फुटबल हेर्नेको भीडमा गोली प्रहार, १४ को मृत्यु


सिउडाड जुएरेज । मेक्सिकोको सीमा क्षेत्रमा भएका तीन वटा गोली हानाहानका घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जुअरेज सहरमा लागुऔषध प्रयोगकर्ताको समूहको संलग्नतामा शनिबार गोलीकण्ड भएको बताइएको छ । तीमध्ये सहरको दक्षिणी क्षेत्रमा भएको एउटा घटनामा ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

विश्वकप फुटबल प्रतियोगिता हेर्न जम्मा भएका आठ जनामाथि गोली प्रहार हुँदा ६ जनाको मृत्यु भएको र दुई जना घाइते भएका हुन् । उनीहरूलाई हतियारधारी समूहले गोली प्रहार गरेको सुरक्षा अधिकारीले बताएका छन् । त्यही समयमा छिमेकी अर्को ठाउँमा पनि फुटबल हेर्नकै लागि एउटा सैलुनमा भेला भएका अरू पाँच जना पनि मारिएका छन् ।

नीलो भ्यानमा आएका व्यक्तिले उनीहरूलाई आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । शनिबार बिहानै अरू तीन जनालाई छिमेकीको एउटा भोजबाट निकालेर बन्दुकधारीले हत्या गरेका थिए । यस सहरमा यो एक महिनामा मात्रै १ सय २८ जना मारिएका छन् ।

सरकारले सन् २००६ मा लागुऔषध विरुद्धको विवादास्पद कानुन जारी गरेपछि झण्डै दुई लाख जना मारिएका छन् । सरकारी अधिकारीले ती मारिएकामध्ये कतिजना योजनाबद्धरूपमा आपराधिक क्रियाकलापमा संलग्न थिए भन्ने बारेमा यकिन नभएको बताएका छन् ।

प्रतिक्रिया