरको नाममा यस्ता राष्ट्र विरोधी चरित्र बोकेर ७० वर्षपछि मुलुकले प्राप्त गरेको बहुमतको सरकारलाई पाँच महिना नपुग्दै यो वितण्डता किन ? सत्य वास्तविकता यही हो । मलाई यहाँनेर दया लाग्छ । नेपालको पुरानो र ठूलो प्रजातान्त्रिक दल नेपाली कांग्रेस आफ्नो मुद्दालाई नबोकी डा. केसीको मुद्दामा किन बहकिन्छ ।

ऊ आफूलाई संसदीय राजनीतिको पिता र प्रवक्ता ठान्छ । सभापति शेरबहादुर देउवाजीले कांग्रेस र कांग्रेस संस्कार बिर्सनु भयो । उहाँमा पनि हारको पीडा र कम्युनिस्ट विरोधी फोवियाले ग्रस्त भएर वामपन्थी सरकार ढाल्ने गैरसंवैधानिक बाटो अख्तियार गर्नु भएको देखिन्छ । यो कांग्रेसको समाप्तिको बाटो हो ।कांग्रेस यति एजेन्डाविहीन गैरलोकतान्त्रिक चरित्र देखाउँछ भन्ने लागेको थिएन । गोरुलाई राम–राम भन्न सकिन्छ तर भिरबाट लड्नबाट जोगाउन सकिँदैन ।

अहिलेको परिस्थितिलाई विश्लेषण गर्ने हो भने यो आन्दोलन असल नियतले जनता, राष्ट्र र स्वास्थ्य क्षेत्रको सुधारका लागि किमार्थ होइन । स्वास्थ्यमा जनताको पहुँच कायम गर्न गरिएको होइन । सबै प्रतिक्रयावादी तागत मिलेर घुसपैठ गरेर सिधै यो केपी ओली सरकारको विरुद्ध र कम्युनिस्टको विरुद्ध नभनी अनशनरत डा. केसीको जीवन रक्षाको संवेदनशीलतामा कम्युनिस्टविरुद्धको मन्द विष हो ।नेपालमा भारतीय पक्षबाट नाकाबन्दी लगाउँदा नाकाबन्दी गर्नु जायज हो ।

त्यो भारतीय सरकारको अधिकार हो भनेर लेख लेख्नेहरू, नाकाबन्दी लगाउँदा भारतलाई उक्साउनेहरू, संविधान सभाबाट संविधान घोषणा गर्न अवरोध गर्नेहरू, विदेशीको सहयोगमा गैरसरकारी संस्थामार्फत मानवअधिकारको खेती गर्नेहरू, आन्तरिक राजनीतिमा खलल दिई नेपालको राजनीतिमा आफ्नो पकड बनाई राख्न चाहनेहरूको उद्देश्य पूरा गर्न र नेपाललाई अर्काे कुचक्रमा फसाउन चाहनेहरू नै डा. केसीको अनशन प्रकरणका योजनाकार हुन भन्ने प्रमाण जुट्दै छ ।
निर्वाचनपछि के.पी.ओलीको वामपन्थी सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास, समृद्धि र सुखी नेपालीको सुन्दर खाका प्रस्तुत ग¥यो । विगतका सरकारले संस्थागत रूपमा हुर्काइएका विकृतिहरू यातायातको सिन्डकेट, भ्रष्टाचार नियन्त्रण, सुन तस्करी, राजस्व चुहावटमा नियन्त्रण र कर्मचारी र ठेकदारमाथि कारबाही गैरसरकारी संस्थाको अपादर्शीता, सामन्ती शोषण र दमन, कालाबजारीको प्रतिकार गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासनयुक्त जनशासन भन्ने नारा दियो ।

सरकार त्यही योजनाका साथअगाडि बढ्ने प्रक्रियामा भएकै वेला यी सबै ताकतहरू डा. केसीको अनशन प्रकरणको हिस्सा बनेका छन् । आज डा. केसीप्रति समर्थन गर्नहरू भनेका यिनै हुन् । मैले अझैँसम्म निक्र्योल गरेको छैन । सबै कांग्रेस यही वितण्डता पक्षमा छन् वा छैनन् ।

