वातावरण प्रदूषणले बिरामी प्रभावित


सौर्य समाचार
बुटवल ।  स्वच्छ वातावरणमा जीउन पाउनुपर्ने सजीव प्राणीको अधिकार हो । तर, यहाँ बिरामीले समेत स्वच्छ वातावरण पाएका छैनन् ।
बुटवल क्षेत्रका अस्पतालहरू वातावरण मैत्री बन्न नसक्दा त्यसको प्रत्यक्ष मारमा बिरामीहरू परेका छन् । बुटवलका स्वास्थ्य संस्थाबाट उत्पन्न हुने फोहोर व्यवस्थापन हुन सकेको छैन । जसका कारण अस्पतालहरूको वातावरण प्रभावित भएको छ । सरकारी र नीजि अस्पतालहरूमा जम्मा हुने फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदूषित भएको हो ।

अस्पतालहरूको सेवाजन्य फोहोर एकीकृत रूपमा व्यवस्थापन गर्नका लागि सरोकारवाला निकाएको सहमतिमा गतवर्ष समिति गठन गरिएको थियो । एकीकृत फोहोर व्यवस्थापनका लागि निजी अस्पतालहरूको संस्था अफिन रुपन्देहीका अध्यक्ष रामप्रसाद खरेल संयोजक रहेको अध्ययन समिति गठन गरिएको थियो । समितिले प्रभावकारी रूपमा काम नगरेकाले फोहोर व्यवस्थापन हुन सकेको अफिनका केन्द्रीय सदस्य गोविन्द खनालले स्वीकार गरे ।

अस्पतालजन्य फोहोर व्यवस्थापनका लागि काठमाडांैको हेल्थ केयर फाउन्डेसनले अध्ययन गर्दै आएको छ । विज्ञ टोलीलाई जिम्मा दिएर काम अगाडि बढे पनि काममा ढिलाइ भएको छ । फोहोर व्यवस्थापनका लागि ठाउँको अभावले समस्या र अध्ययन समितिको रिपोर्ट आउन ढिलाइ भएकाले पनि अस्पतालहरूमा बढी फहोर जम्मा हुने गरेको छ । लुम्बिनी अञ्चल अस्पतालले अस्पताल परिसरमा नै फोहोर जम्मा गरेर जलाउने गरेको छ । जसका कारण आस्पतालको आसपासको वस्तीमा प्रदूषण फैलिएको लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. कृष्ण खनालले बताए ।

सरकारी र निजी अस्पतालहरूमा सेवाजन्य फोहोर व्यवस्थापन गर्ने उचित ठाउँ नभएपछि कतिपय निजी अस्पतालहरूले तीनाउ नदीमा लुकीछिपी फाल्ने गरेका छन् । बुटवल उपमहानगरपालिकाले आम्दा अस्पतालको पूर्वतिरको जंगलमा दुई कठ्ठा जग्गा दिने भनिए पनि असपतालहरूको एकआपसमा सहकार्य हुन सकेको छैन । जसका कारण अस्पतालजन्य फोहोर व्यवस्थापनको कामले सार्थकता पाएको छैन । आपसी खिचातानीका कारण अस्पतालहरूको फोहोरले सर्वसाधारण नागरिक मारमा परेका छन् ।

प्रतिक्रिया