अमेरिकी रक्षामन्त्री म्याटिस् काबूलमा

काबुल, २९ फागुन । अमेरिकी रक्षामन्त्री जिम म्याटिस् भ्रमणको पूर्व सूचनाविना नै मङ्गलबार अफगानिस्तानको राजधानी काबुल पुगेको समाचार छ ।

तालिबान लडाकूको विषयमा अफगान सरकारसँग गर्ने भनिएको शान्ति वार्ताबारे प्रारम्भिक छलफल गर्नको लागि भन्दै म्याटिस् काबुल पुग्नुभएको समाचारमा जनाइएको छ ।

अफगान राष्ट्रपति असरफ घानीले तालिबान लडाकू समूहसँग शान्तिवार्ता गर्ने खुलाशा गरेको दुई हप्तापछि यस युद्धग्रस्त सहरमा म्याटिस् पुगेका हुन् ।

तर तालिबान लडाकू समूहले औपचारिक रुपमा यस शान्ति वार्ताको भने पुष्टि गरिसकेका छैनन् । रक्षामन्त्री म्याटिस्ले तालिबानका केही नेताहरुले वार्तामा बस्ने इच्छा देखाएका जानकारी दिए ।

म्याटिसकाअनुसार तालिबान लडाकू समूहका नेताहरु छलफलको लागि अभिरुची देखाएका छन्, तर यसै वार्तामा सबैजना भने नआउन सक्छन् ।

सवै तालिबान एकै पटक वार्तामा आउने सम्भावना नरहेको तर तालिबानको आशयबाट उनीहरु अफगान सरकारसँग वार्ता गर्न इच्छुक भने रहेको म्याटिस्ले बताएका छन् ।

अमेरिकी सैन्य एयरफोर्सको विशेष विमानबाट उहाँ काबुल पुगेका हुन् । उनको आगमनका कारण सुरक्षा व्यवस्था निकै कडा पारिएको थियो ।

अन्ततः घानीको शान्ति सम्झौता योजनामा तालिबान लडाकू समूहलाई पनि राजनीतिक दलका समावेश गर्नेगरी सो वार्ता प्रक्रियालाई अघि बढाइएको छ ।

तालिबान आतङ्ककारी समूहले सुरुमा अमेरिकासँग मात्र सम्झौताको लागि तयार भएको जनाएको थियो । तर अहिले भने अफगान सरकारसँग पनि वार्तामा बस्ने संकेत गरेको बताइएको छ ।

प्रतिक्रिया