अहिलेको सत्ताविहीन कांग्रेसजनहरू यो अस्थिरताको पक्षमा छैनन् होला । तर, लामो समयदेखि सत्तासिन भएको कांग्रेस तत्कालै सत्ता पुनः प्राप्तिका लागि गैरराजनीतिक एजेन्डामार्फत राष्ट्रमा वितण्डा मच्चाएर सत्ता प्राप्त गर्न सकिन्छ कि भन्ने लोभमा देखिन्छ ।कांग्रेसको सिद्धान्तमा विश्वास गर्ने मध्यमवर्ग र कथित केही बुद्धिजीवीहरू, स्वास्थ्य क्षेत्रमा एकलौटी हालीमुहाली चलाएका खास तत्वहरूलाई उकासेर डा. केसीको आन्दोलनको नेता बनाइएका छन् । मिडिया परिचालन गराइएका छन् ।

ठूला दैनिक पत्रिकाका सम्पादकहरू सडकमा आएका छन् । देशबाट विभिन्न वहानामा विदेशीएका र अहिले विदेशको पि.आर, नागरिकता लिएकाहरू नेपालमा मानवअधिकार हनन् भयो प्रेसमाथि दमन भयो भन्दै कम्युनिस्ट विरोधी प्रक्रियावादीहरूको इसारामा कथित जीवन रक्षाको नाममा हस्ताक्षर संकलन अभियान नै सञ्चालन गरी संयुक्त राष्ट्रसंघ गुहार्ने तरखर गर्दै छन् ।

यो ओली सरकारलाई बदनाम गर्ने कमजोर बनाउने, किनारा लगाउने अभियानमा समेत लागेका छन् भन्ने तथ्य सार्वजनिक भएको छ ।  तथ्य यति राम्रोसँग बाहिर आएका छन् कि यो कथित डा. केसी अनशन प्रकरण केपी ओलीप्रतिको पूर्वाग्रह र विरोधका लागि हो । न कि आधारभूत मेडिकल क्षेत्रको सुधार, जनताको आधारभूत स्वास्थ्य अधिकारको पक्षमा ।

यो लोकप्रिय मतबाट निर्वाचित केपी ओलीको वामपन्थी सरकारको विरुद्ध वैचारिक र सैद्धान्तिक विषयको विरुद्धमा हो । यो सरकार ढाल्ने र पुनः दलाल नोकरशाही पुँजीवादको शक्तिलाई बहाली गर्न र कम्युनिस्टलाई नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय मञ्चमा समेत बदनाम गर्नका लागि सुरुवाती आन्दोलनको रूप हो । त्यसैले, व्यक्तिगत रूपमा यो स्तम्भकार केसीप्रति सहानुभूति राख्नसक्छ ।

उनले उठाएका मागमा सुन्दर पक्ष पनि देखिएला केही मुद्दा जनताका मन छुने पनि होलान् । मानवीय संवेदनशीलता पनि रहला । तर, यो आन्दोलनको केन्द्रबिन्दु सिंगो रूपमा कम्युनिस्ट सरकार केपी ओलीको अवसानको मुख्य लक्ष्य हो । यो अनशन प्रकरणले त्यही बाटो समातेको छ । वकालत भएको छ ।

अब नेपालको स्वाभिमान, अस्मिता, राष्ट्र र संविधानको रक्षा जनताको दुईतिहाइ मतको रक्षा र प्रतिनिधित्व नेपाली जनतालाई मौलिक हकको प्रत्याभूतिका लागि प्रथम त सबै कम्युनिस्टहरू, वामपन्थीहरू, राष्ट्रवादीहरू, न्याय र समानताको पक्षपातीहरू, मुलुकमा दिगो र स्थिर सरकार चाहने शान्ति र समृद्धिका पक्षपातीहरू डा. केसी प्रकरणको चक्रव्यूहबाट मुक्त हुँदै राष्ट्रिय, सिद्धान्त, संविधानको कार्यान्वयन र विकास र उन्नतिका लागि एकजुट हौँ ।

सबैखाले प्रतिक्रियावादी षड्न्त्रबाट देशलाई मुक्त गरौँ । डा. केसीको जीवन रक्षाका लागि उपचारमा केन्द्रित हौँ । केसीलाई कम्युनिस्टविरुद्धको कुचक्रबाट मुक्त गर्न पहल र कोसिस गरौँ । (लेखक नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन् )

प्रतिक्रिया