विष्णुप्रसाद शर्मा पराजुली
चैलेबाट देखिने नीलगिरि हिमालका चुचुरा, फराकिलो, लामो र सेतो कालीगण्डकीको बगर र उपत्यकालाई पछाडि पारेर हामी अगाडि बढ्यौँ । खैरा पहाडको फेँदमा लमतन्न सुतेको कालीको सेतो बगर पवित्र मात्र होइन औधि सुन्दर देखिएको थियो । हिजोका दिनमा मुस्ताङलाई रहस्यमय राज्य, हिमाल पारीको राजतन्त्र भएको क्षेत्र, संसारको सबैभन्दा उच्च स्थानमा भएको राजतन्त्र, तिब्बती संस्कृति भएको क्षेत्र, तिब्बती संस्कृतिलाई जीवित राख्ने ठाउँ, नेपालको ल्हासा भनेर खास गरी विदेशी पर्यटक एवं लेखकले भन्ने गरेका हुन् । राजतन्त्रबाहेक अन्य कुरा आजसम्म यथावत छन्–पुरातात्विक कुरा बाहेक । मोटरबाटो पुगेपछि आगामी दिनमा त्यहाँ हुने परिवर्तन, विकास, विकासले मौलिक संस्कृतिमा पर्ने प्रभाव पछिका दिनमा देखिने नै छ । ढिलो भए तापनि नेपालमा राजनैतिक परिवर्तन भयो । त्यो परिवर्तन हिमाल पारीसम्म पुग्यो र संसारकै सबैभन्दा उच्च ठाउँमा भएको नेपाल अन्तर्गत रहेको मुस्ताङगी राजतन्त्रले पनि विदा लियो ।
मुस्ताङ, विदेशी लेखक वा पदयात्रीले भनेको मात्र नभई भू–बनोट, वरपरका लोभलाग्दा हिमचुचुरा, परम्परागत संस्कृति, भेषभूषा, भाषा, पौराणिक परम्परामा आधारित संस्कार, धर्मकर्म, चाडपर्व, मनोरञ्जन, हिउँद–वर्षाको फरक जनजीवन आदीले गर्दा यो क्षेत्र साँच्चिकै अलौकिक छ । वैदिक साहित्यमा लेखिएको देवभूमि यहीँ हो । भौगोलिक सुन्दरता, हिन्दू संस्कृति र जीवन दर्शन एवं नेपाली र तिब्बती बौद्धधर्मबाट प्रभावित पौराणिक परम्परा जीवित रहेकाले विश्वका अनुसन्धानवेत्ता मुस्ताङ पुग्न लोभिन्छन् । मुस्ताङका साथै नेपालको हिमाल पारी हरेका जिल्लाहरू अध्ययन र अनुसन्धानका लागि खुला विश्व विद्यालय नै हुन् । खुला आँखाले देखिने चोर्तेन, माने ढुङ्गा, माने पर्खाल, गुम्बा, थांका, गुम्बाभित्रका भित्तेचित्र, गुम्बामा भएका शाक्यमुनि बुद्ध र विभिन्न गुरू, लामाका पुराना मूर्ति, सुनले लेखिएका पुस्तक, पाषाण युगका गुफाका यहाँका सम्पत्ति हुन् । त्यसका अतिरिक्त खैरा बालुवाका कण, गेरू, रातो, पहेँलो प्राकृतिक रङले लिपिएका पहाड, हिमचुचुरा, हिमनदीवाट महासागरमा पुग्न झरेका नदी, कुण्ड, शालग्राम, कुश, हावा–पानी–ताप–हिउँको कलाकारिताले कुँदिएका माटो र बालुका कलात्मक जङगल सबै ऐतिहासिक पुस्तकका महत्वपूर्ण पाना हुन् ।
