त्रिचन्द्र मेलिटरी अस्पताल भवन: स्वास्थ्य सेवाभन्दा भाडालाई प्राथमिकता

काठमाडौं । नेपाली सेनाको बन्दै गरेको त्रि–चन्द्र मेलिटरी अस्पतालमा बिरामीको उपचार कम हुने भएको छ । यसअघि १७ तलाको भवन बनाइने भने पनि ०७२ सालको भूकम्पपछि नौ तलाको बनाइँदै छ । वीर अस्पताल नजिकै महांकालमा रहेको भवन निर्माणपछि सेनाले बिरामीको उपचारमा भन्दा बढी भाडामा लगाएर आम्दानी गर्ने सेनाले जनाएको छ । सेनाले यो भवनलाई बिरामीको उपचारमा भन्दा व्यापारिक प्रयोजनमा बढी प्रयोग गर्ने भएको हो ।

भवन ३० हजार वर्ग फिटको रहेको सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । भवनको अगाडिको भाग हेरिटेज छ भने अर्को बिजनेस कम्प्लेक्स छ । हेरिटेज मेडिकलका लागि प्रयोग गरिन्छ भने बिजनेस कम्प्लेक्स भाडामा दिएर भवनबाट आएको रकम विभिन्न जिल्लाका अस्पतालमा लगेर अन्य विभिन्न थप सुविधा दिने र अस्पताल नभएका ठाउँमा अस्पताल बनाउने भएको हो । भाडाबाट आएको रकम मेडिकल प्रयोजनका लागि अन्य जिल्लामा नै प्रयोग गरिने प्रवक्ता भण्डारीले बताए ।

नेपाली सेनाको प्रायः सबै जिल्लामा अस्पताल छन् तर ती ठूला नभएर साना छन्, सेनाका ठूला अस्पताल कमै मात्रामा छन् । त्यस्तै प्रदेश–५ को नेपालगञ्जमा बन्दै गरेको सेनाको अस्पताल अन्तिम चरणमा पुगिसकेको भण्डारीले बताए । ‘भवन बनिसक्यो अब त्यसलाई कसरी सञ्चालन गर्ने भनेर वर्कआउट गरिँदै छ’, उनले भने । प्रदेश–१ को इटहरी र प्रदेश–४ को पोखरामा पनि सेनाको अस्पताल भवन पूर्णरूपमा बन्न लागिसक्यो प्रदेश–२ र प्रदेश–७ मा बनाउने लक्ष्यसहित सेना अगाडि बढेको उनले जानकारी दिए ।

त्रि–चन्द्र अस्पतालको भवन बनाउने विषयमा सुरुसुरुमा ठूलो नै बनाउने भने पनि एकै जिल्ला वा उपत्यकामा मात्रै दुई ठूला अस्पताल हुने भएकाले हामीले भाडामा दिएर सेवा कम दिन लागिएको हो प्रवक्ताले भने । यसरी भाडाबाट आएको रकमलाई बाहिर स्वास्थ्य सेवा कै लागि खर्च गर्दा उपत्यका भन्दा बाहिरका सैनिकलाई सहज हुन्छ । यदि यहि मात्रै अस्पताल खुलाउने हुँदा बाहिर रहेका सैनिकलाई सेवा नहुने भएकाले यस्तो गर्न लागेको हो ।

‘भूपूहरूले हामीलाई अस्पताल भएन भन्नुहुन्छ, काठमाडौंमा चाहिँ दुई वटा अस्पताल बनाउने बाहिर नबनाउने त्यो भएन त्यसैले हामीले यहाँ बनेको अस्पतालको भवनलाई चाहिँ भाडामा दिएर आएको भाडाले अन्य ठाउँमा स्वास्थ्यमा लगानी गर्न र अस्पताल बनाउने योजनामा अगाडि बढेका हौँ,’ उनले भने । त्रि–चन्द्र मेलिटरीको सबै भवनमा अस्पताल मात्रै खोल्दा पैसा धेरै लाग्ने भएकाले भाडामा दिएर जे–जे कल्याणकारी काम गर्न सकिन्छ त्यो गर्ने उनले सुनाए ।

यसअघि सेनाको अस्पताल त्रि–चन्द्र अस्पताल भवन बन्नेक्रममा सञ्चारमाध्यममा अनियमितता भएको कुरा आएको थियो तर त्यो भएकै होइन । ‘टायल धेरै किनेको विषयलाई लिएर धेरै सञ्चारमाध्यमले लेख्नुभयो तर कल्याणकारीबाट किनेको हो त्यो अरू घरहरूलाई प्रयोग गरिन्छ अहिले त्यो स्टोरमा राखिएको छ । एकैपटकमा ल्याउँदा सस्तो पर्ने र विभिन्न कारणले एकैपटक ल्याइएको हो ।’ उनले भने । हाल अस्पताल पहिलाकै ढाँचामा बनेको छ हेरिटेज भवनमा मेडिकलकै काम हुन्छ ।

त्यो बाहेक बनेको पछाडिको जी प्लस सेभेन (ग्राउन्ड प्लस सेभेन) लाई भाडामा दिने भएको छ । त्रिचन्द्र मेलिटरी अस्पतालको मोडालिटीको वर्कआउट भइरहेको छ, छाउनीस्थित वीरेन्द्र अस्पतालमा इमर्जेन्सी, सैय्यासहितको स्वास्थ्य सेवा हुन्छ भने मेरो विचारमा त्रि–चन्द्रमा फिजियोथेरापी, इमर्जेन्सी, डेन्टल आदी मेडिकल प्रपोजका लागि नै हुन्छ उनले भने ।

‘नेपाली सेनाका भूपूहरू दुई लाख बढी हुनुहुन्छ उहाँहरूको परिवार गर्दा करिव आठ लाख हिताधिकारी हुनुहुन्छ, त्यसको लागि हामीले काठमाडौंमा भन्दा पनि अन्य ठाउँमा अस्पताल खोल्ने योजना बनाएका हौँ ।’काठमाडौंमा त सेनाको ठूलो र पुरानो वीरेन्द्र अस्पतालले नै सेवा दिन सकिरहेको छ, पुनः अस्पताल खोलेर सेवा गर्ने भन्दा अस्पतालका लागि बनेको भवन आधा भाडामा दिएर त्यहाँबाट आएको पैसाले अन्य ठाउँमा गई स्वास्थ्य सेवा दिँदा एकदमै उपयुक्त हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया