नेपालले चीनबाट सिक्नुपर्ने कुरा

‘सधैँभरि आर्थिक सहायता र सहयोग मात्र मागेर हाम्रो देशका विकास हुन सक्दैन । छिमेकी देशबाट र अन्य मुलुकबाट सीप सिकेर त्यहाँको सीप नेपाल भित्र्याउने कुरामा विशेष ध्यान दिनुपर्छ । अरू मुलुकका भरमा मात्र विकास गर्न खोज्ने आसे प्रवृत्तिले देशलाई कंगाल बनाउँछ’

यति वेला दुई दर्जनभन्दा बढी एजेन्डा लिएर प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा छन् । आशा गरौँ ति एजेन्डा पूरा हुनेछन् । ओलीको यो ६ दिने चीन भ्रमण हो । यो अवधिमा धेरै महत्वपूर्ण उपलविध हासिल हुने अपेक्षा धेरैको छ । ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने हाम्रो अभियानमा चीनले सहयोग र साथ दिने विश्वास गरिएको छ ।

इतिहासकै शक्तिशाली कम्युनिस्ट सरकारले अर्को शक्तिशाली कम्युनिस्ट देशसँगको सम्बन्धलाई के कसरी अघि बढाउला भन्ने चासो र जिज्ञासा सबैमा हुनु स्वभाविकै हो । यो भ्रमणलाई फलदायी बनाउन प्रधानमन्त्रीले विशेष ध्यान दिनुपर्छ । भारतको नाकाबन्दीपछि थप सुमधुर भएको नेपाल–चीन सम्बन्धले धेरै गति लिइसकेको छ ।

अब नेपाल–चीनबीचको सम्बन्ध र नेपाल–भारतबीचको सम्वन्धलाई सन्तुलित राखेर नेपालले प्रगति–उन्नति गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रा लागि दुई छिमेकी देशहरू बराबरी हुन ।चीन प्रस्थान गर्नुअघि संसद्लाई प्रधानमन्त्री ओलीले पूर्वाधार विकासमा सहकार्य हुने कुरा बताइसकेका थिए ।

छिमेकी देशका नाताले चीनले विश्वास राख्नु भनेको हाम्रो देशका लागि एउटा बलियो आधार हो । चीनले नेपालमा थुप्रै लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यो खुसीको कुरा हो । जलविद्युत, रेलमार्ग, र सडक सञ्जालमा हाम्रो देशले चीनबाट धेरै लाभ लिन सक्छ । भ्रमणमा बिआरआई व्यवहारिक कार्यान्वयन सँगै चर्चामा रहेका आठवटा नाकाखोल्ने विषयमा ठोस सहमति र सम्झौता यो भ्रमणले गर्नुपर्छ ।

यो भ्रमण सफल र सार्थक बनाउन अवसरको सदुपयोग गरी अघि बढ्नुपर्ने जरूरी देखिएको छ । नेपालको हित हुने खालका सहमति र सहकार्य आजको आवश्यकता हो । भारत र चीनजस्ता छिमेकी मुलुक विश्वकै तुलनामा तीव्र आर्थिक विकास गरेका मुलुक हुन । तर, छिमेकी देशहरूले त्यति धेरै आर्थिक विकास गरिरहेको देखेर पनि नेपाल सधै गरिब नै छ । नेताहरूको चेत खुल्नुपर्ने हो खुल्न सकेन । जसले गर्दा हामी सधैँ गरिबै भयाैँ ।

अब सोच्नुपर्ने वेला आएको छ । दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्दै नेपालले प्रगति गर्नुपर्ने वेला घर्किनै लागेको छ । हाम्रो देशमा भएका स्रोत, साधनलाई परिचालन गरी देश विकास गर्न चीनजस्ता शक्तिशाली छिमेकी देशको सहयोग र साथ जरूरी छ ।

