वैजनाथ मन्दिरमा ‘रुपाली होली’को रौनक

शेरबहादुर सिंह
भीमदत्तनगर, १६ फागुन । कञ्चनपुरको भीमदत्तनगरस्थित वैजनाथ मन्दिरमा अहिले परम्परागत रुपमा मनाइने ‘रुपाली होली’को रौनक छाएको छ ।

डडेल्धुराको रुपाल भन्ने ठाउँबाट बसाइँसरी कञ्चनपुरका विभिन्न स्थानमा बसोवास गर्दै आएका रुपाली समुदायका स्थानीयवासीले परम्परागत रुपमा मनाइने होलीलाई रुपाली होली भनिएको छ ।

यो वर्ष उनीहरुले मन्दिरमा रुपाली होली खेलिरहेका छन् । तत्कालीन डडेल्धुराको रुपाल गाविसमा बसोवास गर्ने स्थानीयवासीलाई यहाँको स्थानीय भाषामा रुपालवासी भनेर चिन्ने गर्दछन् ।

भीमदत्तनगरलगायत यहाँका विभिन्न बस्तीमा छरिएर रहेका रुपालीबीचको एकता र रंगिन पर्वसीत जोडिएको होली पर्व पुस्तौंदेखिको संस्कृति जगर्नेको माध्यम पनि बनेको रुपाली होली समाज भीमदत्तनगरका अध्यक्ष अर्जुनदेव जोशीले जानकारी दिए ।

होली समिति नै बनाएर कञ्चनपुरमा रुपालवासीले हरेक वर्ष धार्मिकरुपमै होली पर्वलाई आत्मसाथ गर्दै आइरहेका छन् । एकादशीदेखि भीमदत्तनगरस्थित वैजानथ मन्दिरमा विधिवत् रुपले शुरु हुने होली पर्व पूर्णिमासम्म सञ्चालन हुने अध्यक्ष जोशीले जानकारी दिए ।

‘भीमदत्तनगरमा मात्रै दुई सय भन्दाबढी परिवार रुपालवासीको बसोवास छ,’ अध्यक्ष जोशीले भने, “यो पटक चार दिन मात्रै होली हुने भएकाले मन्दिरमै होली खेल्ने निर्णय भएको हो ।” विगतमा रुपालवासीको घर÷घरमा होली खेल्ने गरिन्थ्यो ।

‘त्रयोदशी तिथि नभएकाले यो पटक धेरै लामो समय होली नहुने भएकाले रुपालवासी मन्दिरमै आएर होली खेलिरहेका छन्’ उनले भने, “भारतको कुमाउदेखि नै रुपालवासीले यो होलीलाई निरन्तरता दिँदै आएका हुन ।”

यहाँस्थित वैजनाथ मन्दिरमा होलीका लागि ल्याएको पित्तलको ढोल (बाजा) लाई पूजाअर्जना गरेर रुपाली होली मनाउन शुरु गरेको छ ।

‘मन्दिरमै होली खेल्ने र यही आएर समितिलाई दान, दक्षिणा दिने भनेका छौं’ अध्यक्ष जोशीले भने, “सोहीअनरुप स्थानीयवासी जम्मा भएर होली मनाउदैछ ।” वैजनाथ मन्दिरमै भगवानको आशिष लिएर होली विसर्जन गर्ने परम्परा रहेको उनको भनाइ छ ।

प्रदेश नं ७ मै ऐतिहासिक होलीका रुपमा लिइने रुपाली होलीको आफ्नै मौलिक विशेषता रहेको रुपालबाट भीमदत्तनगर बसाइँ सरेका समाजसेवी लोकबहादुर ठकुराठीले बताए ।

‘नयाँ पुस्ताका लागि पनि रुपाली होली परम्परागत ज्ञानको भण्डार नै हो,’ उनले भने, “होलीको निरन्तरताले संस्कृति संरक्षण पनि भएको छ ।”
परम्परागत शैलीमा खेलिने होली रुपाली समुदायका हरेक उमेर समूहका व्यक्ति गोलबद्ध भएर खेल्ने गर्छन् । यसको परम्परागत भाकामा होली गाइने चलन छ ।

जागिर तथा अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रुपालीवासीको होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्वका रुपमा पनि लिइने गरिन्छ ।

होलीबाट संकलन भएको रकम मन्दिरकै विकास एवं विस्तारमा खर्च गर्ने गरिएको होली समितिले जनाएको छ । ‘जसको घरमा बिहे र सन्तान भएको छ, उसले फगुवाहरुलाई होलीका मौकामा विशेष भोजन समेत गराउने चलन छ ।’

उनले भने, “यसले पम्परागत मान्यतालाई पनि बढावा मिलेको छ ।” रुपालवासीको डडेल्धुराबाट २०१७ सालदेखि तराईमा बसाइँसराइ गर्ने क्रम शुरु भएको थियो ।

प्रतिक्रिया