हालसम्म पनि भ्रष्टाचार नियन्त्रणको प्रयासले पूर्ण सफलता हासिल गर्न सकेको छैन । भ्रष्टाचार नै आर्थिक समृद्धिको बाधक हो । आर्थिक अपराधका कारण मुलुकको छवि धमिलिएको छ । भ्रष्टाचारविरोधी सम्पूर्ण पक्षधरले सामूहिक प्रतिबद्धता व्यक्त गर्दै न्यूनीकरण गर्ने कार्यमा पूर्ण सहयोग गर्नुपर्ने हुन्छ ।
आर्थिक सम्पन्नता प्रत्येक नेपालीको आम चाहना हो । यो जनचाहना पूरा गर्न गराउन राज्यका तर्फबाट आगामी १० वर्षे रणनीतिसहितको आर्थिक समृद्धिको शुभारम्भ यात्रा प्रारम्भ गरेको पाइन्छ । यो यात्रा तय गर्न सकारात्मक सोचसहितको चाहना हुनु जरुरी छ । चाहनाविना गरिने कार्यले मूर्तता हासिल गर्न सक्दैन । तसर्थ समृद्धिको यात्राबाट मात्र मुलुकले उच्च प्रतिफलसहितको आर्थिक सम्पन्नता प्राप्त गर्न सक्छ ।
यो मामिलामा जनविश्वास सिर्जना गर्नु पहिलो सकारात्मक कदम हुनेछ । यसका लागि सम्बन्धित कार्य क्षेत्रमा कार्यरत सफल व्यक्तित्वले आफ्नो क्षमता तथा दक्षताको उच्च प्रदर्शन गर्दै स–सम्मान व्यक्तित्व विकासलाई महत्व प्रदान गर्नुको साथै आफूलाई सुम्पिएको कार्य समय सीमाभित्रै पूरा गर्ने अठोट राख्नु आजको आवश्यकता हो । अतः संघर्षमय जिवनमा स्वाभिमानी व्यक्तित्वले मेहनतले आर्जेको न्यूनतम अर्थले आफ्नो तथा आफूमा आश्रित परिवारको असीमित आवश्यकतालाई क्रमबद्ध तवरबाट पूर्ति गर्दै पूर्णरूपमा आत्मसन्तुष्टि लिनु नै सही अर्थमा राज्यप्रति आफ्नो दायित्वबोध गरेको मान्न सकिन्छ ।
यस विपरीत विनापरिश्रम आफ्नो आर्थिक हैसियतलाई माथि उठाउने क्रममा सम्बन्धित मुलुकको कानुनद्वारा निर्देशन गरिएभन्दा अतिरिक्त रकमको जोहो गर्नका खातीर गैरकानुनी रूपमा अवैध धन्दाहरूलाई आत्मसात् गर्दै गरिने असीमित रकमको चाहनालाई भ्रष्टाचारको संज्ञा दिन सकिन्छ । विश्वको जुनसुकै स्थानका अतिरिक्त नेपालमा समेत ग्रैरकानुनी तवरबाट अर्थोपार्जन गर्ने गतिविधिले विगत केही समय यता तीव्रताका साथ निरन्तरता प्राप्त गर्दै आएको छ ।
भ्रष्टाचारजन्य क्रियाकलाप गरी अकुत रूपमा अर्थोपार्जन गर्ने जमात अल्पकालीन अवस्थामा उपल्लोस्तरको वैभवशाली जीवन गुजार्र्दै प्रतिष्ठित वर्गको रूपमा समाजमा मानसम्मान प्राप्त गर्न सफल रहने देखिन्छ । यद्यपि, कुनै–कुनै रूपमा कानुनको नजरभन्दा टाढा रहन नसकि दण्डको भागिदार बन्नुपर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन । उक्त घटनापश्चात् सम्बद्ध समूह पश्चातापको आगोमा जल्दै गरेको देख्न पाइन्छ । तदोपरान्त आत्मग्लानी बाहेक अन्यथा केही प्राप्त गर्न नसक्ने भएको हुँदा आर्थिक अपराधका क्रियाकलापबाट पृथक रहनु नै भ्रष्टाचार नियन्त्रणमा प्रत्यक्ष सहयोग गरेको मान्न सकिन्छ ।
आर्थिक अपराधको रूपमा रहेको भ्रष्टाचारजन्य गतिविधिहरू विश्वका अधिकांश मुलुकमा अत्यधिक मात्रामा अभिवृद्धि हुँदै गएको छ । राज्यपक्ष वा निजी क्षेत्रबाट सञ्चालन गरिने हरेक विकास निमार्णका क्रियाकलापमा हुन सक्ने सम्भावित भ्रष्टाचारजन्य गतिविधिलाई नियन्त्रण गर्न राज्य–पक्षबाट उत्तिकै सजगता अपनाउनु जरुरी छ । समय–समयमा मुलुकको आवश्यकताअनुसार कडा भन्दा कडा कानुनको तर्जुमा गरी व्यवहारमा ल्याइएको भए पनि हालसम्म पनि भ्रष्टाचार नियन्त्रणको प्रयासले पूर्ण सफलता हासिल गर्न सकेको छैन । भ्रष्टाचार नै आर्थिक समृद्धिको बाधक हो । आर्थिक अपराधका कारण मुलुकको छवि धमिलिएको छ । भ्रष्टाचारविरोधी सम्पूर्ण पक्षधरले सामूहिक प्रतिबद्धता व्यक्त गर्दै न्यूनीकरण गर्ने कार्यमा पूर्ण सहयोग गर्नुपर्ने हुन्छ ।
राज्यपक्षद्वारा अत्यन्त कडाइका साथ चालिने भ्रष्टाचार विरुद्धका साहसिक कदममा सबैले साथ दिनुपर्छ । प्रशासन यन्त्रमा रहने प्रबुद्धवर्ग लगायतका भावी पिढीहरूमा नियमसंगत बाहेकका अन्य गैरकानुनी तवरबाट अतिरिक्त आय–आर्जन गर्ने छैन भन्ने भावनाको अभिवृद्धि गराउन सकिए यस क्षेत्रमा धेरै हदसम्म सकारात्मक नतिजा आउनेछ । मौजुदा कानुनअनुसार कर्तव्य पथमा लिन रहने कसम खाई आफूलाई दिइएको कार्यमा सधैँ दत्तचित्त रहने प्रशासकीय समूह तयार गर्नुपर्छ । अवैध प्रकारले धन थुपार्ने चाहनाको अभिवृद्धि हुनु भनेको अन्ततः भ्रष्टाचारजन्य संस्कृतिको विकास हुनु हो ।
यस प्रकारको गलत मनसाय राखी कार्य गर्दा कुनै पनि समय कानुनको कठघरामा उभिन पुगिन्छ भन्ने सन्देशमूलक कथनहरू सम्प्रेषण गर्नुपर्छ । यसो भयो भने प्रशासन यन्त्रमा रहने व्यक्तिमा आर्थिक अपराधजन्य मनोवृद्धिमा न्यूनता आई आर्थिक शुद्धताले प्रश्रय पाउने छ । परिणामतः पादर्शिता, इमान्दारीता, जवाफदेहिता एवं कार्यकुशलताकोे अभिवृद्धि हुन गई आर्थिक अपराध नियन्त्रण गर्ने कार्यमा नौलो आयाम थपेको महसुस गर्न पाइनेछ । राज्यपक्षबाट भ्रष्टाचार नियन्त्रणका सन्दर्भमा अवलम्बन गरिने यस प्रकारका कदमहरू आर्थिक समृद्धिको मार्गमा कोसेढुंगा सावित हुनेछन् ।
नियम संगत बाहेक अन्य अवैध व्यवहारबाट अतिरिक्त आय आर्जन कुनै पनि हालतमा स्वीकार गरिन्न भन्ने भावनाको विकास नै भष्टाचारको सन्दर्भमा आंशिक सफलता हो भन्न सकिन्छ । किनकि आर्थिक अर्बूद रोगको नामले सुपरिचित भ्रष्टाचारको पूर्णरूपमा निर्मूलीकरण समाजबाट गर्न असम्भव प्रायः छ । विद्यमान गलत मनोवृत्तिलाई समाजबाट क्रमशः अन्त्य गर्दै आर्थिक विश्वासमय वातावरण तयार गर्नु नै यस क्षेत्रको सफलता हो । नेपाललगायत विश्वका कुनै पनि मानव समाजबाट भ्रष्टाचारजन्य काला कर्तुतलाई सहजै विस्तापित गर्न सकिँदैन । यद्यपि आर्थिक अनुशासनमा रहने दृढ अठोट गर्ने हो भने सहजता प्राप्तिमा बाधा भ्रष्टाचारको पक्षपोषक तत्व नागरिक समाज नै हो । सहजै तिरस्कार गर्नुपर्ने भष्ट्रका जमातलाई उच्च–सम्मान दिने नागरिक समाजको गलत व्यवहारका कारण सम्बद्ध पक्ष प्रोत्साहित भएको छ ।
विद्यमान कानुनहरू परिमार्जन गरेर कडा कानुन निमार्ण गर्दैमा यस क्षेत्रमा शून्यता छाउने पक्कै पनि होइन तथापि, न्यूनीकरण गर्ने कार्यमा निश्चित रूपमा सहयोगीको भूमिका खेल्ने छ । यसका लागि कानुनको त्रासभन्दा पनि आफ्नो व्यक्तिगत आचरणलाई आमूल परिवर्तन गर्नुपर्ने हुन्छ ।
तसर्थः कानुन निमार्णले मात्र यस्ता गतिविधिमा परिवर्तन हुने भएको भए विश्वका कतिपय मुलुकमा आर्थिक अपराधीलाई मृत्युदण्डजस्तो मानवताविरोधी कठोर सजायको व्यवस्थापन गरिएको भएता पनि पूर्णरूपले मुक्त भएको हालसम्म पनि देखिएन । बढ्दो भ्रष्टाचारलाई मुक्तकण्ठले प्रशंसा गर्नुभन्दा यस प्रकारका गैह्रकानुनी क्रियाकलाप माथि निगरानी बढाउँदै राज्यपक्षलाई जुनसुकै तवरले सहयोग गर्न आतुर रहने आमनागरिक समाजको साझा प्रतिबद्धताले भ्रष्टाचारलाई निमूर्लीकरण गर्न मद्दत पु¥याउँछ ।
प्रतिक्रिया