चीनमा पनि विगत ७० वर्ष यताका सबैभन्दा शक्तिशाली राष्ट्रपति सी जिनपिङ सत्तासीन छन् । त्यसैले हाम्रा प्रधानमन्त्रीको चीन भ्रमण सदभावना भ्रमणमा मात्र सीमित नभई दुई देशबीचको सम्बन्ध विस्तार र विकास, समृद्धिको लागि सहयात्रा गर्ने कुरामा केन्द्रित हुनुपर्छ । प्रधानमन्त्री ओलीको यसपटकको भ्रमण अघिल्ला प्रधानमन्त्रीको भन्दा धेरै महत्वपूर्ण छ । किनभने मुलुकमा झन्डै दुई तिहाई बहुमतसहित कम्युनिस्टको सरकार छ । सरकारको नेतृत्व ओलीले नै गरेका छन् ।

त्यसकारण पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणले विशेष महत्व राखेको छ । भारतले नेपालमा नाकाबन्दी लगाएको वेलामा ओली प्रधानमन्त्री थिए । त्यस वेला पनि ओलीको चीन भ्रमण भएको थियो । अघिल्लो चीन भ्रमणमा गरेका सम्झौता र सहमति अझै कार्यान्वयनमा आएका छैनन् । ती सहमति र सम्झौता यसपालीको चीन भ्रमणबाट कार्यान्वयनमा ल्याउनुपर्छ ।

अहिले हाम्रो मुलुकमा सरकार पनि स्थिर छ । विकास र समृद्धिको खाका कोरेर अघि बढ्ने अभियानमा नेपाल छ । नेपालले चीन र भारत दुवै देशहरूसँग सुमधुर र सन्तुलित सम्बन्ध राखेर देशको विकास र समृद्धिका लागि सहयोग र साझेदारीको नीति लिएर अघि बढनुपर्छ , यो हाम्रो आवश्यकता हो । भारतसँगको सम्बन्धलाई पनि हामीले अझै ठोस रूप दिँदै कार्यान्वयन प्रक्रियामा जानुपर्ने आवश्यकता छ ।

हाम्रा लागि भारत र चीन असल छिमेकी मित्रराष्ट्र हुन् । हामीले यी दुई देशलाई सन्तुलित कूटनीतिक डिल गरेर राख्नुपर्छ । एउटा खुसीको कुरा के हो भने हाम्रा छिमेकी दुवै देश भारत र चीनबीचको सम्बन्धमा पनि धेरै सुधार हुँदै गएको छ । छिमेकी देशहरू मिलेर जानु राम्रो कुरा हो । यसलाई नेपाल सरकारले सकारात्मक रूपमा लिनुपर्छ । हाम्रो देशको परराष्ट्र नीति दुवै देशसँग सहकार्य गरेर अघि बढने खालको हुनुपर्छ ।

त्यसो भयो भने हामी परराष्ट्र नीतिमा सफल हुन्छौँ । जुन देशको परराष्ट्र नीति राम्रो हुँदैन, र त्यो देशले प्रगति पनि गर्न सक्दैन ।  प्रधानमन्त्री ओलीको अघिल्लोपटक भएको भ्रमणमा चीनसँग पारवहन सुविधा सहितका १० वटा महत्वपूर्ण सम्झौता भएका थिए । अब ती सम्झौताले मूर्त रूप लिनुपर्छ । अब हामीले चीनको बाटो हुँदै अरू देशहरूसँग पारवहन सुविधा पाउनुपर्छ । चीनको बन्दरगाह उपयोग गर्दै तेस्रो देशसँग व्यापारिक सम्झौता विस्तार गर्ने विषय भ्रमणको मुद्दा बन्नुपर्छ ।

