बैठकमा नेतृत्वमाथिको आक्रोश स्वभाविक हो

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठकमा बोल्ने नेताहरूले निर्वाचन परिणाममा कांग्रेस निकै पछि पर्नुको कारणबारे फरकफरक धारणा राखिरहेका छन् । सभापति शेरबहादुर देउवा पक्षधर नेताहरूले यसलाई समग्र पार्टीको कमजोरी भनेर टिप्पणी गरेका छन् भने संस्थापनविरोधी समूहका नेताहरूले पार्टी पराजयको कारण नेतृत्व भएको भन्दै कडा आलोचना नै गरेका छन् ।

तर, मध्यममार्गी रूपमा आफ्ना धारणा राख्ने नेताहरूले भने यसलाई कांग्रेसलाई मजबुद बनाउने छलफलका रूपमा लिने गरेका छन् । उनीहरूले लामो समयदेखि कांग्रेसमा हुन नसकेको छलफलले अबका दिनमा कांग्रेसलाई मजबुद बनाउने सपना देखेका छन् । यसै विषयमा केन्द्रित रहेर हामीले नेपाली कांग्रेसका युवा नेता गगन थापासँग पार्टी केन्द्रीय समितिको बैठक, बैठकका उठेका मुद्दा लगायतका विषयमा सौर्यकर्मी टंक खनालले कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

कांग्रेस केन्द्रीय समिति बैठक निक्कै नै लम्बियो । के विषयमा छलफल भइरहेको छ ?
यो बैठकको एजेन्डा नै नेपालमा सम्पन्न तीन तहको निर्वाचन, निर्वाचनको परिणाम, नेपाली कांग्रेसले निर्वाचनमा जनताको मत जित्न नसक्नुको कारणका विषयमा छलफल गर्ने नै हो । यसै विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहनुभएको छ । समग्रमा निर्वाचनको परिणामको विषयमा समीक्षा भइरहेको छ ।

तर, बाहिर सार्वजनिक भएको तथ्य त नेतृत्वप्रति नेताहरू निक्कै आक्रोशित छन् भन्ने खालको छ त ?
हो पक्कै पनि बैठकमा पातलो पिरो खालका विषयले प्रवेश पाएको छ भन्ने कुरा बाहिर आयो । यसले सबैको ध्यान पनि आकृष्ट गर्ने कुरा नै भयो । त्यसैले कांग्रेसको केन्द्रीय समिति बैठकमा आपसी गालिगलौज, आक्रोश प्रतिक्रिया यस्तै व्यक्त भएको छ भन्ने देखिन्छ । निर्वाचनमा कांग्रेसले जुन किसिमको पराजय भोग्यो, यसका कारण अलिअलि टीकाटिप्पणी आउने कुरा स्वभाविक पनि भयो ।

निक्कै लामो समयदेखि बस्न नसकेको बैठकमा केन्द्रीय सदस्यहरूले खुलेरै आफ्नो धारणा राख्नुभएको पनि छ । मेरो अनुभवमा पनि नेपाली कांग्रेसले आन्तरिक रूपमा आफ्नो पार्टी सुदृढीकरण, भावी रणनीति, विगतको समीक्षालगायतका विषयमा यति धेरै गम्भीर भएर छलफल गरेको मेरो लागिचाहिँ पहिलो अनुभव नै हो ।  बैठकमा बोल्ने अधिकांश नेताले ०१५ सालदेखि अहिलेसम्मको समीक्षा गर्नुभएको छ । कांग्रेस अघि बढ्नेक्रममा कहाँ कसरी र किन चुक्यो ?