तिब्बतको भू–बनोट नेपालका हिमाल पारीका जिल्लामध्ये माथिल्लो हुम्ला, माथिल्लो डोल्पा, माथिल्लो मुस्ताङ, माथिल्लो मनाङसँग धेरै मिल्छ । भौगोलिक फरक के भने तिब्बतको पठार लामो र फराकिलो छ । जबकि, हाम्रो भू–भाग साँघुरा, लामा र गहिरा खोँच, अग्ला चुच्चो परेका पहाड, स–साना उपत्यकाले भरिएको छ । डोल्पा र मुगुका वासिन्दा, त्यहाँको रहन–सहन र संस्कृतिमा नेपाली खस साम्राज्यको छाप पाइन्छ भने माथिल्लो मुस्ताङ र पश्चिम तिब्बतको संस्कृतिमा समानता देखिन्छ । हुन त, खस साम्राज्यको समयमा पश्चिम तिब्बतको गुगेदेखि कैलाशपूर्वसम्मको भू–भाग खस राज्यमा थियो । वैदिक ग्रन्थमा कैलास पर्वत र त्यस वरपरको क्षेत्रमा सुनका दरबार भएको र मानवको बसोवास भएको कुरा उल्लेख छ ।
मौलिक संस्कृति, उवा, जौ, आलु, स्याउ खेती, चौरी र भेडाबाख्रापालन, मौसमी व्यापार प्रणाली, विशिष्ट भौगोलिक फैलावट, वर्षमा ६ महिना हिउँले ढाकिने र ६ महिना जीवन चलायमान हुने हावापानी भएकाले माथिल्लो मुस्ताङ माथिल्लो डोल्पाजस्तै हिमालभन्दा दक्षिणमा बस्ने वासिन्दालाई नौलो, अलौकिक, रहस्यमय लाग्ने भूमि हो । वैदिक साहित्यमा देवता, ऋषिसहित अन्य गणहरूको वासस्थान भनेर उल्लेख गरिएको क्षेत्र पनि यहीँ हो जहाँ दामोदर हिमालदेखि दक्षिण त्रिवेणीधामसम्म भगवान विष्णु, शिव, देवता, ऋषिगण, बुद्ध, पदमसम्भव, अतिसाको ध्यान, तप, मुक्ति दर्शनको कथा, महिमा र चर्चा पाईन्छ ।
नेपालले यस क्षेत्रको सांस्कृतिक इतिहासको जरो पहिल्याउन प्रथम चरणमा वैदिक साहित्यभन्दा पहिलेको सामाजिक संरचना, जनजीवन, संस्कार र संस्कृतिको खोज गर्नुपर्छ । दोस्रो चरणमा त्यस खोजबाट प्राप्त परम्परा र संस्कृतिलाई वैदिक कालको वैदिक साहित्य, सामाजिक एवं सांस्कृतिक विकाससँग जोड्दै हिन्दु, बोन, बुद्धधर्मसम्म आउनुपर्छ । त्यसरी तेस्रो चरणमा त्यो सांस्कृतिक सिँढिमा चढेर त्यो भ¥याङलाई खस साम्राज्यको इतिहाससँग जोड्नुपर्छ । त्यसो हुन सकेमा नेपालको मानब विकासको इतिहास, त्यसबेलाको जीवन पद्धति, संस्कार र संस्कृति आजको आधुनिक युगसँग जोडिन सक्छ । तल्लो मुस्ताङ खास गरी गलेश्वर, कागबेनी, मुक्तिनाथसम्म, उत्तर पूर्वको दोमादर कुण्ड, उत्तर पश्चिमको मुस्ताङ हिमाल क्षेत्र धर्म, तप र ज्ञानका लागि वैदिक कालभन्दा पहिलेदेखि नै चर्चामा रहेको कुरा वैदिक साहित्यले छर्लंग पारेका छन् । चीनको हान राज्य (ई.पू. २०७ –२२०) को समयदेखि सुरू भएको रेशममार्ग जुन एसिया हुँदै मध्यपूर्व र दक्षिण युरोप पुगेको थियो त्यो मार्ग भारतदेखि कालीगण्डकीको किनार हुँदै तिब्बत ओहोर–दोहोर गर्ने गरेको कुरालाई नकार्न मिल्दैन । वैदिक ग्रन्थलाई आधार मान्दा यो मार्ग कम्तिमा ७ हजार वर्ष पहिलेदेखि चलनमा भएको हुनपर्छ ।
