एकै मण्डपबाट दुई श्रीमती


नयाँ दिल्ली । भारतको महाराष्ट्र राज्यमा पर्ने कोटग्याल गाउँ पछिल्लो केही दिनयता निकै चर्चामा छ । चर्चाको विषय हो, मे ५ मा भएको एउटा बिहे जसमा दुलहा एकजना तर उनका लागि दुलही दुईजना थिए । दुलहीहरू धुरपता र राजश्री शिरगिरे दिदीबहिनी हुन् जोसँग साइनाथ उरेकरले बिहे गरेका हुन् । हाम्रो कार कोटग्याल गाउँ पुग्दा दिउँसोको २ बजेको थियो । कार पुग्नासाथ गाउँलेहरू हाम्रो वरिपरि जम्मा भए ।

मान्छेहरूको हाउभाउ हेर्दा कुनै टिभी च्यानल आउने उनीहरूको अपेक्षा थियो । हामीले शिरगिरेको घरबारे सोध्दा भीडमा भएका एकजनाले भने, ‘धेरै टेलिभिजन च्यानलहरूबाट आइसके, अब त नआऊन् । बिहे गरेर उनीहरूले दाम्पत्य जीवन पनि बिताउन थाले ।’ केहीबेरपछि भीडमा भएका अर्को व्यक्तिले शिरगिरेको घर हामीलाई देखाए ।

दुलहीको घर पुग्दा हामीसँग ७÷८ जना भेटिए । तर हामीसँग कुरा गर्न उनीहरूमध्ये कोही पनि तयार थिएनन् । हामीले बिहेबारे सोध्दा उनीहरूले भने, ‘जे भयो राम्रो भयो । तपाईं यो विषयमा कुरै नगर्नु ।’ दुलहीका आमाबुवा कता हुनुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा जवाफ आयो, ‘उहाँहरू बाहिर जानुभएको छ र दुलहा–दुलही पूजा गर्न जानुभएको छ । ४÷५ दिनपछि फर्किनुहुन्छ ।’

तीन घण्टा लामो प्रयत्न गरे पनि कुनै पनि कुरा बताउन कोही राजी भएनन् । अन्त्यमा साढे ५ बजेतिर दुलहीहरूको काकाका छोरा प्रकाश शिरगिरे हामीसँग कुरा गर्न तयार भए । उनले भने, ‘उनीहरूको संसार सुरू हुनुभन्दा पहिले नउजाडियोस् भनेर हामीलाई डर लाग्छ । एउटै केटासँग दुईजनाको बिहे गर्नु गैरकानुनी हो भन्ने कुरा हामीलाई थाहा थिएन । छोरीहरूको खुसी चिताएरै काकाले एउटै केटासँग बिहे गराएका हुन् ।’ साइनाथ उरेकर धुरपता र राजश्रीकी फुपूका छोरा हुन् ।

प्रकाश शिरगिरेले भने, ‘धुरपता बाल्यकालदेखि सुस्त मनस्थितिकी छन् र बिरामी भइरहन्छिन। उपचार गराउँदा पनि केही भएन ।’ ‘साइनाथ बाल्यकालदेखि राजश्री र धुरपतासँगै हुर्किएका हुन् । धुरपता सुस्त मनस्थितिको भएको थाहा हुँदा–हुँदै ऊ बिहे गर्न तयार भयो । र, उनीहरूले नयाँ जीवनको सुरूवात गरिसकेका छन् ।’ प्रकाशसँग कुरा गरिरहँदा छेउमा उभिएका मानिसहरूले हामीलाई फर्किन भनिरहेका थिए ।

त्यहीवेला दुलहा र दुलहीका आमा आइपुगेको एकजनाले इसारा गरेपछि हामी उनीहरूतिर गयौँ । हामीले सोध्नुअघि नै उनीहरूले भने, ‘हामीलाई थाहा छैन यो गलत हो अथवा सही तर हामी सबै खुसी छौँ ।’ हामीलाई यति भनेर उनीहरू गइहाले । साँझको ६ बजिसकेको थियो । यसबीचमा हामीले थाहा पायौँ कि दुलहा र दुलहीहरू बाहिर नभई दुलहाको गाउँ समराला गएका रहेछन् । हामीहरूले उनीहरूसँग सम्पर्क गर्न खोज्यौँ । सबैभन्दा पहिले हामीले कान्छी बहिनी राजश्रीसँग कुरा गर्यौ ।

उनले भनिन्, ‘दिदी सुस्त मनस्थितिको हुनुहुन्छ । जसका कारण उहाँको बिहे हुन समस्या भइरहेको थियो । कोही पनि बिहे गर्न तयार थिएन ।’मेरो चाहना थियो मेरो भन्दा पहिले दिदीको बिहे होओस्, साइनाथसँग मेरो बिहेको कुरा चल्दा मैले मेरो चाहनाबारे उनलाई पनि बताएँ । उनी हामी दिदीबहिनीसँग बिहे गर्न तयार भए । र, अहिले हामी तीनै जनाको संसार बसिसकेको छ ।’ राजश्रीसँग कुरा गरेपछि हामीले साइनाथसँग पनि कुरा गर्यौँ ।

उनले भने, ‘राजश्री मेरो मामाकी छोरी हुन्, म उसैको घरमा हुर्किएको हुँ । राजश्री र उसको परिवारका सदस्यले दुवै जनासँग बिहे गर्न सक्ने वा नसक्नेबारे मलाई सोधेपछि मैले सक्छु भनेँ अनि हाम्रो बिहे भयो ।’ ६० वर्षीय गंगाधर शिरगिरेकी तीनजना छोरी छन् । राजश्री, धुरपता र ज्योति । आफ्नो छोरा नभएपछि गंगाधरले बहिनीका छोरा साइनाथको आफैँले पालनपोषण गरेका हुन् ।

बाल्यकालमै साइनाथको बिहे धुरपतासँग गर्ने कुरा भएको थियो । तर, पछि धुरपताको मानसिक स्वास्थ्यमा सुधार नआएपछि राजश्रीसँग बिहे गर्ने निर्णय भयो । तर राजश्रीले साइनाथसमक्ष सर्त राखिन्, ‘यदि मसँग बिहे गर्ने हो भने भने तपाईंले मेरी दिदीलाई पनि स्वीकार्नुपर्छ ।’ साइनाथले राजश्रीको सर्त स्वीकार गरेपछि तीनै जनाको बिहे भयो । दुलहा–दुलहीका परिवारको मानसिक स्थिति बुझ्न हामीले गाउँका केही मानिसहरूसँग कुराकानी गर्यौँ ।

सन्तोष नाम गरेका एकजनाले भने, ‘कानुनी कारबाही हुन सक्ने डरले शिरगिरे परिवार तनावमा छ, उनीहरूलाई मनोपरामर्शको खाँचो छ ।’ त्यस विषयमा हामीले एकजना वकिल असीम सरोदेसँग कुरा गर्यौँ । उनले भने, ‘कानूनी रूपमा दुइटा बिहे गर्न पाइँदैन तर, उनीहरूको हकमा पनि मुद्दा चलाउन सकिन्छ ।’ ‘तर यहाँ केटाले एउटै दिदीबहिनीसँग बिहे गरेको हेर्दा अपराध गर्ने उद्देश्यले देखिँदैन । यो घटनामा कानुनी कदम चाल्दा कसैलाई फाइदा हुँदैन । सबै मिलेर यसको हल खोज्नुपर्छ ।’

प्रतिक्रिया