‘रात छिप्पिँदै जाँदा उनीहरूबीच सडकबत्तीमुनि नै निर्धक्कसाथ यौनजन्य क्रियाकलाप भइरहेको देखिनु सामान्य भइसकेको छ । उनीहरूबीच जुनसुकै वेला जस्तासुकै क्रियाकलाप हुने गर्छन् । सडकपेटीमै मन लागेको वेला शारीरिक सम्पर्क हुने गर्दछ । उनीहरूले गरेको क्रियाकलाप देखेर सर्वसाधारण लज्जित हुन्छन्’
बेलुकी ९ बजेपछि जब काठमाडौं उपत्यकामा सवारी तथा मानिसको चाप पातलिँदै जान्छ, तब पोका बोकेका अर्धनघ्न महिला तथा पुरुष सडकमा देखापर्छन् । उनीहरूले देखाउने क्रियाकलाप हेर्दा मानसिक सन्तुलन बिग्रेको सजिलै ठम्याउन सकिन्छ । रक्सीले मातेका आभारा केटाले मानसिक सन्तुलन गुमाएका यस्ता महिलालाई पछ्याइरहेको देखिन्छ ।
रात छिप्पिँदै जाँदा उनीहरूबीच सडकबत्तिमुनि नै निर्धक्कसाथ यौनजन्य क्रियाकलाप भइरहेको देखिनु सामान्य भइसकेको छ । मानसिक सन्तुलन गुमाएर सडकमा भौँतारिइरहेका महिलाहरूले यस्तो यौनसम्पर्कबाट बच्चा पनि जन्माउने गरेका छन् ।
केही दिनअघि राती ११ बजेतिर ललितपुरको सुमेरु अस्पतालबाट आफ्नो घर पेप्सीकोला फर्कंदै गर्दा यस पंक्तिकारको आँखा सडकको पेटीमा सुतिरहेकी एक महिलातर्फ पर्यो । उनी मस्त निदाइरहेकी जस्ती देखिन्थिन् । नजिकै करिब १० महिनाको निकै हसिलो बच्चा खेलिरहेको थियो ।
सायद ऊ आफ्नी आमाको दूध खाने तरखरमा थियो । बुबाको डाइलोसिसका लागि साताको दुईपटक त्यही बाटो आवत–जवात गरिरहेकी यस पंक्तिकारले केही दिनपछि ती महिलालाई एक्लै देख्न थाली । सायद त्यो हँसिलो बच्चा कसैले लग्यो होला । स्थानीय तथा यस क्षेत्रमा काम गरेका संस्थाहरूसँग बुझ्दा राजधानी काठमाडौंमा मात्रै सडकमै गर्भधारण गरी सडकमै बच्चा जन्माउने महिलाको संख्या डेढ सयभन्दा बढी छ ।
यसरी जन्मने बच्चामध्ये थोरै मात्रै सडकमा हुर्कन्छन् । बाँकी कहाँ पुग्छन् ? त्यसबारे कसैको चासो छैन । राजधानी काठमाडौंमा मात्रै होइन, यो समस्या के तराई, के पहाड, के गाउँ, के सहर, मुलुकका सबै क्षेत्रमा छ ।
घटना–१ : केही महिनाअघि एक दैनिकमा समाचार अएको थियो, ‘एकजना अधवैशे पुरुष तीन वर्षदेखि बिर्तामोडमा देखिन थालेका छन् । उनको नाम, थर, ठेगाना कसैलाई थाह छैन । खाने, बस्ने, सुत्ने सबै सडकमै हो ।
तर, हरेक दुईतीन महिनामा उनको साथमा उनीजस्तै मानसिक रूपमा विक्षिप्त भएका नयाँ–नयाँ महिला पनि देखिने गर्छन् । उनीहरूबीच जुनसुकै वेला जस्तासुकै क्रियाकलाप हुने गर्छन् । सडकपेटीमै मन लागेको वेला शारीरिक सम्पर्क हुने गर्दछ । उनीहरूले गरेको क्रियाकलाप देखेर सर्वसाधारण लज्जित हुन्छन् ।’
घटना–२ : जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार झापाका सडकमा मानसिक रोगीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । खुला सिमानाका कारण मानसिक सन्तुलन गुमाएका मानिस काँकरभिट्टा नाका हुँदै नेपाल भित्रिने र सडकपेटीमा बस्ने गरेका छन् । त्यसमा पनि मानसिक सन्तुलन गुमाएका महिलाका कारण बढी समस्या देखिएको छ । मानसिक सन्तुलन गुमाएका महिला बलात्कृत हुने समस्या छ ।
काँकरभिट्टा, बिर्तामोड, दमक, भद्रपुर लगायतका स्थानमा मानसिक सन्तुलन गुमाएका महिला बढी देखिने गर्छन् । मानसिक सन्तुलन गुमाएका पुरुषभन्दा महिला बढी छन् । उनीहरू बढी असुरक्षित पनि छन् । मानसिक सन्तुलन गुमाएका महिला लागुऔषध सेवनकर्ता र मादक पदार्थ सेवन गरेका पुरुषले रातको समयमा जिस्क्याउने तथा बलात्कार गर्ने गरेका कारण केही महिला गर्भवतीसमेत छन् ।
