सोल, १४ फागुन । तेइसौं शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी टोलीले दक्षिण कोरियाका एकजना उच्च अधिकारीसँग भेट गरेको छ ।
उत्तर कोरियाको सत्तारुढ दल वर्कर्स पार्टी अफ कोरियाको केन्द्रीय समितिका उपाध्यक्ष किम योङ चोलको नेतृत्वमा रहेको उक्त उच्चस्तरीय टोलीले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेटवार्ता गरेको हो ।
उपाध्यक्ष किम आइतबार राति सम्मपन्न शीतकालीन ओलम्पिकको समापन समारोहमा सहभागी हुन उत्तर कोरिया पुगेका हुन् । दक्षिण कोरियाली सञ्चारमाध्यमहरुले सोमबार सो समाचार दिएका छन् ।
यस भ्रमण तथा भेटवार्ताले दुइ देशबीचको सम्वन्ध आगामी दिनमा सुधार हुने र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसअघि उक्त खेलकूदको उद्घाटन समारोहमा उत्तर कोरियाको तर्फबाट किम यङ-नामको नेतृत्वको एक प्रतिनिधिमण्डल दक्षिण कोरिया पुगेको थियो । नाम उत्तर कोरियाको संसदका प्रमुख हुन् ।
उक्त प्रतिनिधिमण्डलमा उत्तर कोरियाली नेता किम जोन उनकी बहिनी पनि सहभागी थिए । उनले दक्षिण कोरियाका राष्ट्रपतिलाई भेटेर आफ्ना दाजुको तर्फबाट उत्तर कोरियाको भ्रमणका लागि निमन्त्रणा पनि दिएका थिए ।
लामो समयपछि भएका यी उच्चस्तरीय भ्रमणलाई अन्तरराष्ट्रिय जगतमा महत्वका साथ हेरिएको छ । दक्षिण कोरियाका राष्ट्रपति इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चोङ यु योङले सोमबार उत्तर कोरियाली नेता किमको सम्मानमा दिवाभोजको पनि आयोजना गरेका थिए ।
सो भोजका क्रममा उनीहरुबीच छोटो कुराकानी पनि भएको थियो । त्यस कुराकानी के विषयमा भएको थियो भन्ने बारेमा भने ती सञ्चारमाध्यमहरुले केही बताएका छैनन् ।
उत्तर कोरियाले बारम्बार गर्ने गरेको पारमाणविक र क्षेप्यास्त्र कार्यक्रमलाई लिएर उत्तर कोरियाको अन्तरराष्ट्रियरुपमा आलोचना भएको छ । यसै कारण पनि यी दुई देशबीचको सम्बन्ध पछिल्लो समयमा बिग्रिएको छ ।
उसले विगत लामो समयदेखि नै दबाब, नाकाबन्दी र प्रतिबन्धको सामना पनि गर्दै आएको छ । तर यो ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट भने सम्बन्धमा पछिल्लो समयमा केही सधार आएको महसुश गरिएको बताइएको छ ।
उता यसै खेलकूदका समयमा यस महिनाको सुरुवातमा आएको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि सोमबारै सार्वजनिक भएको छ ।
तर उनीहरुबीच दक्षिण कोरियामा भेटवार्ता भने भएको थिएन । यस खेलकूदका कारण उत्तर र दक्षिण कोरियाकासाथै अरु देशहरुसँगको सम्बन्धमा पनि केही सुधारका लागि सहयोग पुगेको अनुमान गरिएको छ ।
प्रतिक्रिया