आठौँ शताब्दीमा गुरू पदमसम्भव र दशौँ शताब्दीमा धर्म गुरू अतिसा भारतबाट बुद्धधर्म विस्तार गर्न तिब्बत गएको कुरा त पुष्टि भइसकेको छ । यी दुवै गुरूका चित्र धेरै ठाउँमा पाइन्छ । सन् १९५२ मा जोसेफ टुची त्यहाँ पुगेर यस क्षेत्रमा भएका गुफालाई ‘बुद्धधर्म आउनुभन्दा पहिलेदेखि नै पवित्र रहेको गुफा’ भनेबाट यहाँको इतिहास धेरै पुरानो भएको थाहा हुन्छ । पश्चिमा लेखकले माथिल्लो मुस्ताङका सबै गाउँलाई मध्ययुगिन सहर भनेका छन् । युरोपमा सन् ५०० देखि १५०० सम्मको समयलाई मध्ययुग भनिन्छ । त्यसबेला त्यहाँका प्रमुख सहरहरू हाल मुस्ताङका हाम्रा सहरझैँ अग्ला पर्खालले घेरिएका हुन्थे । मुस्ताङको आधुनिक प्रशासनिक इतिहासको प्रसंग कोट्याउने हो भने खस साम्राज्यको समयमा डोल्पाको छार्का गाउँले मुस्ताङबाट कर उठाएर जुम्ला÷सिँजाका राजालाई बुझाउने गरेको पाइन्छ । यसरी सरसर्ती हेर्दा माथिल्लो मुस्ताङ माथिल्लो डोल्पाजस्तै आफ्नै मौलिकता भएको नेपालको अत्यन्त महत्वपूर्ण क्षेत्र हो । यसबारे थप चर्चा ल्होमान्थाङको चर्चा गर्दा पनि गरिने छ ।
सन १९५० मा टोनी हेगन, सन १९५२ मा जोसेफ टुची र सन १९६४ मा मिचेल पिसेल पुगेर पुस्तक लेखेपछि आधुनिक युगमा मुस्ताङको बढी चर्चा हुन थालेको हो ।
मिचेल पिसेलले उनको पुस्तक ‘मुस्ताङ – अ लस्ट तिब्तेन किङ्गडम’मा जानकारी गराए अनुसार सातौँ दलाई लामा (१७०८–१७५७) को मृत्युपछि तिब्बतमा पुगेर क्रिश्चियन धर्मको पुर्नविस्तार गर्न जोसेफ मारियाले इच्छा गरेका थिए । सन १७५९ मा उनले लेखेको त्यो पत्रमा मुस्ताङको बाटो भएर ल्हासा जान सकिने कुरा उल्लेख गरिएको थियो । त्यसवेला एउटा नक्सा थियो जसमा मुस्ताङ र ल्हासा देखाइएको थियो । त्यसपछि इतिहासविद डब्लु.जे. कर्कप्याट्रिकको पुस्तक ‘अन एकाउन्ट अफ द किङ्डम अफ नेपाल’ (सन् १७९३)मा मुस्ताङबारे सामान्य चर्चा लेखिएको छ । त्यसपछि बुखानन् फ्रान्सिस हेमिल्टन, क्याप्टेन थोमस स्मिथ, मङ्गो मेरी, एच.ए. ओल्डफिल्ड, इकाइ कावागुची, र स्भेन हेडिनले मुस्ताङबारे चर्चा गरेका छन् । अनुसन्धानबाट पुष्टि गर्न बाँकी रहे तापनि सामान्य रूपमा पुलस्त्य ऋषिको तपस्यास्थल, तप, ध्यानका कुरा, रेशममार्ग, पद्मसम्भव र अतिसाको यात्रा हेर्दा मुस्ताङमा मानवको बसोवास र ओहोर–दोहोर सिन्धु सभ्यताभन्दा पहिलेदेखि सुरू भएर आजसम्म निरन्तर रूपमा विकसित हुँदै गएको देखिन्छ ।
