६४ किलोमिटर ट्रयाक खोल्न ३३ वर्ष !

केशवचन्द्र महरा  डोटी । बिपी नगर– बोगटान– दिपायल सडक निर्माण सुरु भएको ३३ वर्ष पूरा हुँदासमेत अझै पनि पूर्णता पाउन सकेको छैन । कैलालीका दुई र डोटीका चारवटा गाउँपालिका जोड्ने दिपायल –बोगटान सडकको अहिलेसम्म ६५ किलोमिटर सडकको ट्र्याक मात्र खोलिएको छ । यो ०४२ सालदेखि निर्माण कार्य थालिएको सडक हो । सुरुमा राष्ट्रिय योजनामा परेर काम थालेको भए पनि अहिले प्राथमिकताबाट हटाइएपछि सडक निर्माणले कछुवा गति लिएको स्थानीयवासी बताउँछन् ।

सडकको जंगल क्षेत्रमा वातावरणीय प्रभाव मूल्याकनमा भएको ढिलाइले दुईओटा आर्थिक वर्षको बजेट फ्रिज भएको सडक विभागका निर्देशक शिवकुमार नेपालले बताए ।  ‘पहिला वातावरणीय प्रभाव अध्ययनमा भएको ढिलाइले बजेट फ्रिज भए पनि अहिले काम निरन्तर भइरहेको छ, सडक निर्माणका लागि रकमको अभाव छैन’ उनको भनाइ छ । बोगटान सडक डोटी जिल्लाकै सबैभन्दा पुरानो सडक हो ।

सडकको निर्माण कार्य अलपत्र पर्दा यहाँको जीवनस्तरसमेत माथि उठ्न नसकेको स्थानीयवासी धनबहादुर कलले बताए । निर्माणाधिन यो सडकको निर्माण कार्य अनिश्चित भएपछि स्थानीयवासी निराश भएका छन् । छिमेकी जिल्ला कैलालीको चुरे गाउँपालिकाको सहजपुरदेखि डोटीको बडिकेदार अतरकाँडासम्म मात्र सडक पुगेको छ । १ सय ८ किलोमिटर लामो सडकको अहिलेसम्म ६५ किलोमिटर मात्र ट्र्याक निर्माण गरिएको छ ।

ट्र्याक खोलिएको उक्त सडकमध्ये १८ किलोमिटरमा मात्र १२ महिना सवारी चल्ने गर्दछ ।  सडक डिभिजन कार्यालयले निर्माण गरिरहेको सडक तत्कालिन समयमा कृषि सडकका रूपमा नामाकरण गरेर डोटीका साविकका १७ गाविसका कृषकलाई लाभ पु¥याउने उद्देश्यका साथ निर्माण सुरु भएको थियो ।

प्रतिक्रिया