चितवन । विद्यार्थीहरूले मासिक शुल्क नबुझाएपछि भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको स्नातक नर्सिङको पढाइ अस्पतालले ठप्प पारेको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)बाट सम्बन्धन लिएर चितवनको भरतपुर अस्पतालले अध्ययन गराउँदै आएको बिएनएसको पहिलो वर्षको पढाइ आइतबारदेखि रोकिएको हो । अस्पतालले आइतबारदेखि पढाइ रोक्नुका साथै सोमबारदेखि बिएनएस पहिलो वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई अस्पतालमा ड्युटी गर्नसमेत रोक लगाएको छ । नाम्सको नियमअनुसार नै अस्पतालले मासिक तीन हजार रूपैयाँ शुल्क लिने व्यवस्था भएबमोजिम विद्यार्थीहरूलाई जानकारी गराउँदासमेत विद्यार्थीहरूले शुल्क तिर्न अटेरी गरेपछि पठनपाठन बन्द गराइएको अस्पताल प्रशासनले जनाएको छ ।
मासिक शुल्क तिर्नका लागि पटकपटक विद्यार्थी तथा अभिभावकलाई जानकारी गराउँदा समेत बेवास्ता गरेपछि स्नातक नर्सिङ पहिलो वर्षको पढाइ रोकिएको भरतपुर अस्पताल नर्सिङ कार्यक्रमकी संयोजक मिना भुसालले बताइन् । नाम्सको नर्सिङ पढाउँदा अस्पताललाई घाटा भएको उल्लेख गर्दै भुषालले अस्पताललाई भएको घाटा बिरामीसँग शुल्क लिएर मिलान गर्न नसकिने भएकोले विद्यार्थीसँग मासिक शुल्क उठाउने निर्णय भएको बताइन् । नाम्सले नै अस्पताललाई मासिक रूपमा तीन हजार रूपैयाँ नबढ्ने गरि शुल्क लिनको लागि स्वीकृत दिएको उल्लेख गर्दै विद्यार्थीहरूले शुल्क तिर्दैनौँ भन्नु गैरकानुनी भएको बताइन् ।
भरतपुर अस्पतालमा हाल सञ्चालन भइरहेको नाम्स अन्तर्गतको स्नातक नर्सिङ तेस्रो व्याच हो । तेस्रो ब्याचको पहिलो वर्षमा पढ्ने विद्यार्थीहरूले आफूहरूभन्दा अगाडि पढ्ने दुई वटा ब्याचले तीन लाखमा तीन वर्षे कोर्ष पढ्न पाएकोले आफूहरूले समेत सोही शुल्कमा पढ्न पाउनुपर्ने माग राख्दै आएका छन् । तीन वर्षे कोर्षको लागि नाम्सले चालु शैक्षिक सत्रदेखि तीन लाख ६० हजार रूपैयाँ शुल्क तोकेको छ भने भरतपुर अस्पतालले मासिक तीन हजार रूपैयाँ शुल्क थप गराएको छ ।
नाम्सले बढाएको ६० हजार रूपैयाँ शुल्क तिर्न आफूहरू तयार भएर भर्ना हुँदा एक लाख २० हजार रूपैयाँ बुझाएको भए पनि अस्पताललाई बुझाउनुपर्ने मासिक तीन हजारका दरले तीन वर्षको एक लाख आठ हजार रूपैयाँ नतिर्ने विद्यार्थीहरू बताउँछन् । भरतपुर अस्पतालले आफूहरूलाई पढ्न नदिएमा नाम्समा गएर पढ्ने तर, त्यसको लागि अस्पतालले चिठ्ठी बनाइदिनुपर्ने विद्यार्थीहरूको भनाइ छ ।
बिएनएस पहिलो वर्षमा ३६ जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् । नाम्सले प्रमाणपत्र नर्सिङ तथा स्नातक नर्सिङको लागि शुल्क बढाएको थियो।
प्रतिक्रिया