हामीसँगै अरु पार्टीहरूले के गरे भन्ने कुराहरूदेखि लिएर ०४८ सालदेखि नेपाली कांग्रेस आफ्नो मतको आधार किन गुमाउँदै गयो ? भन्नेसहितका थुपै–थुप्रै विषयका कुरा उठे । समीक्षा भए । कतिपय कुरामा मत बाझिएको पनि छ । व्यक्तिगत कुरा त फरक हुने नै भयो । तर, मलाई लाग्छ यो छलफलले कांग्रेसलाई धेरै अनुत्तरित प्रश्नको उत्तर दिन यो बैठक सफल हुनेछ । यो छलफल ठीक समयमा भएको छ । यसलाई हामीले सम्हालेर लैजान सक्यौँ भने कांग्रेसको प्रगतिका लागि यो नयाँ मार्ग बन्न सक्छ ।

शक्तिशाली कांग्रेस अहिले केही खच्कियो भनेर नै यो समीक्षा गरिएको हो त ?
यो अवस्थालाई हामीले एउटा कोणबाट मात्र हेरेर हुँदैन । ०५२ सालमा जनवादी राज्यसत्ता स्थापना गर्ने भनेर सुरु भएको माओवादी विद्रोह नेपाली कांग्रेसले ००३ सालमा भनेको संसदीय व्यवस्था मै आएर जनवादी राज्यसत्ताको पूर्णविराम लागेको छ । राजनीतिक मात्र होइन, आर्थिक अवस्थालाई हेरेर भन्ने हो भने, नेपाली कांगेसले ०४८ पछि आर्थिक उदारीकणको जुन यात्रा थाल्यो त्यसैले अहिले निरन्तरता पाइरहेको छ । सरकार जसको आए पनि सरकारको नेतृत्व केपी शर्मा ओलीले गरे पनि, प्रचण्डले गरे पनि आर्थिक उदारीकणका विषय नै प्राथमिकतामा परेका छन् ।

व्यवस्था थोरै फरक होला, कार्यशैलीलाई परिमार्जन गरिएको पनि होला तर, एजेन्डा भनेको नेपाली कांग्रेसले उठाएकै नै हो । म यसमा दाबाका साथ भन्छु । यो हिसाबले हेर्ने हो भने नेपाली कांग्रेसले यी विषयहरूलाई संविधानमा सूत्रबद्ध गर्नु । संविधान मान्दिनँ भनेको शक्तिलाई निर्वाचन प्रक्रियामा सहभागी गराउनु, तिनै शक्तिहरूलाई सरकार तथा प्रदेश सरकारका विभिन्न तहमा सहभागी गराउन सक्नु, यो त नेपाली कांग्रेसका लागि अभूतपूर्व उपलब्धी हो । नेपालमा नेपाली कांग्रेसले विश्वास गरेको राजनीतिमा सबैलाई सहभागी हुने अवस्था सिर्जना ग¥यो ।

तर, कांग्रेसले नै चुनाव हार्यो । त्यसैले नेपाली कांग्रेसले धेरै हीनताबोध गर्नुपर्ने कुनै कारण नै छैन । निर्वाचनका अवस्य पनि दुई पाटा हुन्छन जित र हार । यो आवधिक हो । फेरि अर्को निर्वाचनमा कांग्रेसले बहुमत ल्याउन कुनै अफ्ठ्यारो पनि छैन । ०६४ सालमा हामीले अहिलेको भन्दा कम मत पाएका थियौँ । तर, ७० सालमा फेरि जनताको विश्वास नेपाली कांग्रेसलाई नै भयो । हामी नै देशको सबैभन्दा शक्तिशाली ठूलो पार्टी बन्यौँ । अहिले फेरि मत केही कम भयो । यसरी एउटा निर्वाचन जित्दा त्यसपछिको अर्को निर्वाचन किन हार्याै भनेर समीक्षा गरौँ भन्ने बैठकको एजेन्डा हो ।

अर्को पार्टी निर्वाचनमा जितेर सरकारमा जाने विषय मात्र होइन । एउटा जिम्मेवार राजनीतिक दलसँग राष्ट्रिय दायित्वका विषय पनि जोडिएका हुन्छन् । अब पाँच वर्ष पछि हुने निर्वाचनमा हामीले जित्नुपर्नेछ । कांग्रेस कार्यकर्ताको एकमात्र लक्ष्य निर्वाचनमा कांग्रेस जित्नुपर्छ भन्ने नै हो । तर, आममतदातासँग त यो कुरा जोडिएको छैन । त्यसैले पाँच वर्षको अवधिमा कांग्रेसले किन जित्ने भन्ने कुरा आममतदाताले भन्नुपर्छ । यो वातावरण बनाउन बैठकमा समीक्षा भइरहेको छ । आगामी रणनीतिक योजनाका विषयमा पनि कुराकानी भइरहेको छ ।

कांग्रेस नेतृत्वकै सरकारले संविधान जारी गर्यो । तर, कार्यान्वयनको फेजमा जनताको मत जित्न सकेन । यसको समीक्षाचाहिँ कसरी गरिरहनुभएको छ त ?
हामीले यही विषयलाई गम्भीरताका साथ लिएर छलफल गरिरहेका छौँ । यसको एउटा मात्र कारण भने छैन । एउटा देखिने र साच्चै नै भएको कारण भने कम्युनिस्ट पार्टीबीचको एकता नै हो । देशका दुई ठूला कम्युनिस्ट पार्टी मिल्दैगर्दा निर्वाचनको परिणाममा ठूलो असर त्यसले पार्ने नै भयो । अहिलेको एमाले र माओवादीजस्तै निर्वाचनमा त्यतिवेलाको सत्तासाझेदार कांग्रेस र माओवादी मिलेको भए एमालेको अवस्था अहिलेको कांग्रेसको भन्दा पनि सानो हुन्थ्यो ।

बैठकमा डाक्टर मिनेन्द्र रिजालले एउटा तथ्यांक प्रस्तुत गर्नुभएको छ । स्थानीय चुनावमा कांग्रेस र माओवादीले जुन मत प्राप्त ग¥यो र नेकपा एमालेले जे मत प्राप्त बैठकमा नेतृत्वमाथिको आक्रोश र गालिगलौज स्वभाविक हो देशैभरी । यस्तो अवस्थामा कांग्रेस र माओवादी मिलेर चुनाव लडेको भए नेकपा एमालेको देशभरबाट नौ सिट आउने रहेछ । तर, कांग्रेस र माओवादी मिलेर चुनाव त लडेन एमाले र माओवादी मिलेर चुनाव लड्यो ।

यसरी दुई ठूला पार्टी एक ठाउँमा भएर लड्दा आएको मतको परिणामलाई सानो कारण नमानौँ यो सबैभन्दा ठूलो कारण हो भनेर धेरै सदस्यले भन्नुभएको छ । तर, यो मात्र कारणले कांग्रेस हारेको होइन । अरू पनि थुपै्र कारण छन् । त्यसका विषयमा हामी छलफल गरिरहेका छौँ । छलफलको निष्कर्ष तपाईंसमक्ष हामी चाँडै ल्याउने नै छौँ । अनि अर्को कुरा हामी विगतमा भएको निर्वाचनको समीक्षा गर्नसक्छौँ तर, भावी दिनमा त यी दुई पार्टी मिलिसकेपछि मिलेको पार्टीलाई हराउनुछ ।

यो चुनौतीपूर्ण काम पनि छ । त्यो भनेको हामीले ०१५ सालमा प्राप्त गरेको मतभन्दा पनि अलि बढी मत ल्याउनुपर्ने अवस्था छ, नेपाली कांग्रेस पहिलो पार्टी बन्ने हो भने, यो हामीले सानो कुराको रूपमा लिन मिल्दैन । निक्कै मजबुद र चूनौतीपूर्ण काम पनि छ ।

गुटउपगुटमा जेलिएको कांग्रेसमा तपाईंले भनेजस्तो नतिजा पाँच वर्षभित्र ल्याउन सम्भव छ ?
एउटा जीवन्त पार्टीमा गुटउपगुट हुन्छ । समूहहरू मिलेरै त सिंगो पार्टी बन्छ । पार्टीभित्र समूह बन्ने र भत्कनेक्रम रहन्छ । यो कांग्रेस मात्र होइन सबै दलमा छ । त्यो समस्या हुँदै होइन । समस्या त्यहाँनेर हो जहाँ गुट वा समूहका कुरामा पार्टी अल्मलियो वा पार्टीका समूहको स्वार्थ नै कार्यकर्ताको स्वार्थ भयो, पार्टीको स्वार्थचाँही गौण भयो भने समस्या हुन्छ । अहिलेको नेपाली कांग्रेसमा भएको पनि त्यही हो ।