सडक किनारामा बस्ने त्यस्ता महिला बलात्कृत हुने गरेकाले प्रहरीलाई झन् समस्या थपिएको बताइएको छ । मानसिक सन्तुलन गुमाएर सडकपेटीमा बस्ने मानिसको संख्या कति छ भन्ने तथ्यांक यकिन नभए पनि मानसिक सन्तुलन गुमाएकाहरूको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ ।
घटना–३ : एक स्थानीय अनलाइनले समाचार लेखेको छ, ‘विगत १० वर्षदेखि मानसिक सन्तुलन गुमाएकी २५ वर्षीय ओली थरकी एक महिला अहिले पनि काँकरभिट्टाको सडकपेटीमा छिन् । उनले सडकमै ३ वटा बच्चा जन्माइसकेकी छन् । उनी अहिले पनि गर्भवती छिन् । स्वास्थ्य केन्द्र काकँरभिट्टाकी अनमी विद्या शिवाकोटी ती महिलाको प्राथमिक उपचार गरिरहेको बताउँछिन् । स्थानीय एक महिलाले उनलाई खानाको व्यवस्था गरिरहेकी छिन् ।
त्यस्तै, काँकरभिट्टामा नै अन्दाजी ५५ वर्षीया अर्की एक महिला सडकपेटीमा भौतारिँदै हिँडेको देख्न सकिन्छ । दोकनडाँडामा देखापर्ने अर्की एक महिला पनि ५ वर्षदेखि काँकरभिट्टाको सडकमा दिन बिताइरहेकी छिन् । उनीहरूजस्तै पुरुष पनि काँकरभिट्टा क्षेत्रमा ५÷७ जना छन् । उनीहरूको पनि अवस्था दयनीय छ । मानसिक सन्तुलन गुमाएका एक वृद्धको यसै साता मृत्यु भएको छ । उनको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
घटना–४ : मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गर्ने खोटाङका एक युवकलाई जिल्ला अदालत खोटाङले जन्मकैदको सजाय सुनाएको समाचारले पनि ०७१ सालको मंसिरमा ठूलो चर्चा पायो । मानसिक सन्तुलन गुमाएकी ४० वर्षीया दलित महिलालाई बलात्कार गर्ने युवक थिए, सप्तेश्वर–८ का १८ वर्षीय सन्देश राई । राईलाई बलात्कार गरेकामा पाँच वर्ष र अशक्त महिलालाई बलात्कार गरेबापत पाँच वर्ष गरी १० वर्ष कैद सजाय सुनाइएको थियो ।
घटना–५ : उदयपुर संवाददाताले केही समयअघि राजधानी दैनिकमा यस्तो समाचार पठाएका थिए, ‘लामो समयदेखि दाम्लोमा बाँधिएकी मानसिक सन्तुलन गुमाएकी गर्भवती महिलाको बुधबार उद्धार गरिएको छ । महिलाको खुट्टामा ठूलो घाउ भएर घाउमा किरा परेकाले जिल्ला अस्पताल गाईघाटमा उनको उपचार भइरहेको जनाइएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–५ स्थित भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) विगत ६ महिनादेखि घरमै दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी थिइन् । यसरी उद्धार गरी ल्याइएकी गर्भवती महिलाको सम्पूर्ण उपचार तथा संरक्षण मानव सेवा आश्रम हेटौँडाले गर्ने भएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले जानकारी दिए ।
मानसिक सन्तुलन गुमाएकी उनको यही भदौमा बच्चा जन्मिने समय रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले जानकारी दिए । हेटौँडाको आश्रमले मानसिक सन्तुलन गुमाएकी महिलाको उपचार तथा गर्भवती अवस्थादेखि सुत्केरी होउन्जेलसम्मको सम्पूर्ण स्याहार–सुसार गर्ने भएकाले उनलाई सोही संस्थामा पठाउन लागिएको प्रजिअ घिमिरेको भनाइ रहेको छ ।मानसिक सन्तुलन गुमाउन पुगेकी ती महिलाको उपचार गर्ने आर्थिक अवस्था कमजोर भएकाले दाम्लोमा बाँधिएर बस्नुपरेको हो ।
