आजबाट आकस्मिक बाहेकका सबै सेवा ठप्प

यसिमा महत

काठमाडौं । नेपाल चिकित्सक संघले आजबाट देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै संघले देशभरका सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्न अपिल गरेको हो ।

त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीको मागमा ऐक्यबद्धता जनाई उनको जीवन रक्षाको लागि भन्दै संघले आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेको हो । संघका महासचिव डा. लोचन कार्कीले आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गरिने जानकारी दिए । ‘यसअघि ४८ घण्टे अल्टिमेटम दियौँ, तर समय सकियो केही भएन, डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारको तर्फबाट ठोस पहल नभएपछि स्वास्थ्य संस्था ठप्प पार्न बाध्य भएका हौँ,’ महासचिव कार्कीले भने । आज हुने बन्द चिकित्सक र स्वास्थ्यकर्मीको आवाजलाई सरकारमा प¥याउन गरेको भन्दै अब पनि नसुने अनिश्चितकालीन बन्दमा उत्रिने चेतावनी कार्कीले दिए ।

संघले आजै माइतीघर मण्डलामा भेला भई सडक आन्दोलन गर्ने निर्णयसमेत गरेको छ । ‘डा. गोविन्द केसीको जीवन रक्षाका लागि आज देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्द गर्ने एवं माइतीघर मण्डलामा दिउँसो भेला हुने निर्णय भएको छ,’ पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ । डा. केसीको जीवन रक्षाको लागि चिकित्सा शिक्षा विधेयक फिर्ता लिनसमेत संघले सरकारलाई आग्रह गरेको छ । ‘सरकारले संवेदनशीलता अपनाउँदै हालको विवादास्पद विधेयकलाई अविलम्ब फिर्ता लिई पुरानै अध्यादेशलाई संसद्मा दर्ता गराउने कार्य गरी डा. केसीको जीवन रक्षाका लागि सार्थक वार्ता गर्न संघ सरकारसमक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि, सरकारले गत सोमबार शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव रहेको वार्ताटोली गठन गरेको थियो भने डा. केसीका तर्फबाट डा. अभिषेकराज सिंह, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अधिवक्ता ओमप्रकाश अर्याल रहेको वार्ता समिति गठन गरिएको थियो । डा. केसीका पक्ष र सरकारी वार्ताटोलीबीच सोमबार र मंगलबार भएका दुवै वार्ता विनानिष्कर्ष टुंगिएका थिए ।

डाक्टर केसीले तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहित मन्त्रीस्तरको वार्ता टोली नपठाएसम्म अर्को चरणको वार्ता नगर्ने अडान लिएपछि वार्ता टोलीबीच छलफलसमेत हुन सकेको छैन । दुई चरणको वार्तापछि डा. केसीको अडानले सरकारी वार्ता टोली नै अन्योलमा परेको छ । यता, सरकार पक्षले डा. केसीलाई काठमाडौंमा बोलाएर उनीसँगै वार्ता गर्ने अडान लिएको छ ।
सरकार उदासीन

डा. केसीको जीवन रक्षामा सरकार उदासीन भएको आरोपसमेत चिकित्सक संघले लगाएको छ । ‘असार १६ देखि जुम्लामा अनशन बसेका प्राडा केसीको जीवन रक्षाका निम्ति सम्माननीय प्रधानमन्त्री, शिक्षा मन्त्री, स्वास्थ्य मन्त्रीलगायत राजनीतिक दलका शीर्षस्थ नेताहरूलाई पार्टी कार्यालय तथा घरदैलोमा पुगेर जीवन रक्षाको निम्ति अपिल ग¥यौँ, तर उनको जीवन रक्षाका लागि सरकारको तर्फबाट कुनै पनि जिम्मेवारीबोध भएन,’ अस्पताल बन्द गरेर सडक आन्दोलनमा जानुको कारण जनाउँदै संघले भनेको छ ।
केसीलाई काठमाडौं ल्याउन मात्रै वार्ता टोली

डा. केसीलाई जुम्लाबाट काठमाडौं ल्याउन मात्रै सरकारले आफ्नो तर्फबाट वार्ता टोली गठन गरेको आरोप पनि संघले लगाएको छ । ‘यति गम्भीर परिस्थितिमा जुन खालको तदारुकता सरकारले देखाउनुपर्ने हो, त्यो देखिएको छैन । संविधानले नै स्वास्थ्य र शिक्षालाई मौलिक हकका रूपमा समावेश गरेको छ । त्यसैअनुरूप नागरिकलाई गुणस्तरीय स्वास्थ्य र शिक्षामा सहज पहुँच पु¥याउनुपर्नेमा सरकार नागरिकको आवाजलाई दबाउन खोज्ने, राज्यको तर्फबाट अफबाह फैलाउनेजस्तो अस्वभनीय कार्यप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य संस्थाबाटै सेवा दिने दुई चिकित्सक संघको निर्णय

काठमाडौं । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघ (एनएमए) ले डा. गोविन्द केसीको पक्षमा गरेका आन्दोलन र अस्पताल बन्द गर्ने निर्णयप्रति दुई चिकित्सक संगठनले विरोध जनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले चिकित्सक संघको निर्णय अवज्ञा गर्दै स्वास्थ्य संस्थामै सेवा दिने निर्णय गरेका हुन् ।

संघले आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेसँगै यी दुई संगठनले निर्णय अवज्ञा गरी संघको विपक्षमा उभिएका हुन् । दुवै संगठनले चिकित्सक संघको आन्दोलनको विरोध गर्दै अस्पतालबाट सेवा दिने निर्णय गरेका हुन् । सरकारी वार्ता टोलीले वार्ताबाटै सहमति खोजिरहँदा संघले अस्पतालको सेवा बन्द गर्ने कार्यक्रम गर्नु राम्रो नभएको राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. सन्तोष पौडेलले बताए ।

‘अस्पताल बन्द गर्ने कुरामा हामी साथ दिन सक्दैनौँ, स्वास्थ्य संस्था बन्द गरेर बिरामीमाथि खेलवाड गर्न हुँदैन,’ डा. पौडेलले भने । सरकार र डा. केसी पक्षधरको वार्ता तीनपटक भए पनि सहमति हुन सकेको छैन । डा. केसी २० दिनदेखि जुम्लामा अनशनरत छन् ।

प्रतिक्रिया