-चमिना भट्टराई शान्ति सुरक्षा दिन बसेको प्रहरी कार्यालय ‘बलात्कार घटना मिलापत्र केन्द्र’ बन्दै गएको छ । यो पुस महिनामा धरान र माघ महिनामा काठमाडौंमा भएका बलात्कारका दुई घटनाले भन्न बाध्य पारेको हो । महिला हिंसाका दुई वटा घटनाले मान्छेको मन मात्र तरंगीत बनाएन । सञ्चारमा माध्यमासमेत ती समाचार निरन्तर छाइरहे । राज्यले पालेको र शान्तिसुरक्षाको जिम्मा लिएका राष्ट्रसेवक भनिने कर्मचारीले बलात्कारजस्तो जघन्य अपराधको घटनामा मिलापत्र गराउन थालेपछि समाजमा अपराधीको मनोबल किन बढ्दैन ?
यो प्रश्न पनि बलियोसँग उठेको छ । गएको १६ पुस राती इटहरी–२० की १४ वर्षीया किशोरीलाई इटहरी–२ हलगढामा रहेको रोयल रिसोर्ट होटलमा धरान घर भएका ‘ब्वाइफ्रेन्ड’ जोकम लिम्बू र विराटनगरमा उनका साथी मनिष श्रेष्ठले वाइन खुवाएर बलात्कार गरेको घटना बाहिर आयो । किशोरी बतात्कार गर्ने अपराधीलाई कानुनी कारबाही गर्नुको सट्टा इलाका प्रहरी कार्यालयमा मिलापत्र गरी सामसुम पारियो ।
प्रहरी कार्यालयहरू यस्ता जघन्य अपराधमा पीडित र पीडकलाई मिलापत्र गराउन थाल्छ भने किन चाहियो कानुन र अदालत ? प्रश्न उठ्छ कि उठ्दैन ? यो घटनाले प्रहरीको भूमिका के हो भन्नेसम्मको प्रश्न उठाएको छ । प्रहरीले अपराधको खोजबिन, अनुसन्धान गरी कारबाही गर्ने कि घटनालाई सामसुम पारेर मिलापत्र गराउने ? प्रश्न गम्भीर छ । यो घटनामा प्रहरीले बलात्कारीलाई उन्मुक्ती दिएको देखिन्छ । प्रहरी कार्यालयमा अस्मिता लुटिएको न्याय माग्न जाँदा मिलापत्रको कागजमा हस्ताक्षर गराउन प्रहरीले नै बाध्य बनाउँ छ भने न्याय खोज्न कहाँ जाने ? महिलाको अस्मिता लुटिएको घटनालाई रकमको लेनदेनमा खरिदबिक्री गर्नेलाई कस्तो कारबाही होला ?
प्रहरीले आरोपी भगाइएको आरोप लगाउँदै महिलाअधिकारवादीहरू सडकमा उत्रिएपछि प्रहरीले घटनाको छानबिन गर्न कोसी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली बनाएको छ । समितिले न्याय दिन्छ दिँदैन समयले देखाउँला । अपराधीले पाउने सजायको अघि किशोरी गुमाएको अस्मिताले क्षतिपूर्ति पाउन सक्दैन । उनले जीवनभर भोग्ने पीडाका अघिजस्तो सबै कारबाही सामान्य हुन्छ । घटनाको झन्डै महिना दिनपछि प्रहरीले १२ माघमा जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गरेको छ ।
घटनाका समयमा अञ्चल प्रहरी प्रमुख पाल र इप्रकाका प्रहरी नायब उपरीक्षक सञ्जय राउत बिदामा बसेको बताएका छन् । प्रहरी कार्यालयका जिम्मेवार व्यक्ति बिदामा बसेका र आफ्नै कार्यक्षेत्रमा जघन्य घटना भएको साता दिनपछि मात्र थाहा पाउने प्रहरीलाई कत्तिको जिम्मेवार मान्ने ? बिदामा बस्नु सामान्य कुरा हो । तर, प्रहरीको जागीर खानेले बिदामा बसेका भए पनि सूचनाबाट टाढा नहुन सक्छन् । यस्तो घटना भएको सार्वजनिक हुँदा पनि बिदामा थिए भनेर प्रहरीले जिम्मेवारी पूरा गरेको ठहर्दैन । घटना भएको थाहा पाएपछि क्षेत्रमा गएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने हो । तर, त्यसो गरेको देखिँदैन ।
