स्त्रीरोग विज्ञलाई क्षमता अभिवृद्धि तालिम

काठमाडौं । प्रसूति तथा स्त्री रोग विज्ञको क्षमता विस्तारका लागि विशेषज्ञ तालिम सुरु भएको छ । नेपालमा पहिलोपटक सुरु भएको यो तालिम प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली र न्याम्स मिलेर गरेको हो । विज्ञ चिकित्सकको क्षमता विस्तारका लागि पहिलो वर्ष गाइनो अंकोलोजी (क्यान्सर) का लागि तीन जना र युरो गाइनोकोलोजी भनेर चार जनालाई तालिम दिने कार्यक्रम छ । तालिम अवधि एक वर्षको हुनेछ ।

तालिममा फेलोसीप इन गाइनो अंकोलोजी (महिलाको क्यान्सर) र फेलोसीप युरो गाइनोकोलोजी (पिसाब समस्या) सम्बन्धी कक्षा हुनेछ । यि दुई विषयमा एक वर्षे कार्यक्रम सुरु गरिएको प्रसूति गृहका स्त्रीरोग विशेषज्ञ डा. गेहनाथ बरालले जानकारी दिए । यस वर्ष गाइनो अंकोलोजीका लागि ३ र युरो गाइनोकोलोजी ४ जनालाई दिइने उनको भनाइ छ । ‘भूकम्पपछिको यस अवधिमा प्रसूति गृह महिला रोगको प्रमुख अस्पताल भएकाले उपचार सेवाको लागि उपयुक्त ठाउँ छैन । स्त्री रोग भित्रै पनि विभिन्न रोगहरू पर्दछन् त्यसको विभाग नै छुट्याएको छैन, डा. बरालले भने ‘भवन निर्माणपछि रोगअनुसारको फरक शाखा बनाई सेवा सुचारु गर्छौं ।’

अस्पताल आफैँले नयाँ योजना बनाई विभिन्न रोगको उपचारको लागि फरक–फरक शाखा बनाएर बिरामीलाई राम्रो सेवा दिने उद्देश्यले ट्रेनिङ सुरु गरिएको हो । ‘विभिन्न रोगको फरक–फरक शाखामा उपचार निजीले मात्रै दिन्छ भन्ने आम मानिसको धारणा छ, त्यसलाई तोड्न यो तालिमपछि सुरु हुने शाखाहरूले सहज हुने उनको भनाइ छ । विरामीलाई राम्रो सेवा दिएर खुसी बनाउने प्रक्रियामा छाँै र फरक शाखाका लागि काम पनि भइरहेको छ । तत्काल भवन अभावले गर्दा युनिट छुट्याउन समस्या छ, उनले भने । अस्पतालमा विस्तारै क्यान्सर, पिसाब पोल्ने, पिसाब चुहिने, पाठेघर खस्ने, निःसन्तानलगायत रोगको आ–आफ्नै शाखा रहने अस्पतालले जनाएको छ । स्त्री रोगमा पनि विभिन्न रोग पर्छ, यसको एकैपटक एकै जनाले उपचार गर्न गाह्रो हुने र बिरामीले पनि गुणस्तर सेवा नपाउने हुँदा युनिट छुट्याउन लागिएको उनले बताए । उक्त योजनाअनुसार आफूहरूले समूह बनाएर फेल्लोसिप ट्रेनिङ सुरु गरेको डा. बरालको भनाइ छ ।

प्रसूति गृहलाई विशेष प्राथमिकतामा राखेर सुरु गरेको ट्रेनिङपछि अन्य अस्पतालमा पनि पोस्टिङ गर्न सकिनेछ । अस्पतालमा हाल पनि बिरामीहरूको उपचार भइरहेको छ तर विभिन्न रोगको उपचार एउटै युनिटले वा एकै व्यक्तिले गर्नुपर्ने अवस्था छ । ‘अब बाँझोपनको युनिटले बाँझोपनको मात्रै गर्छ, क्यान्सरको क्यान्सरले नै गर्छ । नियमित रुपमा गुणस्तरीय स्वास्थ्य सेवा लिन पनि युनिट छुट्याएपछि सहज हुनेछ उनले भने ।’

भवन बनेपछि प्रसूतिको सम्पूर्ण सेवा सारेर हाल सञ्चालनमा रहेको भवनमा स्त्री रोगको मात्रै उपचार गर्ने योजना रहेको उनले सुनाए । भूकम्पले भत्किएको प्रसूति गृहको भवन जाइकाले बनाइरहेको छ, अब आउँदो मार्चमा नयाँ भवन बनिसक्छ । आफ्नो पेसागत संस्कार सम्झेर यी काम गर्न लागेको उनले सुनाए । ट्रेनिङ दिने, सिकाउने, पढाउने, काम गर्ने आफैँले भए पनि भर्ना गर्न र फाइनल परीक्षा लिन न्याम्ससँग सहकार्य छ । उनिहरूलाई दिनुपर्ने पारिश्रमिक पनि न्याम्सले निर्धारण गर्छ र मन्त्रालयले दिन्छ । सुरुको वर्ष ट्रेनरहरू उत्पादन गर्ने र पछि इच्छुक स्त्रीरोग विज्ञलाई तालिम दिने डा. बरालको भनाइ छ ।

प्रतिक्रिया