इजिप्टमा १६ र काश्मिरमा ६ को मृत्यु

नयाँदिल्ली, २८ माघ । इजिप्ट र भारत नियन्त्रित काश्मिरमा भएका छुट्टा छुट्टै सुरक्षा कारबाही र भिडन्तका क्रममा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

इजिप्टको उत्तरी र मध्य सिनाईमा सरकारी सुरक्षाकर्मीले गरेको सुरक्षा कारबाहीमा परी १६ जनाभन्दा बढी लडाकूहरु मारिएका छन् ।

आतङ्कवादीविरुद्धको मुख्य कारबाहीका क्रममा अन्य चार जनालाई गिरफ्तार पनि गरिएको इजिप्टको सेनाले आइतबार प्रकाशित गरेको विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाकर्मीले ११ वटा सवारी साधन, ३१ वटा मोटरसाइकल, केही विस्फोटक पदार्थ र अन्य हातहतियारसमेत नियन्त्रणमा लिएका छन् ।

त्यसैगरी भारत नियन्त्रित काश्मिरमा रहेको एउटा सैन्य कार्यालयमा शनिबार भएको आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या आइतबार छ पुगेको छ ।

लडाकूहरुले गरेको आक्रमणबाट मारिनेमध्ये पाँच जना सैनिक रहेका छन् भने एक जना सैनिकका बुवा रहेका छन् ।त्यस क्रममा चार जना लडाकू पनि मारिएको सैन्य अधिकारीले दाबी गरेको समाचारमा जनाइएको छ ।

घटनामा परी कुल ११ घाइते भएकोमा चार जना सैनिक र सात जना आमनागरिक रहेका छन् ।

प्रतिक्रिया