उनीहरू आफ्नो बिदा पूरा नहुँदासम्म त्यो घटनासँग बेखबर रहेको अनुभूति हुन्छ । न्यायका लागि प्रहरीमा जाँदा प्रहरीले मुद्दाको साटो मिलापत्र गराउन दबाब दिएको घटनाका प्रकृतिले देखाउँछ । यस्ता मुद्दामा मिलापत्र गर्न प्रहरी अग्रसर हुनका पछाडि के कारण हुनसक्छ ? घटनाको केही दिनपछि मात्र अञ्चल प्रहरी कार्यालयको सहयोगमा मुद्दा अघि बढाइयो । त्यतिवेला सञ्चार माध्यमहरूमा समाचारलाई आधार मान्ने हो भने मुद्दा मिलाउन सबै पक्षलाई करिब ३० लाखको भागबन्डा गरिएको उल्लेख छ । तर, त्यो सबै मुद्दा मिलाउन सक्रिय हुनेहरूले हात पारेको र पीडितका आफन्तले केही नलिएको उनीहरूले बताएका छन् ।
सरकारले दिएको तलब खाएर घृणित कार्य गर्नेसँग मिलापत्रको नाममा रकममा बिक्ने प्रहरीको आश्यकता छ कि छैन ? जघन्य अपराधको घटनामा आरोपी र मिलापत्र गराउन भूमिका खेल्ने सबैलाई कानुनको दायरामा ल्याउन जरुरी छ । जघन्य अपराध अनुसन्धानमा प्रहरी आफैँ सक्रिय हुनुपर्नेमा एकाएक निष्क्रिय देखिनुको कारण खोजिनुपर्छ । दुवै घटनाको सुक्ष्म रूपमा अनुसन्धान र कारबाही हुनु आवश्यक छ । घटना धरानको मात्र होइन ७ माघमा राजधानीको दरबारमार्गमा रहेको ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कारमा परेकी युवतीको केसमा पनि हरेक दिन अनेक प्रकारका कुरा बाहिर आए ।
बलात्कारपछि प्रहरीमा पुगेकी युवतीलाई न्याय दिनका लागि भनेर अपराधी खोज्न गएको प्रहरीले अपराधी त फेला पा¥यो तर, पीडितले न्याय होइन प्रहरीले नगद पायो । पीडितलाई कारबाही गर्नुपर्ने प्रहरीले पीडकलाई धम्काएर मिल्न दबाब दिएपछि उनको वयान लर्बरिएकै हो । सार्वजनिक रूपमा पैसाको मोलतोल भएको कुरो आएपछि घटना बाइरोटको बाटोजस्तै बन्यो । अस्मिता लुटिएर हारगुहार माग्न प्रहरीकोमा पुगेकी महिलालाई प्रहरीले हतोत्साहित बनाएपछि कहाँ जाउन् पीडा सुनाउन ? उनको केस पनि सुरुमा त्यस्तै भयो । अझ घटना लुकाएर बिहे गर्नेसम्मका कुरा बाहिर आयो । आज साथी जम्मा गराएर बलात्कार गराउनेले भोलि बिहे गरेर लग्यो भने के गर्ला ?
प्रश्न यो पनि छ । सामूहिक बलात्कारमा परेकी युवतीलाई बुहारी बनाउन कार्की परिवार तयार किन भयो ? के पैसा हुनेले जे पनि गर्न पाइन्छ ? प्रश्न धेरै छन् र गम्भीर पनि । हाम्रो समाजमा बलात्कारको घटना हत्तपत्त बाहिर आउँदैन । पहिला त समाज आफैँ मिलाउन चाहन्छ । कयौँ परिवार समाजिक प्रतिष्ठा र छोरीको भविष्य बिग्रन्छ भन्दै आफैँ खुलाउन चाहदैनन् । तर, जब बलात्कारका घटना बाहिर वा प्रहरीसम्म पुग्ने आँट गर्छ त्यतिवेला न्याय दिन बसेका प्रहरीको ध्यान अनुसन्धान र कारबाहीमाभन्दा आर्थिक लेनदेनका आधारमा गुपचुप पार्न अग्रसर हुन्छ । दारबारमार्गको घटना पनि त्यस्तै भयो । सुरुमै प्रहरी घटनालाई मिलानमा केन्द्रित भएपछि उनको वयान फेरिएकै हो ।
