तिवारी यादव
वीरगञ्ज, २ फागुन । चार महिना देखि तलब नपाएको भन्दै पर्साका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले बुधबार जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गरेका छन् ।
तलबभत्ताका लागि पटक पटक आग्रह गर्दा पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेकाले बाध्य भएर बुधबार जिल्लाका सम्पूर्ण विद्यालयहरु बन्द गरिएको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादवले बताए ।
दोस्रो चौमासिक तलबभत्ता र अन्य अनुदानहरु नपाएको भन्दै अध्यक्ष यादवले बुधबार पर्सा जिल्लाका सम्पुर्ण बिधालयहरु बन्द गर्नुका साथै स्थानीय निकायहरुमा लेखापाल, कार्यकारी अधिकृत र गाउँपालिका प्रमुखहरुलाई घेराउ गरेको जानकारी दिए ।
शिक्षकहरुले बुधबार बिरगञ्ज महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादवको नेतृत्वमा पुगेका शिक्षकहरुले महानगरपालिका कार्यालय घेराउ गरेका हुन ।
घेराउ गर्ने क्रममा मेयर बिजय सरावगीले मन्त्रालयबाटै रकम नआएकोले रकम चाडै पठाई दिन आफुले सक्दो पहल गर्ने आश्वासन दिँदै विद्यार्थीहरुको पठनपाठनमा असर नपुर्याउन तथा बन्द विद्यालय तत्काल खोल्न आग्रह गरे ।
यसअघि जिल्लामा कार्यरत सरकारी शिक्षकहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर अबिलम्ब दोस्रो चौमासिक किस्ता बापतको रकम फागुन १ गते भित्र सम्बन्धित सबै विद्यालयहरुको खातामा पठाइदिन भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।
पर्सा जिल्लामा रहेको १४ वटा स्थानीय तहहरुमध्ये अहिले सम्म ७ वटा स्थानिय तहले मात्रै सरकारी शिक्षकहरुको दोस्रो चौमासिक तबलको रकम निकासा गरेका छन् ।
तर बिरगञ्ज महानगरपालिका, पर्सागढी नगरपालिका तथा ठोरी, जगरनाथपुर, धोबिनी, बिन्दबासिनी र पकाहा मैनपुर गाउँपालिका कार्यालयले अहिले सम्म पनि शिक्षकहरुको तलब भत्ताको रकम सम्बन्धित विद्यालयको खातामा पठाएका छैनन् ।
प्रतिक्रिया