अब मार खेप्ने पालो बिमा कम्पनीहरूको

‘पुँजी वृद्धि गर्नुपर्ने बाध्यताका कारण कतिपय बैंक तथा वित्तकम्पनीहरू मर्जर र एक्विजिसनमा पनि गए । तर बिमा कम्पनीहरूमा भने यस्तो छाँटकाँट देखिँदैन । बिमा कम्पनीहरू पनि मर्जरमा जानस पर्ने भनाइ कतिपयको छ । तर बिमाकम्पनीहरूले बोनश सेयर र हकप्रद सेयरबाट नै आ–आफ्नो पुँजी पुर्याउन सक्ने अवस्था देखिन्छ । यसबाट मारमा पर्ने भनेका लगानीकर्ताहरू नै हुन् ’

 

लेखकः नरेन्द्रमान श्रेष्ठ

 बैक तथा वित्त कम्पनीहरूले नेपाल राष्ट्र बैकद्वारा तोकिएको समयमा पुँजी वृद्धि गरिसकेका छन् । नेपाल राष्ट्र बैकले ०७४ साल असार मसान्त सम्ममा आ–आफ्नो पुँजी बढाउन निर्देशन दिएको थियो । नेपाल राष्ट्र बैंकले दिएको समयावधि पनि अहिले सकिसकेको छ । ०७४ सालमा सेयर बजार ओरालो लाग्नुको कारण पुँजी वृद्धि हो भन्ने पनि गरिएको छ ।

०७४ सालमा नेप्से ३७४.०६ अकले घटेको थियो । अब पुँजी बढाउने पालो बिमा कम्पनीहरूको आएको छ बिमा कम्पनीको नियमन निकाय बिमा समितिले ०७५ साल असार मसान्त सम्ममा आ–आफ्नो पुँजी निर्देशन दिएको छ । बिमा कम्पनीहरूमध्ये जिवन बिमा कम्पनीहरूले कम्तिमा आफ्नो पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीहरूले एक अर्ब रूपैयाँ पुँजी पुर्याउनुपर्ने छ ।

पुँजी वृद्धि गर्ने समय थोरै मात्र बाँकि रहेकोले यतिवेला बिमा कम्पनीहरूलाई आ–आफ्नो पुँजी बढाउने चटारो भइरहेको छ । अहिले धेरैजसो बिमा कम्पनीहरूको पुँजी भनेको ४०÷५० करोड रूपैयाँ मात्र हो भन्दा पनि फरक नपर्ला । अब धेरैजसो बिमा कम्पनीहरूले शत प्रतिशत नै पुँजी बढाउनुपर्ने भएको छ । केहि निर्जीवन बिमा कम्पनीहरूले त शतप्रतिशत भन्दा बढी पुँजी बढाउनुपर्ने देखिन्छ ।

अहिले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका बिमा कम्पनीहरू २२ वटा जति छन् । जसमा १५ वटा निर्जीवन बिमा कम्पनी र ७ वटा जिवन बिमा कम्पनी छन् । केही बिमा कम्पनीले बिमा समितिले तोकिएको पुँजी पुर्याई पनि सकेका छन् । यसका लागि बिमा कम्पनीले हकप्रद सेयरको बाटो लिइरहेका छन् । पछिल्लो समयमा धेरैजसो बिमा कम्पनीले बोनस सेयर पनि दिने गरिरहेका छन् । पुँजी पुर्याइसकेका कम्पनीले भने नगद लाभांश नै दिने गरिरहेका छन् ।

कतिपय कम्पनीले पुँजी वृद्धिको लागि एफपिओ सेयर पनि जारी गरिसकेका छन् । कतिपयले त शतप्रतिशत हकप्रद सेयर जारी गरिरहेका छन् । अहिले बिमा कम्पनीहरूका लगानीकर्ताहरू पनि हकप्रद सेयरहरू भर्नको लागि लगानिको जोहो गर्न लागि परिरहेका छन् । एभरेस्ट इन्स्योरेन्स कम्पनीले तीन सय प्रतिशत हकप्रद सेयर जारी गर्ने तरखर गरेका छन् भने प्राइम लाइफ इन्स्योरेन्सले एक सय ६० प्रतिशत हकप्रद सेयर जारी गरिसकेको छ ।

त्यसैगरि, नेपाल इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गरिसकेको छ भने फेरि ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने तरखरमा छ । युनाइटेड इन्स्योरेन्सले पनि २ सय ४० प्रतिशत, सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत, प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंक तथा वित्त कम्पनीहरूको हकप्रद सेयरहरू भर्दाभर्दै बजारमा लगानी गर्ने क्षमतामा ह्रास आएको भनेर भन्ने लगानीकर्ताहरूले बिमा कम्पनीहरूको हकप्रद सेयरमा पनि लगानी गरिरहेका छन् ।

