६० वर्षपछि ‘क्यास्ट्रो युग’ को अन्त्य

एजेन्सी

हवाना । आइतबार क्युबाली नागरिकले आफ्ना नयाँ राष्ट्रपति चुन्न मतदान गरे । विगत ६० वर्षमा यो पहलो पटक हो कि राष्ट्रपति कार्यालयमा क्यास्ट्रो परिवारका कुनै सदस्य पुग्ने छैनन् । मतदानमा ८० लाख क्युबालीले सहभागिता जनाएका छन् । अहिलेका राष्ट्रपति राहुल क्यास्ट्रोले आगामी महिना (अप्रिल) मा पद त्याग्ने घोषणा गरेका छन् ।

सन् २००८ देखि देशको राष्ट्रपति रहेका राहुल क्यास्ट्रोले २०१३ मा नै यो आफ्नो अन्तिम कार्यकाल भएको घोषणा गरेका थिए । अब नयाँ निर्वाचित सदस्यले अप्रिलमा नयाँ राष्ट्रपति चुन्नेछन् । जब राहुल क्यास्ट्रोका उत्तराधिकारी चुनिनेछन् तब १९५९ पछि राष्ट्रपतिका रूपमा फिडेल र राहुल क्यास्ट्रो बाहेकले नै राष्ट्रपतिको कार्यालय सम्हाल्नेछन् । अहिलेका उपराष्ट्रपति मिगुएल डियाज क्यानल यो पदका लागि सबैभन्दा लोकप्रिय रहेको बताइएको छ ।

राहुल क्यास्ट्रोलाई फेब्रुअरीको पहिलो साता नै पदबाट हट्नु थियो तर, इरमा आँधीले पु¥याएको क्षतिका कारण उनको कार्यकाल दुई महिना बढाइएको थियो । आँधीले क्युबामा १३ अर्ब डलरको नोक्सान पु¥याएको थियो । तर, राष्ट्रपति पदबाट हटे पनि राहुल कम्युनिस्ट पार्टीको प्रमुख भने रहिरहने छन् । अर्थात् उनीसँग राष्ट्रपतिभन्दा बढी शक्ति रहनेछ ।

राहुल क्यास्ट्रोले उनका दाजु फिडेल क्यास्ट्रोले स्वास्थ्य समस्याका कारण पद त्याग गरेपछि २००६ मा राष्ट्रपतिको कार्यभार सम्हालेका थिए । तर, आधिकारिकरूपमा भने भने उनी २००८ मा मात्र राष्ट्रपति बनेका हुन् । ६० वर्षदेखि क्युबामा क्यास्ट्रो ब्रदर्सको शासन रहेको छ र अब नयाँ राष्ट्रपति चुनिनासाथ क्युबामा क्यास्ट्रो युगको अन्त्य हुन सक्नेछ ।

आइतबार भएको मतदानबाट ६ सय १२ नेसनल एसेम्बली सदस्य चुनिने छन् । एसेम्बलीको निर्वाचन हरेक पाँच वर्षमा हुने गर्दछ । यही एसेम्बलीले देशको राष्ट्रपति, प्रथम उपराष्ट्रपति र अन्य पाँच उपराष्ट्रपतिका साथै एकजना सचिव तथा २३ अन्य सदस्य चुन्ने गर्दछ ।

प्रतिक्रिया