मैले नयाँ ठाउँको यात्रा गर्दा जति स्वाद पैतालाले भूमि स्पर्श गर्दा लिन्छु त्यति अन्य माध्यमबाट यात्रा गर्दा लिन सक्दिन । मोटरबाटो त्यसमा पनि नेपालका पहाडी जिल्लाका डोजरले उप्काएका आला सडकबाट यात्रा गर्नु भनेको कहिलेकाही त यमराजको निम्तो मान्न हिँडेजस्तो लाग्छ । यसपटक हाम्रो यात्रामा दुवै परेका थिए । चैलेबाट जिपमा कोच्चिएर ल्होमान्थाङ गयौँ भने ल्होमान्थाङबाट दामोदर कुण्डतर्फ भने पैदल यात्रा गरेका थियौँ । मौसम सफा थियो । प्राकृतिक कलाकारले हावाको छिनो, पानी र हिउँको रङ पोतेर बनाइएका फुस्रा पहाडको सौन्दर्य अपूर्व देखिन्थ्यो । आकासमा सेता बादलका बाक्ला पूmर्का नीलो आकासमा ओहोर–दोहोर गर्दै थिए ।
ध्याकार गुरूङ गाउँको उकालो नाघेपछि ताक्लाम भञ्ज्याङ (३६२४ मि.) र दाजोरी ला (३७३५ मि.) पार गरेर समर गाउँ (३६६० मि.) पुग्यौँ । अन्नपूर्ण हिम चुचुरा, नीलगिरि र दक्षिणतर्फ लम्केको कालीगण्डकीको उपत्यका हेर्ने यो उत्तम ठाउँ हो । पश्चिम उत्तरतिरको जाक्रीजंग पहाडको हिमनदीतिरबाट आएका थुप्रै स–साना खोला समर हुँदै कालीमा मिसिन्छन् । समर पुराना किल्लाका धेरै भग्नावशेषले घेरिएको गाउँ हो । हिमाली क्षेत्रका सबै गाउँमा बुद्ध धर्मको झलक दिने कलात्मक एवं सुन्दर प्रवेशद्वार बनाइएका हुन्छन्, जसले कला, धर्म र संस्कृतिको प्रत्यक्ष प्रतिनिधित्व गरेको हुन्छ ।
पुराना मन्दिर, किल्ला, गुम्बा, माने पर्खाल, स्तूप र चोर्तेन तथा दलिन र भित्तामा भएका भित्ते चित्र संरक्षण हुन नसक्दा समयको क्रमसँगै नष्ट हुँदैछन् । मृत्युपछि पुनर्जन्म हुन्छ भन्ने विश्वासलाई मान्दै यो क्षेत्रमा पनि कुनै दुरदर्शी लामाको पुनर्जन्म हुने छ र उसले फेरि गाउँको विकास गर्ने छ भन्ने कुरामा गाउँले विश्वस्त छन् । यहाँ त्यस्तै कुरामा विश्वास गरेर जीवन चल्दछ । मानव जीवन नष्ट हुन्छ त्यो ध्रुवसत्य हो । मानव निर्मित इतिहास, किल्ला, गढि, मन्दिर र गुम्बा, कला र संस्कृति भविश्यका पिँढीलाई देखाउन र सभ्यताको चिनारीको लागि संरक्षण गरिनुपर्छ । संसारले त्यस्तै, गरेर संरक्षण गरेका छन् भने हामी नेपालीले किन नगर्ने ? समरमा पनि पुराना पुरातात्विक किल्ला, गुम्बा, स्तूपा, भित्तेचित्र र माने पर्खाल जीर्ण भएर लोप हुने अवस्थामा छन् । तीनको संरक्षण गर्न अब स्थानीय सरकारले पहल गर्नुपर्छ ।
समर नजिकका रंगिन पहाडले मलाई तिब्बत यात्राको झल्को दिएको थियो । यहाँ धेरै ठाउँमा रंगरोगन गरेजस्ता पूर्णतः राता, कमेरे रङ र खैरा पहाडहरू देखिन्छन । यहाँका सबै घरहरू कमेरोले सुन्दर पारी लिपिएका छन् । डोल्पाझँै यहाँ पनि घरको समथर छानोमा लुङ्दर टाँग्ने गर्छन् । लाङटाङ र सोलुखुम्बुतिर भने घरको आँगनमा एउटा ठूलो र अग्लो काठमा बाँधेर लुङदर फहराइन्छ । समरबाट घिलिङ जाँदा दुईवटा बाटो प्रयोग गर्न सकिन्छ । एउटा बाटो यस क्षेत्रकै प्रख्यात स्वनिर्मित राङ्गबुङ्ग गुफा भएर जान्छ जुन बढी उकालो पर्छ भने अर्को बाटो भेना ला (३८६० मि.) र याम्दा ला (३८६० मि.) हुँदै स्याङबोचे (३८५० मि.) भएर जान सकिन्छ । यसबेला सञ्चालनमा रहेका सवारी साधन स्याङ्बोेचे भएर जाने गर्छन् तर, पैदल यात्री पर्यटक भने राङ्गबुङ्ग गुफा हँुदै जान्छन् ।
