चीनले सामाजिक सञ्जाललाई हतियार बनाउला ?

–केन्ट ह्यारिङ्टन   सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाको हस्तक्षेप भएको भन्ने आरोपसँगै युरोपेली अधिकारीले पनि यस्तै भूमिकाको खोजी गरिरहेका छन् । तर, यसखालका कुरामा ध्यान दिनेमा युरोपेली मात्र छैनन् । चीनका नेता पनि क्रेमलिनको सफलताबाट के सिक्न सकिन्छ भनेर सोचिरहेका छन् ।चीनका राष्ट्रपति सी चिनफिङलाई आन्तरिक स्थायित्व कायम गर्नु उच्च प्राथमिकताको विषय हो । यो विषयले चीनको वार्षिक बजेटमा आन्तरिक सुरक्षालाई महत्व दिएको छ । औपचारिक बजेटमा कम देखाइए पनि चीनले एक सय अर्ब अमेरिकी डलरभन्दा बढी बजेट आन्तरिक सुरक्षाका लागि छुट्ट्याएको छ ।

अनुसन्धान र विकास लगायतका नदेखिने खर्च वा प्रतिरक्षा खर्चमा त बजेटको वास्तविक राशि योभन्दा धेरैले बढी छ ।उदाहरणका लागि चीनले सामाजिक सञ्जालदेखि क्रेडिट कार्डबाट हुने खर्चलाई अनुगमन गर्न प्रविधिको ज्ञान र ठूला तथ्यांक कसरी प्रयोग गर्ने अध्ययन गरिरहेको छ र चीनले सबै नागरिकलाई सामाजिक विश्वसनीयताको मूल्यांकन गर्न र सम्भावित समस्याका कडीलाई खोज्न प्रविधिको दायरा अघि बढाउने योजना सारेको छ ।  सरकारको अरेबियन रणनीतिअनुसार सामाजिक सञ्जालमा के भनियो भन्ने विषयलाई नियन्त्रण गर्ने मात्रभन्दा राज्य तथा यसको वरपर कसरी सूचना प्रवाह भइरहेको छ भन्ने विषयलाई महत्व दिइने गरेको छ ।

यसबाहेक सरकारले प्रविधिजन्य कम्पनीलाई कडा नयाँ कानुन र साइबर सुरक्षा अनुसन्धानको दायरामा ल्याइरहेको छ । सीका लागि क्रेमलिनले फेसबुक तथा ट्विटरलाई दुरुपयोग गरेजस्तै गर्ने सहजताका लागि सामाजिक सञ्जालमा चीनको राम्रो पकड हुुनु जरुरी छ । चीन सरकार विच्याट, वैवो र टेनसेन्टजस्ता कम्पनीका समितिमा स्थान पाउन र यी सामाजिक सञ्जालका प्रयोगकर्ताको व्यक्तिगत तथ्यांकमा पहुँच बनाउन प्रयत्नशील छ । चिनियाँ साइवर गुप्तचरले रसियाको सफलतालाई पनि अध्ययन गरिरहेका छन् । वास्तविकता के हो भने चिनियाँ ‘ह्याकर’ सँग प्राविधिक ज्ञानको कमी छैन ।

उनीहरूले अमेरिकाको राष्ट्रपतीय निर्वाचन अभियानमा साइबरको हस्तक्षेप गरे, तिब्बती आन्दोलन तथा उइघुर आन्दोलनका सहभागीविरुद्ध घुसपैठ गरे । चीनका जानकार पश्चिमा विचारक तथा विश्वविद्यालयलाई आफू अनुकूल बनाए । उनीहरूले चिनियाँ नेताको सम्पत्तिका विषयमा छापिएका आकर्षक पश्चिमा समाचार सामग्रीलाई ह्याक गर्न सफल भए । अझै चिनियाँहरूले रसियाली सुगठित सेनाबाट केही सिक्नुपर्ने हुनसक्छ ।त्यसैगरी पिपुल्स लिबरेसन आर्मी (पिएलए) का रणनीतिक विज्ञ आफ्नै साइबर युद्ध–नीतिका बारेमा क्रेमलिनको शिल्पकला सिक्न लागिपरेका छन् । चिनियाँ रणनीतिज्ञले ‘राजनीतिक कल्याण’ का लागि राजनीतिक, सामाजिक तथा आर्थिक संघसंस्थालाई र खासगरी सञ्चारमाध्यमलाई लक्षितगरी रणनीति बनाइरहेका छन् ।

