सिड्नी । जंगली कुकुरका कारण अस्ट्रेलियामा प्रतिदिन १० लाख सरिसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरिसृपका प्रजातिहरूको लोप हुने खतरा निम्तिएको अध्ययनमा छ । अस्ट्रेलियामा युरोपेली मुलुकबाट आएर बस्ती बसाउने क्रमको थालनीसँगै करिब दुई शताब्दीको समयमा जंगली बिरालोका कारण कतिपय दुर्लभ प्रजातिको लोप नै भएको बताउने गरिन्छ ।
यद्यपि, पछिल्लो समयमा जंगली बिरालोको जनसंख्या नियन्त्रणका लागि गरिएका विभिन्न उपायले केही दशक यता भने उक्त विकराल स्थितिमा केही सुधार देखिएको छ । सरिसृप प्रजातिको नासको कारक मानिने १० हजार जंगली बिरालाहरूमा स्थानीय वातावरण वैज्ञानिकले गरेका अध्ययन प्रतिवेदनले सरिसृप प्रजातीका कैयौँ दुर्लभ प्राणी बिरालोको स्किारका कारण लोप हुने अवस्थामा पुगेको जनाएका छन् ।
अध्ययन प्रतिवेदनमा जंगली बिरालोका कारण वार्षिक जम्मा ६५ करोड छेपारा तथा सर्पहरूको नास हुने गरेको जनाइएको छ । ‘प्रत्येक जंगली बिरालोले औसतमा प्रतिवर्ष २ सय २५ सरिसृपको सिकार गर्ने गरेका छन्,’ चाल्र्स डार्बिन विश्वविद्यालयका अनुसन्धान समूह तथा अध्ययन समूहका प्रमुख अनुसन्धाता जोन वोइनास्र्कीले भने।अस्ट्रेलियामा बन बिरालो संयुक्त राज्य अमेरिका वा युरोपमा भन्दा बढी सरिसृपको विनासको कारक बन्ने गरेको पनि अध्ययनका क्रममा थाहा भएको उनले बताए ।
उनले भने, ‘केही जंगली बिरालो त सरिसृपको ठूलो संख्यालाई सिकार गर्दछन् ।अध्ययनका क्रममा हामीले केही बिरालोको एकै दिनमा झन्डै ४० वटासम्म छेपारा प्रजातिका सरिसृपलाई आफ्नो आहारा बनाएको पायौँ ।’ ‘वाइल्डलाइफ रिसर्च जोर्नल’ मा प्रकाशित प्रतिवेदनअनुसार अस्ट्रेलियामा बिरालोले २ सय ५० विभिन्न प्रजातिका सरिसृपलाई आफ्नो आहारा बनाउने गर्छन् ।
जसमध्ये मरुभूमिमा पाइने सर्प आकारको ठूलो छेपाराहरू दाडीवाल ड्रेगन, तथा घरआँगन वरिपरी पाइने छेपारोजस्ता सरिसृपलाई मार्ने गरेको बताइएको छ । यसमध्ये ११ विभिन्न दुर्लभ प्रजातिका लोपोन्मुख छेपारा रहेका छन्। अस्ट्रेलियामा जंगली बिरालाको संख्या १०औँ लाखको संख्यामा रहेको छ र यिनीहरू यहाँका स्तनधारी जनावरको लोपका लागि पनि दोषी मानिन्छन् ।
सोही समूहले गतवर्ष गरेको अनुसन्धानमा जंगली बिरालोले प्रतिदिन १० लाख पंक्षीको सिकार गर्ने गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो । अस्ट्रेलियाको सरकारले जंगली बिरालोको बिगबिगीलाई कमी गर्न विभिन्न योजनामार्फत वार्षिक २ करोड ३० लाख अमेरिकी डलर खर्चिंदै आएको छ ।
अस्ट्रेलियाली वन्यजन्तु संरक्षण कार्यक्रमले गत महिना ९ हजार ४ सय हेक्टर मरुभूमि क्षेत्रलाई जंगली बिरालोबाट स्वतन्त्र बनाउन ४४ किलोमिटर लामो विद्युतीय वार निर्माण गरेको थियो । सरकारले उक्त अभियानअन्तर्गत करिब एक लाख हेक्टर मरुभूमि क्षेत्रको जमिन (जहाँ बिरालोको बिगबिगी छ) लाई विद्युतीय तारबार गर्ने योजना छ ।
प्रतिक्रिया