अमेरिकासँग जुनसुकै मुद्दामा कुरा गर्न तयार छौँः पुटिन

मस्को, २७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश संयुक्त राज्य अमेरिकासँग जुनसुकै मुद्दामा पनि छलफल गर्न तयार रहेको बताएका छन् ।

उनले भने, हामी जुनसुकै मुद्दामा पनि कुराकानी गर्न तयार छौँ र अमेरिकाले पनि हामीलाई त्यस्तै हिसाबको व्यवहार गरोस् भन्ने हामी चाहन्छौँ ।

राष्ट्रपति पुटिनले अमेरिकासँग क्षेप्यास्त्रसँग सम्बन्धित विषयवस्तुहरु, साइबर स्पेस वा प्रतिआतंकवाद जस्तोसुकै विषयमा पनि कुराकानी गर्न हामी तयार छौँ भने ।

उनले रुसको एनबिसी मिडियासँगको कुराकानीमा सो धारणा सार्वजनिक गरेका हुन् । उनको सो अन्तरवार्ता उक्त मिडियाले शनिबार प्रकाशन गरेको छ ।

उनले सो अन्तरवार्तामा रुस र अमेरिकाले समस्या वा मुद्दा के छन् भन्ने बारेमा बसेर छलफल गर्नुपर्ने भन्दै यसलाई सार्वजनिक अभिव्यक्तिका रुपमा आक्रोस व्यक्त गर्नेभन्दा पनि वार्ता राम्रो हो भनेर हेर्नुपर्ने बताएका छन् ।

मलाई त लाग्छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पनि रुससँग सबै विषयमा, सबै मुद्दामा बसेरै वार्ता गरौँ भन्ने पक्षमा हुनुहुन्छ, तर कुनै अर्को शक्तिले उनलाई यसो गर्न दिइरहेको छैन राष्ट्रपति पुटिनले भने ।

उनले समयले अमेरिकालाई पनि रुससँग सबै विषयमा बसेरै वार्ता गर्ने काममा सघाउने र एउटै टेबलमा ल्याउने काम गर्नेमा आफू विश्वस्त रहेको पनि उनले अपेक्षा गरेको बताए ।

अमेरिका र रुसबीच पछिल्लो समयमा सम्बन्ध चिसिएको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले वर्तमान राष्ट्रपति ट्रम्पका पक्षमा काम गरेको भन्ने भनाई अमेरिकी मिडियाको रहेको छ ।

यस कुरालाई डेमोक्र्याटका तर्फबाट राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनले पनि अघिसारेका थिए । त्यसै विषयमा अमेरिकी मिडियाले पनि राष्ट्रपति ट्रम्पलाई निकै खेदेका थिए ।

तर यसलाई राष्ट्रपति ट्रम्पले भने स्वीकार गरेका छैनन् । तर पनि पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ । राष्ट्रपति भएका सुरुका दिनहरुमा भने ट्रम्पले रुसी राष्ट्रपति पुटिनको निकै प्रसंशा गर्ने गर्दथे । तर अहिले सम्बन्ध बिग्रिएको बताइएको छ ।

प्रतिक्रिया