नयाँदिल्ली । बलात्कारको आरोप लागेका अध्यात्मिक गुरु दाती महाराजको पुरुषत्व परीक्षण हुने भएको छ । दाती महाराजले आफूमाथि लागेका सबै आरोपलाई अस्वीकार गरेका छन् । उनले आफू नागा समुदायको अनुयायी भएको बताएका छन् । उनले घटनाको दिन आफू छतरपुर आश्रममा नै नभएको बताएका छन् र प्रहरीलाई यसबारे केही प्रमाण पनि दिइएको बताइएको छ ।
घटना २०१६ को भएकाले केही प्राविधिक प्रमाण र देखि जान्नेका आधारमा मात्र अनुसन्धान अघि बढाउन सकिने प्रहरीले जनाएको छ । प्रहरीसँगको वयानमा दाती महाराजले आफ्ना एक पूर्व सहयोगीको यो विषयमा हात हुन सक्ने आशंका गरेका छन् । ती सहयोगीसँग दाती महाराजको ३२ करोड रुपैयाँका विषयमा विवाद रहेको छ ।
प्रहरीले ती पूर्वसहयोगीलाई पनि बोलाउन सक्ने बताएको छ । यसो गर्दा दाती महाराजका आरोपको सत्यता परीक्षण हुने बताइन्छ । उजुरीकर्ता महिलाले आफूले आश्रमकी अर्की एक महिलालाई पनि चिनेकी छन्, जसलाई दाती महाराजले यौन शोषण गरेका थिए, तर उनलाई दातीका मान्छेले धम्की दिएको दाबी गरेकी छन् ।
प्रहरीले एक अर्की महिलालाई सोधपुछका लागि बोलाउने तयारी गरेको छ, जो आश्रममा नियमित काम गर्न आउँथिन् । महिलालाई दातीको कोठामा सेवाका लागि बोलाइन्थ्यो र दाती र उसका सहयोगी शारीरिक शोषण गर्थे । महिलाले भनिन्, ‘म उनलाई समर्थन गर्ने अन्धभक्त थिएँ र सेवाका लागि उनको कोठामा जान राजी भएँ । यसकै फाइदा उनीहरूले उठाए ।’
प्रतिक्रिया