राजनीति र धर्म–संस्कृतिको अन्तर सम्बन्ध

‘बिपी कोइरालाको मान्यता थियो, ‘संस्कृति भनेको बगेको पानी जस्तो हुनुपर्छ, यदि जमेको पानी जस्तो भयो भने आन्तरिक फोहोरबाहिर जान पाउँदैन साथै बाहिरी फोहोर मिसिन्छ र झन् दुर्गन्धित हुँदै जान्छ ।’ नेपालीहरूको शैक्षिकस्तर जुन अनुपातमा बढेको छ त्यो अनुपातमा सांस्कृतिक चेतनाको स्तर बढाउने प्रयत्न भएको पाइँदैन । जसका कारण हाम्रो संस्कृति जमेको पानी जस्तै त भएको छैन ?’

अञ्जु कार्की हरेक वर्षको साउन ६ गतेजस्तै यस वर्षको साउन ६ गते पनि नेपाली कांग्रेसले बिपी कोइरालाको स्मृति दिवस मनायो । सधैँ झैँ नेताहरूले भाषण गरे कार्याकर्ताहरूले ताली पिटे । यही कुरा विगत ३६ वर्षदेखि निरन्तर दोहोरी रहिरहेकोछ । एउटै कुरा सधैँ दोहोर्याइ रहने संस्कृतिलाई कर्मकाण्ड भनिन्छ ।

बिपी स्मृति दिवसलाई पनि नेपाली कांग्रेसले वार्षिक श्राद्धजस्तै बनाएको छ अर्थात् श्राद्धको शैलीमा नै बिपी स्मृति दिवस मनाउँदै आएको छ। श्राद्धमा पुरोहितले किताब पढ्दै जे जे गर्न भन्छ कर्ताले त्यही त्यही गर्छ । दुई÷चारपटक श्राद्ध गरिसकेपछि त कर्ताले पनि पुरोहितको निर्देशनविना आफैँ पूजा गर्न सक्नुपर्ने हो तर त्यस्तो हुँदैन ।

श्राद्ध सकिन्छ, कर्ताले पनि के के पूजा गरे ? भन्ने बिर्सन्छ । अनि ‘जसो जसो बाहुन बाजे उसो–उसो स्वाहा’ भन्ने उखान सधैँ दोहोरी रहन्छ। अहिले त नेपाली कांग्रेसमा पुरोहित र कर्ता पनि नयाँ आइसकेका छन् ।

हिजोसम्म गिरिजाप्रसाद कोइराला पुरोहित थिए अहिले शेरबहादुर देउवा छन् । गिरिजाप्रसाद र सुशील कोइरालाले त बिपीका विचारहरू आफूले आत्मासात गरेर कार्यकर्तासम्म पुर्याउन नसकेको टिप्पणी भइरहेको वेला देउवाले बिपीका विचार के कति आत्मासात गर्न सकेका छन् ?  र कार्यकर्तासम्म के कति पुर्याउन सकेका छन् ? भन्ने प्रश्नको उत्तर अनुत्तरित छ ।

यस छोटो आलेखमा बिपी कोइरालाको राजनीतिक दर्शनको व्याख्या विश्लेषण गर्ने जमर्को गरिएको होइन । त्यो सम्भव पनि छैन । बिपी कोइराला दूरदर्शी राजनेता मात्रै नभएर बहुआयामिक व्यक्तित्वका धनी हुन् । राजनीतिका अलवा साहित्य तथा संस्कृतिमा उनले पुर्याएको योगदान कम महत्वपूर्ण छैन । बिपीको राजनीतिक योगदानका विषयमा जति धेरै पुस्तक तथा लेखहरू प्रकाशित भएका छन् त्यति कुनै पनि नेपालीको विषयमा भएका छैनन् ।

बिपी कोइरालाको साहित्यिक योगदानका बारेमा जति पुस्तक तथा लेखहरू प्रकाशित भएका छन् त्यति नेपालका थोरै मात्रै साहित्यकारका बारेमा भएका छन् । तर, मुलुकका सांस्कृतिक पक्षलाई सुधार गर्न बिपी कोइरालाले जुन खालको योगदान पु¥याएका छन् त्यसबारे थोरै मात्र चर्चा भएको छ । जबकि बिपीले दिएको सबैभन्दा ठूलो योगदान भनेको सामाजिक तथा सांस्कृतिक चेतनाको क्षेत्रमा हो ।

तर, यस विषयमा स्वयं बिपी कोइरालाले निर्माण गरेको पार्टीका नेताहरू बेखबर छन् । उदाहरणका लागि तत्कालीन एमालेका नेता माधवकुमार नेपाल आफ्ना माता पिताको निधनपछि कर्मकाण्डमा सरिक भएनन् , तत्कालीन माओवादीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आफ्ना पिताको निधनपछि कर्मकाण्डमा सामेल भएनन् । यस विषयमा समाजको परम्परावादी तप्काले विरोध जनाउनु स्वाभाविक थियो ।

