रोहिंग्याहरूको गाउँमा सैन्य क्याम्प खडा गर्दै म्यानमार

एजेन्सी
लन्डन । म्यानमारले देश छाडेर भागेका रोहिंग्यालाई फर्कन दिने कुरा बताइरहे पनि साँच्चै उनीहरू फर्कन मुस्किल देखिएको छ । म्यानमारको सेनाले ठाउँ–ठाउँमा आफ्नो क्याम्प खडा गरिरहेको छ जहाँ पहिले रोहिंग्याको बस्ती थियो र केही समयअघि त्यहाँ आगो लगाइएको थियो ।

एम्नेस्टी इन्टरनेसनलले सोमबार विस्तृत स्याटेलाइट तस्बिर जारी गर्दै आगो लगाइएका गाउँमा अब नयाँ सैन्य अड्डा बनाइएको देखाएको छ । रोहिंग्याविरुद्ध म्यानमारका सेनाले गरेको कारबाहीलाई संयुक्त राष्ट्र संघले ‘जातीय सफाया’ संज्ञा दिएको छ । एम्नेस्टीका क्राइसिस रेस्पोन्स निर्देशक तिराना हसनले रखाइन राज्यको पुनर्निर्माण धेरै गोप्य ढंगले भइरहेको बताएका छन् । उनले भनेका छन् प्रशासनले विकासका नाममा जातिय सफाया अभियानलाई अघि बढाउनु हँुदैनथ्यो ।

टेलिग्राफका अनुसार एम्नेस्टीले देखाएका नयाँ तस्बिरका अध्ययनले यो प्रमाणित हुन्छ कि, ३ सैन्य क्याम्प जनवरीदेखि अहिलेसम्ममा बनेका हुन् भने केही अझै निर्माणधिन छन् । हसनले अगाडि भने ‘हामीले देख्यो की सेनाले नाटकीय ढंगले जमिनमाथि कब्जा गरेको छ । ती जमिनमा तिनै सुरक्षाकर्मीका क्याम्प खडा गरिएको छ जसलाई रोहिंग्याविरुद्ध मानवताको अपराध गरेको आरोप छ ।’

यति मात्र होइन तस्बिरमा शरणार्थी स्वागत केन्द्रको बाहिर सेनाको भीड लगाइएको छ र अत्याधिक सेना तैनाथ गरिएको छ । गत वर्षको अगस्टदेखि रखाइन राज्यमा भएको हिंसाका कारण ७ लाखभन्दा बढी रोहिंग्याले देश छाडेर भागेका छन् । केही समयअघि म्यानमार र बंगलादेशबीच रोहिंग्यालाई फिर्ता गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया