जनता ठग्दै गाउँका अवैध औषधि पसल


सौर्य समाचार

गाईघाट । उदयपुर जिल्लाको ग्रामीण भेगमा अवैध रूपमा सञ्चालन हुँदै आएका केही औषधि पसल तथा क्लिनिकले उपचारको नाममा लामो समयदेखि सम्बन्धित क्षेत्रका सर्वसाधारणमाथि ठगी गर्दै आएको पाइएको छ ।

जिल्लाको रौतामाई गाउँपालिकाको मुर्कुची बजार, सल्ले, फोक्सिङटार, भुटार, रसुवा, उदयपुरगढी गाउँपालिकाको पञ्चावती तथा नेपालटार बजार र कटारी नगरपालिकाको घुर्मी क्षेत्रमा अहिले कृत्रिम औषधि पसल सञ्चालक तथा क्लिनिक सञ्चालकले लुट मच्चाइरहेको आम स्थानीयवासी बताउन थालेका छन् । रसुवाघाट बजार क्षेत्रमा अहिले लाइसेन्स नभएकाले पनि औषधि बिक्री गर्ने गरेको र एउटा औषधिको मूल्य दोब्बर महँगोमा बिक्री गर्ने गरेको रसुवाघाटका सुजन मगरले बताए ।

रौतामाई गाउँपालिकाकै चिसापानी बजार क्षेत्रमा अवैध औषधि पसल सञ्चालकले ज्वरो तथा पखालाको म्याद गुज्रेको औषधि स्थानीयवासी सर्वसाधारणलाई बिक्री गर्ने गरेको सल्ले आहालेका कृष्ण पाठकको भनाइ छ । ‘आफ्ना नानीहरूलाई पटकपटक पखालाले सताएपछि सल्लेको स्थानीय पसलमा पखालाको औषधि किनेर नानीहरूलाई खुवाएपछि झनै साह्रो भएर सदरमुकाम गाईघाटमा लगेर उक्त औषधि देखाउँदा एक वर्षअघि नै उक्त पखालाको औषधिको म्याद गुज्रेको पुष्टि भयो,’ पाठकले भने ।

तर, गाउँका औषधि पसल सञ्चालकलाई यो कुरा सुनाउँदा उल्टै हप्काउने गरेको र आफूले त्यस्तो औषधि नै बिक्री नगरेको भनेर उल्टै हप्काएको पाठक बताउँछन् । यता पहाडी क्षेत्रको मुर्कुची, पञ्चावती र घुर्मी क्षेत्रमा समेत औषधि पसल सञ्चालकको कसैको पनि लाइसेन्स नभएको र अवैध रूपमा क्लिनिक तथा औषधि पसल सञ्चालन गर्दै आएको घुर्मीका स्थानीय भूपेन्द्र श्रेष्ठको भनाइ छ ।
श्रेष्ठका अनुसार यस्ता औषधि पसलले गाउँले र सोझासाझा जनतालाई औषधिको निर्धारण गरिएका मूल्यभन्दा दोब्बर बढी मूल्यमा औषधि बिक्री गरेर खुलेआम जनता ठग्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पतालसहितको टोली अन्यत्र मुख्य बजार र सहरमा अनुगमन गर्न जाने गरे पनि यी क्षेत्रमा उनीहरूको उपस्थिति हुन नसक्दा अवैध औषधि पसल र क्लिनिक सञ्चालकको सोझासाझा जनता ठग्ने कार्य दिनानुदिन बढ्दै गएको पञ्चावतीका डम्बर कार्कीले बताए ।

प्रतिक्रिया