यसका लागि रसियाली राज्यद्वारा लगानी गरेका आरटी र स्पुटनिकले दिनेजस्ता भ्रामक समाचार र षड्यन्त्रमूलक सिद्धान्त चीनका लागि शिक्षाप्रद हुनसक्छ ।यसबाहेक चीनको साइवर क्षमतालाई फैलाउन राष्ट्रपति सीले चीनको सफ्टवेयर क्षमतालाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा सञ्चारमाध्यमको पहलमा विकास गरिरहेका छन् । उनले ती कार्यक्रमलाई अझै सुरु गरेको त पाइँदैन तर यसका लागि आवश्यक तयारी गरेको प्रष्ट देख्न सकिन्छ । केही समय पहिले अस्ट्रेलियाको राजनीतिमा हस्तक्षेप गरेको भनी आएका समाचारलाई लिन सकिन्छ ।

गतवर्ष एक जना चिनियाँ अर्बपतिसँगको सम्बन्धका कारण अस्ट्रेलियाली एक विधायकलाई राजीनामा दिन बाध्य पारिएको थियो ।चीनले पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उसको उपस्थितिलाई विस्तार गरेको छ । केही आँकलनहरूले चीन सरकारले नयाँ सञ्चारमाध्यम तथा प्रसारण सामग्रीमा प्रत्येक वर्ष करिब सात अर्ब लगानी गर्ने गरेको बताइन्छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वा न्युज एजेन्सीले विश्वभर १ सय ७० जति शाखामार्फत् विभिन्न आठ भाषामा समाचार छाप्ने गरेको छ ।

चिनियाँ केन्द्रीय टेलिभिजन (सिसिटिभी) का ७० वटा विदेशी कार्यालय छन् जसले विभिन्न ६ भाषामा विश्वका १ सय ७१ देशमा समाचारको पहुँच पु¥याएको छ । चाइना रेडियो इन्टरनेसनल बिबिसीपछि विश्वको सबैभन्दा ठूलो रेडियो प्रसारण सेवा बनेको छ । यसले विश्वभर ९० रेडियो स्टेसनमार्फत विभिन्न ६४ भाषामा समाचार प्रसारण गर्छ । हुनत यी कुनै पनि सञ्चारमाध्यम अन्तर्राष्ट्रिय समाचारको प्रमुख स्रोतका रूपमा स्थापित बनिसकेका छैनन् तर मध्यपूर्व तथा अफ्रिका लगायतका क्षेत्रका मानिसलाई सूचना दिने महत्वपूर्ण स्रोतका रूपमा यी सञ्चारमाध्यमले चीनको विचार प्रस्तुत गर्ने गरेका छन् ।

जसका कारण चीनप्रति सहानुभूति राख्ने जनसंख्यामा विस्तार भएको छ ।चीनले अस्ट्रेलियाली, अमेरिकी तथा युरोपेली पत्रिकामा ‘स्वदेशी विज्ञापन’ दिने गर्छ । यसले चीनलाई साउथ चाइना सीजस्ता विवादास्पद विषयमा लेखकको आधिकारिक भनाइ राख्ने स्थान प्राप्त भएको छ । सीले सिनेमा तथा आममनोरञ्जनका सामग्रीमा लगानी गर्ने विषयमा सहमति दिएर चीनको रीतिरिवाजलाई विश्वभर चिनाउन अग्रसरता देखाएका छन् । अलिबाबा, टेन्सेन्ट, होनी क्यापिटल तथा सरकारी चिनियाँ इन्टरनेट तथा वित्तीय कम्पनीले अमेरिकी सिनेमा क्षेत्रमा १०औँ अर्ब अमेरिकी डलर लगानी गरेका छन् ।

यसरी चीनले विश्व अर्थबजारमा आफ्नो प्रवेशलाई सहज बनाउँदै आफ्नो सञ्जाललाई विश्वभर फिजाउन सफल भएको छ । यसले प्रष्ट प्रश्न उब्जाएको छ कि यदि रसियाले कुनै यस्ता निकट व्यावसायिक सम्बन्धविना नै अमेरिकी निर्वाचनलाई प्रभाव पार्न सक्छ भने आगामी केही वर्षमा चीनले के गर्न सक्ला ? चीनको चासो खाली व्यापार र नाफामा मात्र छ भन्ने सोच्नु हालै हलिउडका एकजना प्रबन्धकले भनेझैँ साह्रै खतरनाक र सिधापनबाहेक केही हुने छैन । (केन्ट ह्यारिङ्टन अमेरिकी गुप्तचर संस्था, सिआइएका पूर्व वरिष्ठ विश्लेषक हुन् । उनले पूर्वी एसियामा नेसनल इन्टिलिजेन्स अफिसर, एसियाको स्टेसन प्रमुख र सिआइएको सार्वजनिक सम्बन्ध विभागका निर्देशकका रूपमा सेवा गरेका थिए ।)

प्रतिक्रिया