बैंक तथा वित्त कम्पनीहरूले भारी मात्रामा हकप्रद सेयर जारी गरेको कारणले सेयर बजार नै डामाडोल भएको र सेयर बजारले राम्ररी गति लिन नसकिरहेको भनाइ आइरहँदा बिमा कम्पनीहरूले पनि भारी मात्रामा हकप्रद सेयरहरू जारी गरेका छन् । जसका कारण सेयरबजारमा नकारात्मक असर पर्ने त होइन भनेर पनि लगानीकर्ताहरूको डराइरहेको अवस्था छ । जसका कारण सेयरको भाउ अझै घट्ने सम्भावना देखिएको छ ।

पुँजी वृद्धि गर्नुपर्ने बाध्यताका कारण कतिपय बैंक तथा वित्तकम्पनीहरू मर्जर र एक्विजिसनमा पनि गए । तर, बिमा कम्पनीहरूमा भने यस्तो छाँटकाँट देखिँदैन । बिमाकम्पनीहरू पनि मर्जरमा जानुपर्ने भनाइ कतिपयको छ । तर, बिमा कम्पनीहरूले बोनस सेयर र हकप्रद सेयरबाट नै आ–आफ्नो पुँजी पुर्याउन सक्ने अवस्था देखिन्छ । यसबाट मारमा पर्ने भनेका लगानीकर्ताहरू नै हुन् ।

पहिला–पहिला कुनै कम्पनीले हकप्रद सेयर जारी गर्दा लगानीकर्ताहरू उत्साहित हुन्थे र सेयरको भाउ पनि बढ्थ्यो । तर, पछिल्लो समयमा भने हकप्रद सेयरको बाढीले गर्दा लगानीकर्ताहरू त्यति उत्साहित भएको देखिँदैन बरू हकप्रद सेयर भर्नको लागि रकमको जोहो कसरी गर्ने भन्ने समस्यामा उनीहरू पर्ने गरेका छन् । बैंक तथा वित्त कम्पनीको जस्तो ठूलो मात्रामा हकप्रद सेयरको भारी बिमा कम्पनीहरूको बोक्नुपर्ने अवस्था भने देखिँदैन ।

तर, बैंक तथा वित्त कम्पनीहरूको हकप्रद सेयरको भारी बोकिरहेका सेयर धनीहरूको लागि भने बिमा कम्पनीहरूको पुँजी वृद्धिले समस्यामा पर्ने निश्चित हुन्छ नै।पछिल्लो समयमा सञ्चालनमा आएका बिमा कम्पनीहरूले पनि सर्वसाधारणलाई आइपिओ जारी गर्न पर्ने हुन्छ। यसकारणले पनि बिमा कम्पनीको थुप्रै आइपिओ जारी हुने देखिन्छ । यसले पनि सेयरबजारलाई नकारात्मक असर पार्ने सम्भावना छ ।

अबका दिनमा सेयर बजारमा सेयरको संख्या थपिएको थपियै हुनेछ । अबका दिनमा सेयरबजारमा नयाँ लगानिकर्ताहरू पनि थपिन पर्ने देखिन्छ । यसकालागि सेयरबजारका नियमन निकायहरूले पहल गर्नुपर्र्छ । नयाँ लगानीकर्ता लाई सेयरबजारप्रति आकर्षण गर्न पहलहरू नगर्ने हो भने सेयरबजार उँभो लाग्ने देखिँदैन । सेयरबजारमा १५ लाखभन्दा बढी लगानीकर्ताहरू रहेको बताइन्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरूलाई पुँजी वृद्धिको निर्देशन दिएपछि सेयर बजार नै डामाडोल भए ।

यसले सेयरबजारमा नकारात्मक असर परे कहिले नेप्से १८८१अंक सम्म पुगे त कहिले १२ सय विन्दुमा झरे । अहिले फेरि बिमा समितिले बिमा कम्पनीहरूलाई आ–आफ्नो पुँजी बढाउन निर्देशन दिएको कारणले सेयर बजार फेरि डामाडोल त हने होइन बैंक तथा वित्त कम्पनीहरूको पुँजी वृद्धिको कारणले डामाडोल भएको सेयरबजारले गति लिन नसकिरहेको अवस्थामा फेरि बिमा कम्पनीहरूको पुँजी वृद्धि ?

पुँजी वृद्धि गर्न भनेको राम्रो हो, पुँजी वृद्धि गर्नुपर्छ । तर, कम्पनीहरूको आवश्यकता अनुसारको हनुपर्छ नियमन निकायहरूले बाध्यता थोपरेर होइन । बिमा समितिले केही नयाँ बिमा कम्पनीहरूलाई सञ्चालनको अनुमति दिएका छन् एकातिर नयाँ बिमा कम्पनीहरूलाई अनमति दिने अर्कोतर्फ पहिला नै सञ्चालनमा रहेका बिमा कम्पनीहरूलाई पुँजी वृद्धि गर्न निर्देशन दिने कतै यो हतारमा गरेको जस्तो देखिएको छ ।

नयाँ बिमा कम्पनीहरूलाई सञ्चालनको अनुमति दिदाँ यसले सेयर बजारमा के–कस्तो प्रभाव पार्ने हो यसलाई पनि ध्यानमा राख्नुपर्ने हो । तर, यस्तो गरेको पाइएन भन्दा पनि फरक नपर्ला ।

प्रतिक्रिया