गर्भवती अवस्थामा नियमित व्यायाम, स्याहार, सुसार र खानपिनमा विशेष ध्यान दिएर पौष्टिक आहारको व्यवस्था मिलाउनुपर्नेमा उनी भने बाँधिएर बस्न बाध्य रहेकी थिइन् । श्रीमान्ले समेत गर्भवती अवस्थामा घरमै छाडेर हिँडेपछि उनी थप बिचल्लीमा परेकी हुन् । गर्भ रहेको दुई महिना भएपछि उनका श्रीमान् मनोजकुमार खड्काले समेत छाडेर हिँडेपछि वृद्ध सासूससुरालाई बिरामी बुहारीको बोझ थपिएको ससुरा भीमबहादुर खड्काले बताए ।’
घटना–६: मानसिक सन्तुलन गुमाएकी एक महिला बलात्कारमा परी गर्भवती भएर शिशुको जन्म दिएको समाचार रोल्पाका संवाददाताहरूले दुई वर्षअघि राजधानी काठमाडौंका मिडियालाई पठाएका थिए । समाचारमा भनिएको थियो, ‘रोल्पा नगरपालिका–२ की एक २२ वर्षीया मगर जातिकी अविवाहित महिलाले दुई हप्ताअगाडि शिशुलाई जन्म दिएपछि नवजात शिशुको रेखदेखमा समस्या देखिएको छ । बाबुको पहिचानविना जन्मिएका शिशुको भविष्यसमेत बेबारिसे बन्ने देखिएको छ ।
जन्म दिए पनि शिशुको रेखदेख नगरेपछि आफूहरूको पहलमा बच्चाका लागि लत्ताकपडा तथा पोषणयुक्त खानाको व्यवस्था गरिदिएको स्थानीय आमा समूहले बताएको छ । मानसिक अवस्था ठीक नभएपछि घरबाट निस्किएर बेबारिसे बनेकी उनलाई गर्भवती बनाउनेको आफूहरूले खोजी गरिरहेको आमा समूहकी अध्यक्ष मीना घर्तीले जानकारी दिनुभयो । ‘शिशुको बाबु पहिचानका लागि जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी गरेका छाैं,’ अध्यक्ष घर्तीले भन्नुभयो ।
सुत्केरी महिलाको रेखदेख र शिशुको बाबु पहिचानका लागि आफूहरूले समेत दबाब दिइरहेको महिला अधिकारकर्मी तीर्था आचार्यले बताउनुभयो । शिशुको बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने आचार्यको भनाइ छ । जिल्लामा बाबु पहिचान हुन नसकेका यस्ता बालबालिका सयौँको संख्यामा रहेको बताइएको छ । बाबु पहिचान नहुँदा विद्यालय भर्ना तथा नेपाली नागरिकताको प्रमाणपत्र लिनमा समेत यस्ता बालबालिका वञ्चित हुँदै आएका छन् ।’
घटना–७: तीन वर्षअघि म्याग्दीका संवाददाताहरूले संप्रेषण गरेको समाचार यस्तो थियो, ‘धवलागिरी अञ्चल अस्पतालबाट बुधबार मानसिक सन्तुलन गुमाएकी महिलालाई मानव सेवा आश्रमका संयोजक मनिष रायमाझीसहितको समूहले उद्धार गरेको छ । ७ महिनाकी गर्भिणी ती महिला भारतीय मुलुकी हुन् ।’ संघीय सरकारले आगामी आर्थिक वर्षका लागि करिब १३ खर्ब रुपैयाँ बराबरको बजेट ल्याइसकेको छ ।
सातै वटा प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षका लागि कुल करिब ३ खर्ब रुपैयाँको बजेट ल्याइसकेका छन् । मुलुकका ७ सय ५३ वटा स्थानीय सरकारहरूले यतिवेला धमाधम बजेट सार्वजनिक गरिरहेका छन् । काठमाडौं महानगरपालिकाले करिब १३ अर्ब रुपैयाँ र पोखरा महानगरपालिकाले करिब ६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । दूरदराजका थोरै जनसंख्या भएका गाउँपालिकाको बजेट पनि २० करोड रुपैयाँभन्दा कम देखिन्न ।
यसरी तीन वटै तहको सरकारले ल्याएको बजेट जोड्ने हो भने आगामी अर्थिक वर्षभित्र मुलुकको ढुकुटीबाट कम्तीमा २० खर्ब रुपैयाँ खर्च हुने देखिन्छ । तर, राज्यबाट हरेक वर्ष खर्च हुने यति ठूलो धनराशिबाट सबैभन्दा तल्लो वर्ग अर्थात् सडकमै खाने, सडकमै सुत्ने, सडकमै जन्मने वर्गले के–के लाभ पाउने गरेको छ त ? भन्ने प्रश्नको उत्तर खोज्न ढिला भइसकेको छ ।
प्रतिक्रिया