बिपी राजमार्ग सिन्धुलीको कि राज्यको ?

फणिन्द्र फुँयाल ‘ज्वाला’

राजमार्गमा निर्वाधरूपमा सबै प्रकारका सवारी साधन गुड्न पाउनुपर्छ । कुनै काइते र बेतुकका नीति छन् भने तिनलाई सच्याउनुपर्छ । बाटो भत्किए बनाउनुपर्छ । बजेट छैन भने सरकारले विनियोजन गर्नुपर्छ । बिपी राजमार्ग सिन्धुलीको मात्र सम्पत्ति होइन, यो राज्यको सम्पत्ति हो । अबका दिनमा कसैले पनि केही वस्तु, साधन र श्रोतमाथि सिन्डिकेट लाद्नु हुँदैन ।
यो राजमार्गको स्तर उन्नति गर्ने काम सरकारको हो । सवारी त जस्तोसुकै भार बहनको होस् त्यो चलाउन पाउनु, सामान ढुवानी गर्न पाउनु जनताको नैसर्गीक अधिकार हो । बाटो भत्किन्छ भनेर सवारीसाधन चल्न नदिनु र नयाँ लुगा फाट्छ, मैलिन्छ भनेर मैलो, पुरानो, फाटेको लगाउने ? कि नांगै हिँड्ने ?

त्यसैले, कुनै नीति, विधि, विधान र कानुनले प्रगतिशील र क्रान्तिकारी विकास निर्माणका काम गर्न रोक्छ भने त्यस्ता पश्चगामी कानुन फेर्ने काम सरकारको हो । सरकार नझुक, साथ दिने जनता छन् । सोच फराकिलो राखौँ

बिपी राजमार्ग बचाउने नाममा जिल्लाका केही पत्रकार, बुद्धिजिवी र समाजसेवी भन्नेहरू केही दिनअघि सिंहदरबारस्थित मन्त्रालयमै पुगेर भारी क्षमताका सवारी चलाउन नदिन ज्ञापनपत्र बुझाउन गएको देख्दा निकै टिठ लाग्यो । यस्तो भँगेराको जत्रो छाति राखेर जिल्लाको विकास हुन्छ र ? यस्तो सोचाइले जिल्लाको विकास गरौँला भन्ने सोचाइ उनीहरूले राखेको भए त्यो केवल दिवा सपना मात्र हुनेछ ।

आजको विज्ञान र प्रविधिको युगमा पनि यत्ति सानो सोचाइ राखेर सिंगो नेपालको विकास गर्न सकिँदैन । त्यसैले राष्ट्र निर्माणको यस अभियानमा समाजका हरेक क्षेत्र, पेसा, वर्ग, र समुदायका जनताले फराकिलो सोचाइ लिएर निःस्वार्थी भावले अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र सिन्धुली मात्र होइन समग्र देश बन्नेछ ।

प्रतिक्रिया