किनभने यी सबैका लागि यातायात सञ्जालको विस्तार अनिवार्य छ । काठमाडाैँ–केरूङ–लुम्बिनी रेलवे विस्तारको काम थालनी गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रधानमन्त्री ओलीले किमाथांका, तातोपानी, र हिल्सा नाका खोल्ने विषयमा चीन सरकारसँग स्पस्ट कुरा राखेर सहमत गराउनुपर्छ । रेलवे सेवा विस्तार र नाका खोल्ने कुरा अघि बढ्दा मात्र नेपालले प्राप्त गरेको पारवहन सुविधाको महत्व हुनेछ । हाइडोपावरको विकासमा पनि नेपाल सरकारले ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

ठूला ठूला हाइडोपावर आयोजनामा चिनियाँ लगानी भित्र्याउनु आवश्यक छ । यस विषयमा चीन सरकारसँग नेपाल सरकारले भ्रमणको वेला कुरा राख्दा धेरै राम्रो हुने छ । चीन आत्मनिर्भर र विकसित देश हो । यो देशबाट हामीले धेरै कुरा सिक्नु पर्नेछ । सधैँभरि आर्थिक साहायता र सहयोग मात्र मागेर हाम्रो देशका विकास हुन सक्दैन ।

छिमेकी देशबाट र अन्यमुलुक बाट सीप सिकेर त्यहाँको सीप नेपाल भित्र्याउने कुरामा विशेष ध्यान दिनुपर्छ ।अरू मुलुकका भरमा मात्र विकास गर्न खोज्ने आसे पवृत्तिले देशलाई कंगाल बनाउँछ । अहिले चीन भ्रमणको टोलीमा विभिन्न क्षेत्रबाट खारिएका प्रबुद्ध व्यक्ति समूहको सहभागिता रहेको छ । चीनको विकास र समृद्धिको मोडेल हेर्ने र सिक्ने यो ठूलो अवसर पनि हो । मौकाको फाइदा उठाउने काममा नेपाल सरकार लाग्नुपर्छ ।

कृषि, उद्योग, पर्यटन, वातावरण शिक्षा, स्वास्थ्य, ग्रामिण विकास आदी चीनले कसरी गरेको छ त्यो सिक्नुपर्नेछ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा करिब एक दर्जन नयाँ सहमति र सम्झौता हुँदै छन् । नेपाल र नेपाली जनताको पक्षमा सहमति र सम्झौता हुनु राम्रो कुरा हो । ओलीले नेपालको विकास र समृद्धिका लागि चीन सरकारसँग सहकार्यको बाटो अवलम्बन गर्न यति वेला सहज वातावरण बनेको छ।

भारतमा तिब्बती शरणार्थीका गतिविधिमा कडाइदेखि केहि समयअघि सम्पन्न अनौपचारिक उडान समिट र सांग्रिला डायलगको सम्बोधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देखाएको लचकताले चिनियाँहरू उत्साहित देखिन्छन् ।छिमेकका दुई विशाल देश बीचको राम्रो सम्बन्धलाई प्रधानमन्त्री ओलीले उपयोग गर्न सक्नुपर्छ ।

प्रधानमन्त्री ओलीले चीन नेपाल र भारतको सिएनआई त्रिदेशीय साझेदारीलाई अघि बढाउन यो भ्रमणलाई उपयोग गर्नुपर्छ । यसमा बढी चिनियाँहरू उत्साहित देखिन्छन् । उनिहरू उत्साहित हुनु भनेको नेपालको विकास र समृद्धिका लागी टेवा पुग्नु हो । चीनले त्रिदेशीय साझेदारीमा थप अग्रसरता लिने बताउँदै आएको छ ।

त्रिदेशीय साझेदारीलाई अघि बढाउन भारतलाई मनाउने कुरामा चीन सकारात्मक छ । दुई महिनाअघि ओलीको दिल्ली भ्रमण र एक महिनाअघि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुवै देशबीच राम्रो सम्बन्धविस्तार हुँदै गएको सन्देश दिइरहेको छ । अब कतैबाट पनि शंका गर्ने अवस्था देखिँदैन । अब विकास र समृद्धिका लागि नेपाल अघि बढने अवसर पनि हो यो ।

प्रतिक्रिया