‘कब्र’बाटै हरायो सद्दामको शव !


अल–अवजा । फाँसीको सजाय पाइसकेका इराकका पूर्वनेता सद्दाम हुसेनको कब्रमा अब बिग्रेभत्केका कंक्रिट मात्र बाँकी रहेका छन् । सद्दामको मृत्युपछि उनको शव उनकै गाउँ अल–अवाजामा दफनाइएको थियो । तर, अब सो शवको कुनै अवशेष त्यहाँ देखिन्न । एक व्यक्ति, जसले ३० वर्षसम्म इराकको सत्ता सह्मालेका थिए, उनलाई फाँसीमा झुन्ड्याइएको थियो ।

तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले स्वयं सद्दामको शवलाई अमेरिकी सेनाको हेलिकोप्टरमा हालेर बगदाद पुर्याएका थिए । जहाँ अल–अवाजामा उनलाई दफनाइएको थियो ।  अहिले आएर यो कुरालाई लिएर प्रश्न उठ्न थालेको छ कि, आखिर सद्दामको शव गयो कहाँ ? के उनको शव अल–अवाजामै छ, कि कसैले खनेर निकाल्यो ? यदि कसैले खनेर निकालेको भए कहाँ लगियो ?

६७ वर्षीय सद्दामलाई फाँसी दिइएपछि उनको शव सुर्योदयअघि नै दफनाइएको थियो । त्यसपछि, यो स्थान एउटा तीर्थस्थलजस्तो भएको थियो । हरेक वर्ष २८ अप्रिलमा यहाँ विद्यालयका विद्यार्थी र सद्दामका समर्थक जम्मा भएर उनको जन्मदिन मनाउँथे । जब कि, यहाँ आउन पनि विशेष अनुमतिको आवश्यकता पर्दछ ।

कब्रबाट निकालेर जलाइयो ?
सद्दामको वंशसँग जोडिएका मनाफ अली अल–निदाका अनुसार सद्दामको कब्रलाई खनेर उनको शवलाई जलाइयो । जब कि, उनी पनि यस्तो गरिरहेको आफूले नदेखेको बताउँछन् । अर्कोतर्फ सद्दामको कब्रको सुरक्षामा खटिएका सिया अर्धसैनिक बलका अनुसार आतंकवादी संगठन आइएसआइएसले आफ्ना लडाका यहाँ तैनाथ गरेकाले इराकी हवाइ आक्रमणमा कब्र पनि क्षतविक्षत भयो । सुरक्षा बलका प्रमुख जाफर–अल–घरावी भन्छन्, ‘सद्दामको शव अहिले पनि यही छ ।’

के छोरीले लगिन ?
सद्दामसँग काम गरिसकेका एक लडाकाले सद्दामकी निर्वासित छोरी हाला एउटा निजी विमानमा यहाँ आई आफ्ना पिताको शव आफ्नै साथमा जोर्डन लिएर गएको बताउँछन् । यस कुरामा सद्दामका समयमा विद्यार्थी र अहिले प्रोफेसर बनिसकेका एक व्यक्तिले नाम नबताउने सर्तमा भने, ‘असम्भव, हाला कहिल्यै इराक आएकी नै छैनन् । शवलाई कुनै गोप्य ठाउँमा लगिएको छ ।

कसैलाई थाहा छैन कि कसले, कहिले, कहाँ लग्यो भनेर ।’ तर, केही अन्य मानिसजस्तै बगदादका अबु समिर सद्दाम अहिले पनि जिउँदै रहेको बताउँछन् । उनले भने, ‘सद्दाम मरेका छैनन् । जसलाई फाँसीमा झुन्ड्याइएको थियो, ती सद्दामका दुरुस्त स्वरूप भएमध्येका एक थिए ।’

प्रतिक्रिया