एउटा पार्टीमा बस्नुको कारण हो विचार मिल्नु । विचारमा पनि कार्यशैली, कामको प्रकार, क्षेत्र, भूगोलका कारणले समूह बन्छ । यो नेपालमा मात्र होइन । तर, तिनै समूहको व्यवस्थापनको विषय नै पार्टीको दैनिकीको विषय बन्यो भने समस्या सिर्जना भयो । हामीले भोगेको पनि त्यही नै हो ।  अब हामीले धेरै अपेक्षा यही बैठकलाई राखेका छौँ । समूहबीचको विभाजनलाई कसरी चिरेर जान सक्छौँ ।

०६४ मा भएको पराजयपश्चात् पार्टीले जुन मिसन बनायो जसरी पनि हामीले जित्ने भन्ने त्यसैको परिणामले ०७०मा हामीले जनताको मत जितेको इतिहास त हाम्रासामू छ । माओवादीको दबदबाबाट कसरी निस्कने भन्ने हाम्रो एक मात्र मिसन थियो । सफल भयौँ हामी बाहिर निस्क्यौँ । अब हामीले पनि यो बैठकबाट यस्तै मिसन बनाउने हो ।

अहिले वामपन्थी सरकार बन्यो । नेपाली कांग्रेसले कडा प्रतिपक्ष हुने भनेको छ । संसद्मा तपाईंहरूको भूमिका कस्तो हुन्छ ?
हो एकदमै राम्रो विषय उठाउनुभयो । जनताहरूले पार्टीमा हामी के छलफल गर्छौं भन्ने कुरालाई प्राथमिकताका साथ हेरेका हुँदैनन् । हाम्रो उपस्थिति संसद्मै होस् भन्ने जनताको चाहना छ । त्यो चाहना हामी पूरा गर्छौं । सरकारले गर्ने कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कडा प्रतिपक्षीका रूपमा हामी हुन्छौँ । त्यस्तै संविधानको कार्यान्वयनका लागि हामी कहिल्यै पनि प्रतिपक्षी बन्ने छैनौँ ।

जसरी पनि जारी भएको संविधानलाई कार्यान्वयनको क्षेत्रमा पु¥याउनुछ । यसका लागि हाम्रो योगदान महत्वपूर्ण हुनेछ । त्यसमा पनि हामी सरकारको साझेदार हौँ, सहकर्मी हौ । कतिपय ठाउँमा हामी नेता नै हौँ । सरकारको शासनका विषयमा हाम्रा केही नीति छन् त्यसमा तलमाथि भयो भने हामी त्यसको विरोध गर्छौं नत्र, हामी सधैँ सहकार्यका साथ अघि बढ्छौँ ।

धेरै नेपालीले विश्वास गरेको युवा नेता तपाईं । वर्तमान सरकारलाई तपाईंले दिने सुझाव केही छ ?
यो छोटो समयका लागि आएको सरकार होइन । लामो समयपछि एउटा स्थिर सरकार आएको छ । यो राम्रो कुरा हो । सरकारको निश्चित उद्देश्य हुनुपर्छ । त्यसको कार्यान्वयनका लागि प्रधानमन्त्रीको नेतृत्वको टिम जुट्नुपर्छ । तर, अर्को कुरा मन्त्रीहरूले अहिले जुन रूपमा म यो गर्दै छु, म त्यो गर्छु भनेर भनिरहनुभएको छ त्यसबाट टाढा रहेर ।

सबैले मौन बसेर जनताले महसुस गर्ने गरी काम गर्नुपर्छ । अब हामी प्रतिपक्षी र जनता सबैले चाहेको कुरा भनेको काम हो । प्रचारका कुराले सरकारलाई माथि पुर्याउँदैन । यस विषयमा सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्री तथा मन्त्रालयको जिम्मेवारी पाउनुभएका मन्त्रीहरू सबै जानकार हुनुहुन्छ भन्ने मलाई लाग्छ ।

प्रतिक्रिया