तर, त्यो विरोधको लाइनमा सबैभन्दा बढी नेपाली कांग्रेसकै कार्यकर्ता उभिए । त्यति वेलामा समाजिक सञ्जाल तथा मिडियाहरू हेरे हुन्छ सबैभन्दा ठूलो आपत्ति नेपाली कांग्रेसकै कार्यकर्ताहरूले प्रकट गरेको देखिन्छ । जबकि यो मामिलामा बिपी कोइरालाको दृष्टिकोण थियो, ‘मान्छे मरिसकेपछि गरिने कर्मकाण्ड फगत अन्धविश्वास हो, आफ्ना आमाबाबुको जिउँदो हुँदै सेवा गर्नु, मरेपछि गरिने सेवाको खासै अर्थ छैन ।’

बिपीले आफ्नो मृत्युपछिको कर्मकाण्डसमेत नगर्न निर्देशन दिए । बिपीको मृत्यु पछिको कर्मकाण्ड गरिएन । आज भन्दा ३६ वषअघिको मात्रै घटना भएकाले कांग्रेसका अहिलेका माथिल्लो पुस्ताका नेता तथा कार्यकर्ताहरू यो घटनाको साक्षी हुन् । तर, उनीहरू नै माधव नेपाल र ‘प्रचण्ड’ आफ्ना बाबुआमाको मृत्युपछिको कर्मकाण्डमा सामेल नभएको भन्दै सबैभन्दा चर्को आलोचनामा उत्रे ।

अब नेपाली कांग्रेसका यी नेताबाट बिपी कोइरालाले अघि बढाएको संस्कृति सुधारको मार्ग चित्रबारे नेपाली कांग्रेसको नयाँ पुस्ताले के सिक्ने ? सांस्कृतिक क्षेत्रमा देखा परेका विकृति विसंगतिका बारेमा बिपी कोइरालाले लेख तथा भाषणमाभन्दा आफ्नै जीवन शैलीमा बढी उतारेका थिए । तर, बिपीको जीवनशैली देख्ने पुस्ताले अनुसरण गर्न सकेनन् । वास्तवामा ०७ सालको क्रान्ति जहानियाँ राणा शासन ढालेर प्रजातन्त्र स्थापनाका लागि मात्रै होइन शैक्षिक, सामाजिक तथा सांस्कृतिक चेतनाका दृष्टिले पनि ज्यादै महत्वपूर्ण छ ।

०७ सालको क्रान्तिको राजनीतिक उपलब्धि स्थायी हुन नसकेपनि शैक्षिक, सामाजिक तथा सांस्कृतिक उपलब्धिहरू निरन्तर विकसित हुँदै आइरहेका छन् । शैक्षिक, सामाजिक तथा सांस्कृतिक चेतनाले नै राजनीतिलाई गाइड गर्छ । यदि नेपालीहरूमा प्रयाप्त शैक्षिक, सामाजिक तथा राजनीतिक चेतना जागेको नहुँदो हो त गणतन्त्र सम्भव थिएन ।

बिपी कोइरालाको मान्यता थिया, ‘संस्कृति भनेको बगेको पानी जस्तो हुनुपर्छ, यदि जमेको पानीजस्तो भयो भने आन्तरिक फोहोरबाहिर जान पाउँदैन साथै बाहिरी फोहोर मिसिन्छ र झन् दुर्गन्धित हुँदै जान्छ।’ नेपालीहरूको शैक्षिकस्तर जुन अनुपातमा बढेको छ त्यो अनुपातमा सांस्कृतिक चेतनाको स्तर बढाउने प्रयत्न भएको पाइँदैन । जसका कारण हाम्रो संस्कृति जमेको पानी जस्तै त भएको छैन ? भन्ने प्रश्न उठ्न थालेको छ ।

हामीले हाम्रा संस्कृतिमा भएका कतिपय कुसंस्कारहरू अझै त्याग्न सकेका छैनौँ, बरू अरूको संस्कृतिका कुसंस्कारहरू धमाधम ग्रहण गरिरहेका छौँ । बिपी कोइरालाको भनाइ थियो, ‘विकसित देशहरूले अविकसित देशबाट राम्रा संस्कृतिहरू ग्रहण गर्दछन् भने अविकसित देशहरूले विकसित देशबाट नराम्रा संस्कृति ग्रहण गर्दछन् । आज हामी कहाँ त्यही भइरहेको छ । हामीले आफ्नो संस्कृतिका राम्रा पक्षहरूलाई भन्दा विकृत पक्षहरूलाई अघि बढाइरहेका छौँ, विदेशी संस्कृतिका राम्रा पक्षलाई होइन नराम्रा पक्षलाई अपनाइ रहेका छौँ ।

