केसीको अवस्था नाजुक

सौर्य समाचार

जुम्ला । अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य खतरातर्फ उन्मुख भएको छ । प्रशासनले उपचारमा अवरोध गरेको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनशनस्थलमा खटिएको मेडिकल टिम बाहिरिएको छ ।

स्थानीय प्रशासनले डा. केसीलाई अनशनका लागि राखेको ठाउँमा उपचारका लागि जोखिम लिन नसक्ने भन्दै उनीहरू बाहिरिएका हुन् । शनिबार दिउँसो प्रहरी हिरासतबाटै अनशन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको र उनको उपचारका लागि तत्काल सुरक्षित स्थानमा स्थानास्तरण गर्न पटकपटक माग गरे पनि प्रशासनले सहयोग नगरेको भन्दै चिकित्सकहरूको टोली फर्किएको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले डा. केसीलाई कभर्ड हलमा लगेर राखेको थियो । डा. केसी सोही भवनको भुइँमा अनशन बसिरहेका छन् ।

कभर्ड हलमा उपचार सम्भव छैन भनी आइतबार साँझ नै प्रशासनलाई खबर गरे पनि प्रशासनले अस्पताल लैजान नदिई त्यहीँ उपचार गर्न दबाब दिएपछि स्वास्थ्यकर्मीको टोली फिर्ता भएको डा. केसीको उपचारका लागि खटिएको टोलीका संयोजक डा. प्रवीण गिरीले बताए । ‘यस्तो फोहोर ठाउँमा उपचार सम्भव छैन भनेर पटकपटक पत्राचार गर्दा पनि प्रशासनले बेवास्ता गरेकाले हामीले उनको उपचार गर्न नसक्ने भएका हौँ,’ उनले भने, ‘अब हामीले प्रहरीको हिरासतमा रहेका डा. केसीको कभर्ड हलमा उपचार गर्न सक्दैनौँ, त्यही भएर हामी फिर्ता भयौँ ।’
कुनै पनि पूर्वाधार नभएको संक्रमणयुक्त उक्त स्थानमा डा. केसीको उपचार सम्भव नभएको भन्दै चिकित्सकहरूले विरोधस्वरूप मंगलबारदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने घोषणा गरेका छन् ।

केसीको स्वास्थ्य उपचारमा संलग्न डा. प्रवीण गिरीका अनुसार उनको मुटुको चाल बढ्नेदेखि छाती र टाउको दुख्नेसम्मका समस्या सुरु भएको छ । ‘संक्रमणको डर र विद्युत् अभावका कारण उपचार गर्न सकिएन । अस्पतालमा सार्न पहल गरिदिन प्रशासनसँग अनुरोध गरेका छौँ,’ उनले भने । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै चिकित्सकहरूले तत्कालै केसीलाई काठमाडौं लैजान सुझाव दिएका छन् । पटक–पटकको अनशन र जुम्लाको मौसमका कारण डा. केसीको स्वास्थ्य अवस्था यसपटक अनशनको दोस्रो दिनबाटै जटिल बनेको छ ।
चिकित्सक टोलीले दिएको सुझावका आधारमा प्रतिष्ठानले तत्कालै मेडिकल सुविधा भएको ठाउँमा स्थानान्तरण गर्न पहल गरिदिन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको छ । तर, प्रशासनले माथिको आदेश नआएसम्म पठाउन नमिल्ने भन्दै अवरोध गरिरहेको छ । यसैबीच, डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने बताएका छन् । उनले जनप्रतिनिधिले नै जनताको पक्षमा निर्णय नलिएर माफियाको पक्ष लिएको भन्दै आक्रोशसमेत पोखे । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा एमबिबिएस पढाइ हुनुप¥यो, दीर्घरोगी भएर उपचार नपाएर मृत्युवरण गर्नुपर्ने बाध्यताको अन्त्य हुनुप¥यो,’ अनशन बसेको बेडबाटै उनले भने, ‘स्वास्थ्य क्षेत्रको समृद्धि र समग्र रोजगारीको लागि यो सरकार उदासीन देखिएको छ ।’

संसद्मा पारित हुन लागेको चिकित्सा शिक्षा विधेयक संशोधन गरेर नेता र माफियामुखी बनाउन लागेको प्रति आपत्ति प्रकट गर्दै डा. केसीले त्यो स्वीकार्य नहुने बताएका छन् । चिकित्सा शिक्षा विधेयकमा कुनै हेरफेर हुन नहुने भन्दै हुबहु पास गर्नुपर्ने उनको माग छ ।

चिकित्सा विधेयक नियमित प्रक्रियाबाट

काठमाडौं । सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ व्यवस्थापिका–संसद्को नियमित प्रक्रियाबाट अगाडि बढाउने तयारी गरेको छ ।
विधेयक पारित गराउन प्रतिपक्ष दल नेपाली कांग्रेसले असहमति जनाउँदै नियमित प्रक्रियाबाट गर्नुपर्ने अडान राखेपछि नियमित प्रक्रिया अपनाउने सरकारी तयारी भएको हो । सरकारले अन्य विधेयकजस्तै सहमतिमा पारित गराउन प्रयास गरे पनि कांग्रेसले नमानेपछि बहुमतीय ढंगबाट पारित गराउने भएको छ ।
सरकारले आइतबार संघीय सदनमा पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि पारित हुन सकेको थिएन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अब चल्ने सदनमा नियमित प्रक्रियाबाट सो विधेयक अगाडि बढाउने तयारी गरेको बताए । व्यवस्थापिका–संसद् नियमावलीलाई निलम्बन गरी सरकारले गत कात्तिक महिनामा जारी भएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशलाई प्रतिस्थापन गर्न सो विधेयक ल्याउन लागेको हो ।

प्रतिक्रिया