त्रिपुरामामा लेनिनको सालिक ढालियो

एजेन्सी
अगलतला । त्रिपुराको बोलोनिया सहरमा कलेजप्लाजास्थित रुसी क्रान्तिका नायक भ्लादिमिर लेनिनको सालिक ढालिएपछि सुरु भएको हिंसामा सम्पूर्ण भारतीय वामपन्थी आक्रोशित भएका छन् । यो घटनामा सबै वामपन्थी पार्टीहरू आक्रोशित हुँदै भारतीय जनता पार्टीमाथि त्रास फैलाएको आरोप लगाएका छन् । भारतीय जनता पार्टीकै सहयोगी पार्टी जेडियूका सांसद हरिवंशले पनि यस्तो किसिमको घटनाको निन्दा गरेका छन् ।

सिपिआईका नेता डि राजाले भने, ‘म यो हिंसाको कडा निन्दा गर्दछु, यस्तो किसिमको हिंसा लोकतन्त्रमा स्वीकार्य हँुदैन । लोकतान्त्रिक निर्वाचनमा कुनै पार्टीले जित्नु र कुनै पार्टीले हार्नुलाई स्वभाविकरूपमा लिइन्छ । कसैले जितको उन्मादमा बर्बरता र हिंसाको साहारा लिन सक्दैनन् । कडाइका साथ कानुनको पालना गराइयोस् ।’ सिपिएमका नेता सीताराम येंचुरीले भनेका छन्, ‘त्रिपुरामा जस्तो किसिमको हिंसा भइरहेको छ, यसले स्पष्ट पार्छ कि आरएसएस– बिजेपी के चाहन्छ भनेर । हिंसाबाहेक यी पार्टीको भविष्य नै छैन । त्रिपुराको जनताले यसको जवाफ दिनेछन् ।’

सिपिएमले लेनिनको सालिक ढालिएको घटनाका बारेमा ट्विटरमा लेखेको छ, ‘त्रिपुरामा चुनाव जितेपछि भएको हिंसाले प्रधानमन्त्रीको लोकतन्त्रप्रतिको भरोसाको धज्जी उडाएको छ । त्रिपुरामा वामपन्थी र उसका समर्थकहरूमाथि त्रासको वातावरण फैलाउने कोसिस गरिएको छ ।’ केन्द्र र विहारमा बिजेपीको सहयोगी भनेर चिनिएको जेडियूका सांसद हरिवंशले भने, ‘यो गलत हो, यो राष्ट्रका मानिस भिन्नाभिन्नै विचारधारामा विश्वास राख्छन् । यो सत्य हो कि, शासन समाप्त भएपछि रुसमा लेनिनको सालिक ढालिएका थिए, भारत रुस होइन । लेनिनले सन् १९१७ मा गरिबहरूका लागि ठूलो क्रान्ति ल्याएका थिए ।’

यो घटनामा आफ्नो विवादित भनाइले चिनिएका सुब्रमन्यन स्वामीले भने, ‘लेनिन त विदेशी हुन्, एक प्रकारले आतंकवादी हुन्, यस्तो व्यक्तिको सालिक हाम्रो देशमा किन ? उनीहरू कम्युनिस्ट पार्टीको मुख्यालयभित्र सालिक ठड्याउन सक्छन् र पूजा गर्न सक्छन् ।’ अर्कोतिर केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले त्रिपुराका राज्यपाललाई पत्र लेखेर कानुनी वक्तव्यमा आँच आउन नदिन निर्देश गरेको समाचार छ । तर, गभर्नरको ट्विटर ह्यान्डलमा यस्तो किसिमको कुनै पत्र प्राप्त नभएको भन्दै खण्डन गरिएको छ ।

भर्खरै सम्पन्न विधानसभा निर्वाचनमा २५ वर्षे वामपन्थी शासन ढाल्दै पहिलोपटक भारतीय जनता पार्टी(बिजेपी)ले सत्ता प्राप्त गरेको छ । त्रिपुरा विधानसभामा बिजेपीले ३५ सिट प्राप्त गरेको छ भने उसको सहयोगी दलले प्राप्त गरेको सिटसमेत जोड्दा उसँग ४३ सिट पुग्छ ।

प्रतिक्रिया