नेपाल र तिब्बती बौद्ध धर्मका ज्ञाता जर्नी टु मुस्ताङका लेखक जोसेफ टुचीका अनुसार राङ्गबुङ्ग गुफा, र स्वनिर्मित भनि विस्वास गरिएका मूर्ति बुद्धधर्मको प्रवेश हुनुभन्दा पहिलेका हुन् । यो क्षेत्र बुद्ध धर्मको विकास हुनुभन्दा पहिलेदेखि नै पवित्र स्थलको रूपमा थियो । गुफा बाहिर रहेका चार चोर्तेनमा शाक्यमुनि बुद्ध, पदमसम्भव, अमिताभ र अवलोकितेश्वरका भित्तेचित्र सजिएका छन् । गुफाको सुरूमै एउटा कालो मूर्ति देखिन्छ त्यसलाई स्वनिर्मित मूर्ति भनी पूजा गर्ने गरिन्छ । त्यस्तै, मूर्तिहरू खोटाङको हलेसीमा पनि छन् । यो गुफा र वरपरको पहाड चुनढुङ्गाबाट बनेको छ । धेरै विदेशीले यो गुफालाई मानव विकासक्रम अर्थात् ढुंगे युग (नवपाषाण काल ई.पू. १०,००० देखि ३३०० ताका) को हुन सक्ने धारणा पनि राखेका छन् । पश्चिम तिब्बतको गुगे (जान्दा)मा रहेका त्यस्तै गुफामा चिनियाँ सरकारले नयाँ खम्बा बनाई संरक्षण गरेका छन् भने त्यस गुफामा प्रकृतिले दिएको ठूलो ढुंगा छ, जसले थामको काम गरेको छ । आजकल पनि गुफाभित्र पूजा गर्ने धूप बाल्ने, पदमसम्भव, अतिसाका चित्र बनाउने र अन्य गुरूका मूर्ति चढाउने चलन छँदैछ ।
स्याङबोचेबाट पनि एउटा बाटो घिलिङ हँुदै घिमि तिर जान्छ भने अर्को बाटो तामा गाउँ, छुङगार, जैते हँुदै नीला (४०१० मि.) पार गरेर घिमि पुगिन्छ । स्याङबोचे भन्ने ठाउँ सगरमाथा क्षेत्रमा पनि छ । सगरमाथा क्षेत्रको स्याङबोचे गुम्बा प्रसिद्ध गुम्बा हो जसको इतिहास तिब्बतको रोङबुक गुम्बासँग जोडिएको छ । ल्होमानथाङ जाँदा जिपमा नै भए तापनि नि भन्ज्याङमा ओर्लेर त्यहाँबाट देखिने अन्नपूर्ण, नीलगिरि र अन्य हिमचुचुरा, कालीगण्डकीको उपत्यका र मुस्ताङका फुर्सा, राता, सेता, पहेला, खैरा देखिने पश्चिम तिब्बतको माटोको जङगल ९भ्बचतज ँयचभकत० जस्तै हजारौँ कलात्मक पहाड, गाउँ, हिउँदमा हिउँ र वर्षामा गाउँ वरपर खैरा पहाडबीच देखिने अपत्यारिलो हरियालीलाई हेर्न बिर्सियो भने हामी प्रकृतिको सुन्दर रचना देख्नबाट वञ्चित हुने छौँ ।
