मुख्य मन्त्रीलाई गाडी खाेज्दै गृहमन्त्रालय

शरद शर्मा  काठमाडौं । सरकारले प्रदेशका मुख्यमन्त्री र मन्त्रीका लागि गाडीको जोहो गर्न थालेको छ । केन्द्रीय मन्त्रीलाईभन्दा पनि प्रदेशका मन्त्रीलाई गाडी नपाउने र तत्काल किन्ने अवस्था पनि नभएपछि गृहले केन्द्रबाटै गाडीको जोहो गर्न थालेको हो ।  केन्द्रीय मन्त्रीका लागि अहिले गृहसँग प्रयाप्त गाडी छन् ।

‘केन्द्रका लागि त गाडीको समस्या छैन’ गृह मन्त्रालय आन्तरिक व्यवस्थापन ‘ख’ शाखाका प्रमुख देव पौडेलले भने ‘ती गाडी प्रदेशमा पठाउन समस्या छ, त्यसैले विकल्पको खोजी गर्दै छौँ ।’यसअघिका प्रधानमन्त्री शेरबहादुर देउवाले ६४ जनाको मन्त्रिपरिषद् बन्दा गृहलाई गाडी जुटाउन समस्या परेको थियो ।

तर, अहिले संविधानले नै २५ जनाभन्दा बढी मन्त्रिमण्डल गठन गर्न नपाइने भएकोले पनि गृहलाई गाडी उपलब्ध गराउन समस्या नभएको हो । राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रिमण्डल विस्तार हुँदा सोमबार गृहमन्त्रालयमा गाडीको ताँती नै लागेको थियो । करिव १८ वटा सोनाटा र रियो कार तयारी अवस्थामा थिए ।सोमबार मन्त्रिपरिषद् विस्तार हुने खबर आएपछि आन्तरिक व्यवस्थापन शाखाले बिहानै १८ वटा गाडी तयार पारेका थिए ।

राष्ट्रपति कार्यालयबाट सात जना मात्र मन्त्री हुने भनेपछि सात वटा मात्र गाडी पठाएका थिए । अझ चार जना मन्त्रीले मात्र शपथ लिएपछि तीन गाडी फिर्ता भएका थिए । केन्द्रीय मन्त्रीले चढ्ने सबै गाडी आठ÷नौ वर्ष पुराना हुन् । पुराना भए पनि ती सबै गाडीको कन्डिसन भने राम्रो छ । अहिलेका मन्त्रीलाई चार वटा रियो र १४ वटा सोनाटा कारको व्यवस्था गरिएको छ ।

प्रदेश सरकारमा गाडीको समस्या
प्रदेश सरकारलाई भने गाडीको समस्या देखिएको छ । सात वटै प्रदेश सरकारका लागि कम्तिमा पनि सयको संख्यामा गाडी आवश्यक रहेको प्रमुख पौडेलले बताए । प्रदेशप्रमुख, मुख्यमन्त्री र मन्त्रीका लागि सात वटै प्रदेशमा करिब सय वटा गाडी आवश्यक परेको शाखाले अनुमान गरेको छ । एउटा प्रदेशमा कम्तिमा सातदेखि ११ जना मन्त्री बन्ने भएपछि त्यतिकै संख्यामा गाडी आवश्यक पर्नेछ । अहिले केही गाडी पठाए पनि अझै ९० वटा गाडी प्रदेश सरकारमा पठाउने तयारी गरेको छ ।

करिब ४५ वटा गाडी रहेको गृह मन्त्रालयले बाँकी गाडी जुटाउनका लागि अहिले विभिन्न मन्त्रालयबाट गाडीको विवरण लिइरहेको छ । सबै मन्त्रालयबाट विवरण पठाइसकेपछि गृहले प्रदेश सरकारमा अपुग गाडी खरिद गर्ने प्रक्रिया सुरु गर्नेछ । विवरण संकलन गर्न समय लाग्ने भएकाले त्यसवेलासम्म प्रदेशकै विभिन्न निकायमा रहेका गाडीबाट काम चलाउन गृहले निर्देशन दिइसकेको छ ।

राज्यमन्त्री पाख्रिनले गाडी फिर्ता गरेनन्
शेरबहादुर देउवा सरकारमा कानुन राज्यमन्त्री भएका धादिङका दिलमान पाख्रिनले अझै गाडी फिर्ता गरेका छैनन् । राज्यमन्त्रीबाट हटेको दुई हप्ता बित्न लाग्दा पनि उनले चढेको बा १ झ ८३२८ नम्बरको गाडी फिर्ता नगरेको हुन् । गृहमन्त्रालयले पटकपटक ताकेता गर्दा पनि गाडी फिर्ता नगरेपछि जफत गर्न पत्रचार गर्ने तयारी गरेको छ ।  उपसचिव पौडेलले कानुनमन्त्रालयमार्फत पाख्रिनलाई फिर्ता गर्नका लागि भनेता पनि अझै फिर्ता नभएको बताए । मन्त्री पदबाट हटेपछि सामान्यतया गाडी अर्को दिन गृह मन्त्रालयमा फिर्ता गर्नुपर्ने हुन्छ । पाख्रिन गत सम्पन्न निर्वाचनमा धादिङ–२ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका थिए ।

 

प्रतिक्रिया