पीडित युवतीको आमालाई सम्झाइबुझाइ गरेको र घटनाबारे समाचार छरपस्ट भएपछि युवतीले आफूलाई राती दुई युवाले पालैपालो बलात्कार गरेको आफूले थाहा पाएको र त्यसपछि आफूले होस गुमाएको बताएकी छन् । घटनापछि दरबारमार्ग वृत्तका इन्स्पेक्टर लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले घटनालाई पैसा दिएर गुपचुप रूपमा मिलाएको समाचार निरन्तर आइरह्यो । समाचार त्यतिकै बन्दैन त्यसमा केही आधार र तथ्य भएर नै समाचार बन्ने हो । घटना पछि ‘स्रोतका अनुसार भन्दै आएका समाचारमा युवतीलाई ३० लाख नगद दिने र २० लाख रुपैयाँ बराबरको बुटिक खोलिदिने समझदारी भएको थियो, ‘उक्त रकमको केही हिस्सा भने घटना मिलाइदिएबापत प्रहरीलाई दिने सहमति भएको समेत समाचारमा आए ।’
यो घटनापछि युवतीको बैंक खातामा रकम जम्मा भएको देखिनुले यसमा न्यायको ठाउँ पैसाले दिलएको प्रष्ट हुन्छ । कसैको पनि अस्मिता पैसामा लेनदेन हुँदैन । यो दुवै घटना पछिल्ला दिनमा छताछुल्ल भएर आएका मात्र हुन् । यस्ता घटना धेरै हुने गरेको छ । र यसमा प्रहरीको उच्चदेखि तल्लो तहका कर्मचारी वेलावेला जोडिने गर्छन् । तर, उनीहरूलाई गरिने कारबाही अपराधको तुलनामा सामान्य हुने गरेको छ । जब अपराधका घटना पैसा र घाकधम्की जस्ता कुराले मिलाउने प्रयास गरिन्छ त्यतिवेला पीडित निरीह बन्नुबाहेक केही हुँदैन । धरान र दरबारमार्गको घटना सञ्चार माध्यमा दिनहुँ आउने र सार्वजनिक रूपमा दबाब दिने काम नभएको भए साच्चै लेनलदेनमा गुपचुप हुनेदेखिन्छ ।
यस्ता घटनाले अपराधी मनोवृद्धि भएका मानिसलाई अपराधमा प्रेरित गराउँछ भने पीडिकहरूलाई प्रहरीसँगको विश्वास हराउँदै जान्छ ।पीडितले प्रहरी संरक्षक हो यहाँ गए न्याय पाइन्छ भन्ने कुराको अनुभूति गर्नसक्ने गरी प्रहरीले इमानदारीपूर्वक काम गर्नुपर्छ । प्रहरीको बर्दी लगाएर अपराधीसँग मोलतोल गर्ने र पीडकलाई न्यायको बदलामा निराशा दिने ठाउँको रूपमा विकास गर्ने प्रहरी जो कोहीलाई कारबाही गरिनुपर्छ । यसो गर्न सकियो भने प्रहरीप्रति गुमेको विश्वास पुनः जागृत हुनेछ । यो दुई घटनाले केही सन्देश पनि दिएको छ । केही वर्षदेखि घरभित्र छोरी, बहिनी, भान्जी र भतिजीजस्ता आफन्त आफ्नाबाट बलात्कृत भएका घटना सार्वजनिक भए । त्यसले आफन्तबाटै पनि महिला घरभित्र सुरक्षित छैनन् भन्ने देखायो ।
माथिका किशोरी र युवती बलात्कार हुनुमा पनि आफ्नै प्रेमीको हात हुनले विश्वासको संकट बढेको छ । अर्को कुरा महिलाले पनि यस्ता विषयमा कोसँग कहाँ कतिवेला भेट्ने वा सँगै बस्ने भन्ने कुरामा सचेत हुनु आवश्यक छ । हामी अाफैँ पनि यस्ता सवालमा सचेत हुन सकेनौँ भने न्याय पाउने न पाउने भोलिको कुरा होला । तर, अस्मिता आजै गुम्छ । अपराधीले सजाय पाउला नपाउला तर, गुमेको अस्मिता फर्केर कहिल्यै आउँदैन । त्यसैले पहिलो कुरा आफू र आफन्तलाई सुरक्षित राखौँ, दोस्रो कुरा समाजका यस्ता अधराधी र अपराधलाई लुकाएर वा बचाएर उनीहरूको मनोबल बढाउन मद्दत गर्नेलाई बढीभन्दा बढी कारबाहीको दायरमा ल्याउ । अनि मात्र समाजमा यस्ता घृणित कार्य रोकिएला । [email protected]
प्रतिक्रिया