घिमिमा उत्तर–पश्चिम नाकताङ हिमतालबाट आएको नाकताङ खोला र पश्चिमबाट आएको घिमिखोला साङ भन्ने ठाउँमा मिसिन्छ । घिमि सानो गाउँ भए तापनि यहाँ यत्रतत्र छरिएर रहेका पुराना किल्ला, गुम्बा, माने पर्खाल, चोर्तेनले गर्दा यसलाई सानो भन्न सुहाउँदैन । मुस्ताङको सबैभन्दा लामो माने पर्खाल घिमिमा नै रहेको छ । यहाँको माने पर्खालमाथि छानो राखी विभिन्न रङले लिपेकाले घरभन्दा पनि सुन्दर भएर पर्यटकलाई आँखा झिम्क्याइरहन्छ । लिपपोत गरेकाले सुन्दर मात्र भएको होइन कि माने ढुंगामा लेखिएका अक्षरहरू पनि घाम, हावा र हिउँबाट सुरक्षित भएका छन् । मुस्ताङका सबै गाउँको सबैभन्दा सुन्दर पक्ष के भने यहाँको जीवित संस्कृति यहाँका गुम्बा, भित्तेचित्र, अग्ला भन्ज्याङ र माने पर्खालमा देख्न पाइन्छ । कैयौँ चोर्तेन र माने पर्खाल डोल्पा, नाम्चे, लाङटाङ, हेलम्बु, तिब्बत (चीन)का भन्दा सुन्दर र आकर्षक छन् ।
मुस्ताङका अधिकांश पहाड रंगिन छन् । कुनै–कुनै पहाड साँच्चिकै गाढा रातो देखिने भएकाले यहाँका वासिन्दा के विश्वास गर्छन् भने तिब्बती बौद्धधर्मका संस्थापक स्रङचङ गम्पोले राक्षसलाई मारी बौद्धधर्मको स्थापना गरेकाले त्यो राक्षसको रगतले गर्दा ती पहाड राता भएका हुन् । उजाड फुस्रो संसारमा गेरू, रातो, खैरो, कमेरो, पहँेलो माटोले पहाडहरूलाई प्रकृति माताले चिटिक्क पारेर राखेकी छन् । त्यो माटोलाई औषधिदेखि लिपपोतमा प्रयोग गरिन्छ । माटोलाई प्रयोग गरी लिपिएका घर, माने पर्खाल चोर्तेन एवं गुम्बाको आयु लम्बिएको मात्र नभई जीवन्त संस्कृतिले मानिसलाई आकर्षित गरेका देखिन्थे ।
स्थानीय वासिन्दाको पहुँचभन्दा बाहिरको कुरा के भने खम्पा विद्रोहको कालमा बचेका यहाँका पुरातात्विक महत्वका गुम्बा, चोर्तेन, माने पर्खाल, काठ र भित्ताका भित्ते चित्रहरू कडा घाम, हिउँ र हावाले गर्दा खतरामा परेका छन् । १९५६ देखि सन १९७० सम्म खम्पा विद्रोहीले चीन सरकारको विरूद्ध नेपालको डोल्पाको पूर्वी खण्ड छार्कादेखि मुस्ताङको पूर्वोत्तर भाग यारासम्म ठूलठूला आधार क्षेत्र निर्माण गरेर स्थानीयलाई सन्त्रासमा बाँच्न बाध्य पारे । त्यसवेला हाम्रा पुरातात्विक वस्तुहरू जस्तै गुम्बाका मूर्ति, थाङका, सुनको मसिले लेखिएका बौद्ध धर्मका धार्मिक पुस्तक चोरी भए । गाउँलेले अनाहकमा आफ्नै थलोमा विदेशी डाँका र विद्रोहीबाट असह्य कष्ट व्यहोर्नुप¥यो । बाँकी रहेका पुरातात्विक वस्तुको सुरक्षा र संरक्षण गर्ने दायित्व अब भने स्थानीय निकायमा आएको छ । म मानव न हुँ । यत्रतत्र छरिएका इतिहासका टुक्रा देख्दा मेरो छाति भने छियाछिया भयो । एकान्तमा फर्केर मेरो देशको इतिहास कसले खोजीदेला भन्दै भिरमा चरेको नाउरलाई साक्षी राखेर दुई थोपा आँसु त्यहीँ माने पर्खालमा चढाएँ र आफ्नो बाटो लागेँ ।
प्रतिक्रिया