प्रवास नीतिबाट पछि हटे ट्रम्प, परिवारका सदस्यसँगै बस्न पाउने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अवैध आप्रवासी सम्बन्धी नीतिबाट पछि हटेका छन् ।

अवैध आप्रवासीलाई उनीहरुका बच्चाबाट अलग नगर्ने निर्णयमा ट्रम्पले हस्ताक्षर गरेका छन् । उनका अनुसार अब प्रवासी परिवार एकसाथ बस्न पाउने छन् ।

यो निर्णय कहिलेदेखि लागू हुन्छ भन्ने कुरा स्पष्ट भइसकेको छैन । तर, ट्रम्प प्रशासनको निर्णयमा लेखिएको छ– अब अवैध आप्रवासी परिवारहरुलाई एकसाथ हिरासतमा राखिने छ ।

यदि आमा–बुवा हिरासतमा रहँदा बच्चालाई गलत प्रभाव पर्ने आशंका भएमा मात्रै उनीहरुलाई अलग्गै राखिने छ । यस्तो अवस्थामा बच्चाहरुलाई उनीहरुका आमाबुवाबाट कति समयसम्म अलग राख्ने भन्ने कुरा तर ट्रम्प प्रशासनको निर्णयमा उल्लेख नरहेको बीबीसीले जनाएको छ ।

आमाबुवाबाट अलग्गिएका बच्चाहरुको तस्वीर हेरेर आफ्को मन पग्लिएको ट्रम्पले बताएका छन् । त्यसैले यो पछिल्लो निर्णय लिइएको हो । उमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘म आफै परिवारबाट अलग भएको देख्न चाहँदैन । मेरी पत्नी मेलानिया र छोरी इवान्का पनि परिवार सँगै रहनुपर्छ भन्ने कुरामा समर्थन गर्दछन् ।’

मिडिया रिपोर्टस्का अनुसार मेलानिया र इवान्काले आप्रवासी कानुनमा नरम हुन राष्ट्रपति ट्रम्पलाई दबाव दिने गरेका थिए । पूर्वराष्ट्रपति बराक ओबामाले पनि ट्रम्प प्रशासनको पछिल्लो निर्णयको स्वागत गरेका छन् ।

यसअघि ट्रम्प प्रवासीहरुप्रति कडा देखिन्थे । उनले भन्ने गरेका थिए, यूरोपेली देशहरुले लाखौं प्रवासीहरुलाई शरण दिएर गलत गरिरहेका छन् । प्रवासीहरुलाई फर्काउने आफ्नो अभियानमा विपक्षी डेमोक्रेटिक पार्टीका सदस्यहरुले अवरोध गरेको भनेर ट्रम्पले आरोप लगाउने पनि गर्दथे ।

प्रतिक्रिया