उदाहरणका लागि सडकमा गाई डोर्याएर हिँड्नेलाई हामी असभ्य र पाखे भनी हेला गछौँ, तर सडकमा कुकुर डो¥याएर दिशा–पिसाव विसर्जन गर्न ल्याउनेलाई सभ्य र सुसंस्कृत ठान्दै नमस्कार गर्छौं । पीपलको पूजा गर्ने, तुलसी र शालिग्रामको पानी खाने संस्कृतिलाई असभ्य भन्ने र ‘प्रभू येशु’ को प्रार्थना गर्यो भने सबै रोग ठीक हुन्छ भन्ने जमात् हाम्रो मुलुकमा बढ्दै गएको छ ।

तर, पश्चिमाहरूले यशुको दर्शन गर्दा सबै रोग ठीक हुन्छ भन्ने कुसंस्कारलाई त्यागिसके । अक्सिजन दायिनी पीपलको रूखमुनि बसेर ध्यान गर्न थालिसके, शालिग्राम डुबाएको पानीमा व्याक्टेरिया नष्ट हुने वैज्ञानिक तथ्य उनीहरूले पुष्टि गरिसके, तुलसीको महत्व बुझेर अनेकथरी रोगका औषधी तयार पारिसके । गौमूत्रको महत्व बुझेर गाई संरक्षणमका लागि मानिसहरू जुटिसके ।

हामी कहाँ गाई काटेर मासु खान पाउनुपर्छ भन्नेहरूको जमात् बढ्दै छ । वेदमा लेखिएको, ‘पानीबाट आगो निस्कन्छ’ भन्ने मन्त्रलाई हामीले घोकेर मात्रै बस्यौँ तर पश्चिमाहरूले यही मन्त्रलाई अनुसन्धान गर्दै जलविद्युत् निकाले । हामीले हाम्रा धर्म संस्कृति भित्रका वैज्ञानिक पक्षहरूलाई त्याग्दै केवल कर्मकाण्डी, ढोँगी प्रवृत्तिलाई निरन्तरता दियौँ तर पश्चिमाहरूले हाँसले पानीबाट दूध छानेझैँ गरी हाम्रो धर्मसंस्कृतिका वैज्ञानिक पक्षलाई अनुशरण गर्दै ठूलो प्रगति गरिरहेका छन् ।

तर, हामी कहाँ भने कर्मकाण्ड भनेकै धर्मसंस्कृति हो भन्ने जमात् अझैँ घटेको छैन । किन घटेन त ? काठमाडौंको बुढानिलकण्ठमा आश्रम तथा विद्यालय सञ्चालन गरेर बसेका स्वामी चन्द्रेशको अन्तर्वार्ता करिब एक दशकअघि एक साप्ताहिकमा छापिएको थियो । उनलाई प्रश्न गरिएको थियो– यतिन्जेल नेपालमा धर्म तथा संस्कृतिको रक्षा राजाले गर्दै आएका थि, अब गणतन्त्र आयो, नेपालको धर्म संस्कृतिको अवस्था के होला ? उनको जवाफ थियो, ‘अब नेपाल धर्मसंस्कृतिका दृष्टिले विश्वकै समृद्ध बन्नेछ ।’ कसरी ?

भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘धर्मसंस्कृतिका दुई पक्ष हुन्छन्, एउटा ज्ञान मार्ग र अर्को भक्ति मार्ग, यी दुवै पक्ष जब समानान्तर रूपमा अघि बढ्छन् तब मात्रै देशको धर्म संस्कृति समृद्ध बन्छ, एउटा पक्षले मात्रै निरन्तरता पायो भने लंगडो हुन्छ, अहिलेसम्म नेपालमा भक्तिमार्गले मात्रै निरन्तरता पायो, ज्ञान मार्गलाई अघि बढ्न दिइयो भने आफ्नो शासन सत्ता ढल्छ भन्ने ठम्याइका साथ राणा तथा राजाहरूले भक्ति मार्गलाई मात्रै अघि बढाए, ज्ञान मार्ग संकुचित भयो ।

अब नेपालमा गणतन्त्र आएको छ, ज्ञानमार्ग पनि अघि बढ्नेछ, तपाईं लेखेर राख्नुहोस् अबको ४० वर्षपछि भारतबाट ज्ञान बाँड्न कुनै पनि साधु नेपाल आने छैनन् बरू, नेपालबाट ज्ञान बाँड्न धेरै साधुहरू भारत जानेछन् , नेपाल भनेको अष्टवक्र , गौतमबुद्धजस्ता तमाम महामानवहरूको जन्मभूमि हो ।’ राजनीतिलाई शुद्ध बनाउन धार्मिक, सांस्कृतिक जनचेतना जति महत्वपूर्ण हुन्छ धर्म तथा संस्कृतिलाई बगेको पानी जस्तो शुद्ध बनाउन राजनीतिको पनि त्यति नै महत्व हुन्छ । यो कुरा बिपी कोइरालाले राम्रोसँग बुझेका थिए ।

प्रतिक्रिया