जहाँ पैसा तिरेर बेहुली किनिन्छ …

बुल्गेरिया । सामान्यतया हामी बजारमा आफ्ना आवश्यकताका वस्तु किन्न जान्छाैँ । तर, तपार्इं सोच्न सक्नुहुन्छ कि, कुनै यस्ता ठाउँ पनि छन्, जहाँ वस्तु होइन, बेहुली किन्न मानिस बजार जान्छन् । बुल्गेरियामा यस्तै छ, यहाँको स्तारा जागोर नामको स्थानमा हरेक वर्षको चारपटक बेहुलीबजार लगाइन्छ । यहाँ आएर बेहुलाले आफूलाई मन परेकी बेहुली रोजेर आफ्नो पत्नी बनाउन सक्छन् । यो मेला यस्तो गरिब परिवारद्वारा लगाइन्छ, जसको आर्थिक अवस्था छोरी विवाह गरेर दिन सक्ने हुँदैन ।

बजारमा केटीहरूलाई बेहुलीका रूपमा श्रृंगार गरेर लगिन्छ । बेचिने बेहुलीमा लगभग सबै उमेरका महिला हुन्छन् । बेहुली किन्न केटासँगै प्रायः परिवारजन पनि जान्छन् । बेहुलाले पहिले बेहुली छान्दछ र उसलाई केटीसँग कुराकानी गर्ने अवसर दिइन्छ । केटी मन परेपछि उसलाई आफ्नी पत्नी स्वीकार गर्छ र केटीको परिवारलाई निर्धारित रकम भुक्तान गर्छ । बेहुली बेच्ने परम्परा यहाँको गरिब परिवारमा पुस्तौँदेखि चलिआएको छ । यसलाई कानुनी अड्चन पनि छैन ।

नियमको पालनामा कडाइ
यो बजार बुल्गेरियाको कलाइदझी समुदायद्वारा लगाइएको हो । यसै समुदायबाहेक बाहिरका कसैले पनि बेहुली किन्न पाउँदैनन् । बजारमा त्यही परिवार हुन्छन्, जो आफ्नो छोरीको विवाह गर्न आर्थिक रूपले कमजोर छन् । बजारमा केटीहरू एक्लै आउँदैनन्, परिवारका कुनै न कुनै सदस्य अवश्य हुन्छन् । प्रायः केटीपक्षले केटापक्षलाई दाइजो दिने चलन हुन्छ, तर यहाँ यसको ठीक उल्टो केटापक्षले केटीपक्षलाई तोकिएको रकम भुक्तानी गर्नुपर्ने हुन्छ । बजारमा केटाले मन पराएकी केटीलाई उसका परिवारले पनि बुहारी मान्नैपर्छ । यो नियमको पालना कडाइका साथ हुन्छ ।

प्रतिक्रिया